+
+

कोभिड महाव्याधि : बहसमा छुटेको र सरकार चुकेको महत्त्वपूर्ण सवाल

सबै नागरिकको समस्या एउटै विधिबाट हल हुँदैन । समस्या अनुसार समाधान दिन सक्नुपर्छ । अत्यधिक संकटमा फसेको न्यून वर्गका मानिस उच्च प्राथमिकतामा पर्नुपर्छ । कोभिडले उनीहरूको जीवनमा दीर्घकालीन समस्या पैदा गरिरहेको छ । यो वर्ग लामो समय यसबाट प्रभावित भइरहनेछ ।

डा. शरद वन्त डा. शरद वन्त
२०७८ माघ ९ गते १५:३८

स्वास्थ्य क्षेत्रमा देखिएको अहिलेको अवस्था हाम्रो स्वास्थ्य प्रणालीको समग्र तस्वीर हो । हाम्रो स्वास्थ्य नीतिमा नै केही कमजोरी छन् । यसले विशेषतः समानता र सामाजिक न्यायको मूल मर्मलाई अझै पक्रन सकेको छैन ।

कोही पनि नागरिक गरीब भएकाले, दुर्गम भेगको भएकाले अथवा अरू कुनै कारणले स्वास्थ्य सेवामा पहुँच नपाएर अकालमा मृत्युवरण गर्नु नपरोस्, कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने समानता र सामाजिक न्यायको मर्म हो । हाम्रो प्रणालीले गरीब र किनारामा परेका नागरिक समूहका लागि आवश्यक सुरक्षा दिनसकेको छैन । कोरोना महाव्याधिमा देखिएका समस्या यसैको अभिव्यक्ति हो ।

कहाँ चुक्यो सरकार ?

प्राविधिक रूपले महाव्याधि एउटै हो तर यसको प्रभाव फरक–फरक छन् । बेग्लाबेग्लै तप्काका नागरिकले फरक पीडा भोग्नुपरेको छ । सबैभन्दा तल्लो तहका नागरिकले बढी पीडा भोग्नु परेको छ । हाम्रो नीतिमा यी महत्वपूर्ण कुरा कहीं न कहीं छुटेका छन् ।

कोभिड महाव्याधिको बारेमा हामीले धेरै बहस प्राविधिक विषयमा गरिरहेका छौं । यसको सामाजिक पाटो छायाँमा परिरहेको छ ।

सरकारको ठूलो कमजोरी महाव्याधिमा नागरिकलाई परेको अन्य प्रभावको पहिचान र व्यवस्थापनमा देखिएको छ । धेरै नागरिक संक्रमित भएको वा नभएको पहिचान भएन । कतिको व्यवसाय ध्वस्त भयो । कतिका आम्दानीका स्रोतहरू सुके । कति नागरिकलाई उपचारको कारणले धेरै आर्थिक बोझ परेको छ ।

यी सबै सवालमा नागरिकको पीडा कम गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेन । ल्याएका कार्यक्रम पनि कार्यान्वयन गर्न सकेन । कतिपय भोका नागरिकले सरकारका तर्फबाट एक छाक खाना पनि पाएनन् ।

वैश्विक सन्दर्भ हेर्दा, कतिपय देशले खाना बाँडेका, कतिले व्यवसायमा थेगभर स्वरुप क्षतिपूर्तिको व्यवस्था गरेका देखिन्छन् । कतिपय देशले गरिब नागरिकलाई भत्ता बाँडेका छन् । संसारमा नागरिकलाई बचाउन सरकारले गर्न सक्ने काम गरेका उदाहरण प्रशस्त छन् । यी विषयहरूमा हाम्रो सरकार नराम्ररी चुक्यो र नागरिकमा बहुआयामिक प्रभाव पर्‍यो ।

