+
+

म्युजिक भिडियो निर्माण घट्यो, कारण युट्युब भ्युजको खडेरी कि ‘अफ सिजन’ ?

सुशील नेपाल सुशील नेपाल
२०७८ माघ ९ गते १३:०७

९ माघ, काठमाडौं । कोरोना महामारी शुरु भएयता चलचित्र क्षेत्र सुनसान भएपनि म्युजिक भिडियो निर्माण ह्वात्तै बढ्यो । दैनिक सरदरमा १० देखि १५ वटा म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए ।

पछिल्लो समय भने म्युजिक भिडियो निर्माण र सार्वजनिकमा कमी आएको छ । निर्देशकहरुका अनुसार अहिले म्युजिक भिडियो निर्माण र सार्वजनिक हुने क्रम घटेको छ । कतिपय निर्देशकहरु पछिल्लो समय म्युजिक भिडियो निर्माण आधा नै घटेको बताउँछन् ।

हिजोआज दैनिक पाँचवटा म्युजिक भिडियो पनि देख्न गाह्रो हुने अवस्था रहेको निर्देशक विधान कार्कीले बताए । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष समेत रहेका कार्कीले भने, ‘अहिले भिडियो निर्माण पहिलेको तुलनामा आधा नै कम छ । लगानीका लागि लगानीकर्ताहरु हिच्किच्याइरहेको अवस्था छ ।’ आगामी दिनमा अहिलेको तुलनामा म्युजिक भिडियो निर्माण अझ घट्न सक्ने उनी आँकलन गर्छन् ।

सीमित गीतका भिडियोले राम्रो भ्युज पाएपनि अधिकांशलाई भ्युजको खडेरी देखिन्छ । आशा गरिएका गीतका भिडियोहरुको भ्युज पनि युट्युबमा ज्यादै न्यून पाइन्छ । पछिल्लो डेढ दुई महिनायतादेखि युट्युबमा भिडियोले अपेक्षित भ्युज पाउन छाडेका हुन् ।

निर्देशक शान थापा पनि पछिल्लो समय पहिले जति म्युजिक भिडियो सार्वजनिक नभएको आफूले पाएको बताउँछन् । ‘म आफू त व्यस्त नै छु । तर सबैले पछिल्लो समय भिडियो निर्माण घटेको भन्छन् । म पनि पहिलेजति संख्यामा भिडियो आएको देख्दिन,’ थापाले अनलाइनखबरसँग भने ।

अर्का निर्देशक काजिश श्रेष्ठले पनि पछिल्लो केही समययता म्युजिक भिडियो निर्माण र सार्वजनिक हुन कमी आएको बताए । निर्देशकहरुका अनुसार विगत एक–डेढ महिनायता भिडियो निर्माणमा कमी आउन थालेको हो ।

घट्दो भ्युज, अफ सिजन र बढ्दो कोरोना संक्रमण

पछिल्लो समय युट्युबको भ्युज घट्दो छ । सीमित गीतका भिडियोले राम्रो भ्युज पाएपनि अधिकांशलाई भ्युजको खडेरी देखिन्छ । आशा गरिएका गीतका भिडियोहरुको भ्युज पनि युट्युबमा ज्यादै न्यून पाइन्छ । पछिल्लो डेढ दुई महिनायतादेखि युट्युबमा भिडियोले अपेक्षित भ्युज पाउन छाडेका हुन् ।

अधिकांश म्युजिक भिडियो ‘बुस्ट’ गरिएका पनि हुन्छन्, तर पनि अपेक्षित भ्युज नपाउँदा लगानीकर्ताहरु निराश छन् । धेरैले युट्युबमा भिडियोले राम्रो भ्युज पाउन छाडनुको कारण टिकटकको प्रभाव प्रमुख कारण मान्छन् । कतिपय निर्देशक र लगानीकर्ता स्तरीय गीत र भिडियो सार्वजनिक नहुँदा भ्युज अपेक्षित नपाएको बताउँछन् ।

‘युट्युबमा राम्रो भ्युज नजानाले नै लगानीकर्ताहरु लगानीका लागि हिच्किच्याउनुभएको छ । भिडियो निर्माणमा कमी आउनुको मुख्य कारण यही हो,’ निर्देशक विधान कार्कीले भने, ‘पछिल्लो समय भने कोरोनाको प्रभाव पनि देखिएको छ ।’

निर्देशक शान थापा पनि भिडियोहरुले अपेक्षित भ्युज पाउन छाडेसँगै निर्माण र सार्वजनिकको अनुपात घटेको बताउँछन् । कतिपय तयार भएका म्युजिक भिडियोहरु सार्वजनिक गर्न पनि लगानीकर्ताहरु डराएको उनले बताए । ‘मेरै तयार भएका १५/१६ वटा भिडियोहरु छन् । ती भिडियो सार्वजनिक गर्न लगानीकर्ताहरु डराइरहेको अवस्था छ,’ उनले भने, ‘भ्युज नगएको देखेर उनीहरुले आफ्नो भिडियो अहिले बजारमा ल्याउन चाहिरहेका छैनन् । सही समय आएपछि सार्वजनिक गर्ने भनेर बसिरहेका छन् ।’ उनी पछिल्लो समय कोरोनाको प्रभावले पनि भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम घटेको हुनसक्ने बताउँछन् ।

निर्देशक काजिश श्रेष्ठ भने पुस र माघ महिना म्युजिक भिडियो निर्माणका लागि अफ सिजन मानिने बताउँछन् । उनले अफ सिजन भएकाले पनि भिडियो निर्माणमा कमी आएको बताए । ‘पहिलो त अहिले भिडियो निर्माणका लागि अफ सिजन मानिन्छ । यस वर्ष मात्र होइन, जाडो सिजनमा भिडियो निर्माणमा २०/२५ प्रतिशतले सधैं कमी आउँछ,’ श्रेष्ठले भने, ‘भ्युज कम जानुको पनि केही असर देखिएको हो । त्यसमाथि कोरोनाको पनि केही प्रभाव देखिएको छ ।’

म्युजिक भिडियोका व्यस्त छायांकार अर्जुन तिवारी पनि भिडियो निर्माणका लागि अहिलेको समय अफ सिजन भएको बताउँछन् । अहिले भिडियो निर्माण र सार्वजनिक कम देखिनुमा अफ सिजन नै मुख्य कारण रहेको उनको दाबी छ । तिवारीले अनलाइनखबरसँग भने, ‘मुख्य कारण अफ सिजन नै हो । भ्युज कमका कारण लगानी रिटर्न नहुनाले लगानीकर्ता हिच्किच्याउनु र कोभिडले पनि केही मात्रामा असर गरेको हो ।’

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?