कोभिड–१९ को अर्को प्रभाव मानसिक समस्या पनि हो । हामीलाई मानसिक बोझ बढाउने धेरै कारण छन् । रोजगारी गुमेकाहरूलाई आर्थिक सँगै मानसिक बोझ पनि बढेको छ । लाखौं नेपाली विदेशमा रोजगारी गुमेर फर्केका  छन् । यो आर्थिक मात्र नभएर मानसिक मुद्दा पनि हो । उनीहरू कति प्रताडित भएका होलान्, यी कुरा उनीहरूको मानसिक स्वास्थ्यमा अभिव्यक्त हुन्छ ।

बहसमा छुटेका महत्वपूर्ण मुद्दा

जैविक र प्राविधिक रूपमा हेर्दा कोभिड एउटै विषय हो । यसको प्रभाव भने सबैमा एउटै छैन । नागरिकको विभिन्न समूहमा यसको बेग्लाबेग्लै प्रभाव पर्छ । यसलाई ध्यान दिन एकदमै जरूरी छ । यसरी प्रभावित नागरिकलाई चार खेमामा बाँड्न सकिन्छ–

पहिलो, न्यून आय भएका नागरिकमा यसको संकटपूर्ण प्रभाव अर्थात् ‘क्याटेस्ट्रोफिक कन्सिक्वेन्स’ देखिन्छ । उनीहरू दुर्घटनाग्रस्त वा संकटपूर्ण अवस्थामा छन् । संसारका झण्डै २० करोड जनसंख्या कोभिडकै कारण गरीबीको रेखामुनि धकेलिएका छन् । नेपालमा यसबारे अध्ययन गर्न सकिएको छैन, तर यो तप्कामा सबभन्दा खराब प्रभाव परेको यसै अनुमान गर्न सकिन्छ ।

दोस्रो तप्कामा न्यून मध्यम वर्गका मानिस छन्, जसलाई पीडा त छ तर सहन सक्ने (कोपिङ एबिलिटी) अवस्था छ । अवस्था थप बिग्रियो भने यो तप्का पनि नाजुक हुन्छ ।

तेस्रो थरी नागरिक तप्कालाई कोभिडले खासै असर गरेको छैन । सानातिना उचारचढाव अवश्य छन्, तर त्यसले जीवनलाई अधिक प्रभाव पारेको छैन । यो समूहको आम्दानी खासै घटेको छैन र केही बचत पनि छ । यो उच्च मध्यम वर्ग हो । चौथो समूहले भने यो महाव्याधिबाट लाभ उठाइरहेको छ । यहीबीच अर्बपति, खर्बपति हुनेहरू पनि छन् ।

त्यसैले, सबै नागरिकको समस्या एउटै विधिबाट हल हुँदैन । समस्या अनुसार समाधान दिन सक्नुपर्छ । अत्यधिक संकटमा फसेको न्यून वर्गका मानिस उच्च प्राथमिकतामा पर्नुपर्छ । कोभिडले उनीहरूको जीवनमा दीर्घकालीन समस्या पैदा गरिरहेको छ । यो वर्ग लामो समय यसबाट प्रभावित भइरहने छन् ।

स्वास्थ्य नीतिको अन्तरकुन्तर

हाम्रो स्वास्थ्य नीतिमा धेरै सकारात्मक पक्ष पनि छन् । विभिन्न संरचनाको कुरा गरिएको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने परिकल्पना छ । राज्यले गरेको धेरै प्रतिबद्धता नीतिमा अभिव्यक्त भएका पनि छन् । नीतिमा भएका केही कमजोरीलाई सुधार्नुपर्ने ठाउँ बाँकी छ । तर, नीति मार्फत नागरिकसामु जाहेर गरिएको प्रतिबद्धता कार्यान्वयन हुन नसक्नु मूल चुनौती रहेको छ ।

नीतिमा क्रमशः सुधार पनि हुँदै आएको छ, तर हाम्रो लागि चिन्ताको विषय भनेको सरकारी प्रतिबद्धता कार्यान्वयनको पक्ष हो, जुन अत्यधिक कमजोर देखिएको छ । मुख्य कुरा हामी भित्रैदेखि प्रतिबद्ध छौं कि केवल लोकरिझ्याइँका लागि कागजमा लेखेको मात्रै ?

दोस्रो, हाम्रो व्यवस्थापकीय अक्षमता र कमजोरी छन् भने तेस्रोमा लापरबाही, गैरजिम्मेवारपन र संयोजनकारी भूमिकाको अभाव छ । हामीले विभिन्न निकायबीच राम्रो समन्वय गर्न सकेका छैनौं । यी कारणले गर्दा नीतिमा भएका राम्रा पक्षहरूको पनि कार्यान्वयन हुनसकेका छैनन् ।

कोभिड महाव्याधिको सन्दर्भमा पनि सरकारले निःशुल्क उपचार नीति लिएको छ, तर कार्यान्वयन भइरहेको छैन । नीति जे–जस्तो भए पनि व्यवहारमा हामीले अस्पताल चहार्दाचहार्दै बिरामीको मृत्यु भएको देख्यौं । क्वारेन्टाइनमा मृत्यु भएको र कतिपयले आत्महत्या गरेको पनि खबर सुन्यौं । हामीसँग क्वारेन्टाइन कसरी व्यवस्थित गर्ने भन्ने लामो नीतिगत फेहरिस्त छ । तर नीति निर्देशिका कार्यान्वयन नहुँदा यस्ता घटना भएका हुन् ।

 सिक्न नसकेको पाठ

हामी संक्रमण विस्तार नियन्त्रण, संक्रमितको व्यवस्थापन र यसका अन्य प्रभाव व्यवस्थापन गर्ने तीनै पक्षमा पटक–पटक कमजोर सावित भयौं । संक्रमण नियन्त्रणमा त कमजोर भयौं नै संक्रमित आइसोलेसनदेखि अस्पताल व्यवस्थापनसम्म पनि नराम्ररी चुक्यौं ।

मैले दोस्रो लहरमा पनि उपचारको लागि बेड नपाएर बिरामी मर्नु भनेको राज्यले गरेको अपराध हो भनेको थिएँ । हामीले यति धेरै पाठ सिकिसक्यौं, यी पीडापूर्ण सिकाइमा लापरबाही गर्दा पुरानै पीडाहरू दोहोरिए भने त्यसलाई कसरी व्याख्या गर्ने ? यो त जिम्मेवार निकायहरूको अपराध नै हुन्छ ।

आफ्नो क्षमताभन्दा ठूलो समस्या आएको, अनुमानै नगरेको समस्या भए अवस्था अर्कै हुन्थ्यो । तयारी गर्ने अवसर नपाएर थेग्न नसक्नु फरक कुरा हो । तर, अहिलेको स्थिति त्यस्तो होइन ।

हामीले तयारी गर्ने पर्याप्त अवसर पाएका हौं, प्रक्षेपण गरेका धेरै कुरा मिलेका छन् । केही गर्नै नसक्ने अवस्था पनि होइन । स्रोतसाधन छन् । त्यसलाई ठीक ढंगले परिचालन गर्ने चुनौती हो । यी सबै अवसर हुँदाहुँदै नागरिकले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु त अपराध नै हो ।

ध्यान दिनुपर्ने केही सवाल

चरण भनेको महाव्याधिको एउटा प्रक्रिया मात्रै हो । हामीले पहिलो, दोस्रो, तेस्रो भनिरहँदा विश्वका कतिपय देश पाँचौं चरणबाट गुज्रिइरहेका छन् । यो निरन्तर हुन्छ ।

हिजोको तुलनामा आज खोप उपलब्ध छ । पहिलो र दोस्रो चरणमा हामीसँग खोप थिएन, अहिले छ । विज्ञानको यो उपलब्धि हाम्रो लागि ठूलो सहारा बनेको छ । यद्यपि, खोपले मात्र संक्रमण रोक्न सकिंदैन भनेर वैज्ञानिकहरू बताइरहेका छन् ।

यो महाव्याधिबाट विश्वका सबै देश प्रभावित छन् । संसारका सबै सरकारले खेल्नुपर्ने भूमिका उही र उस्तै हुन् । विश्वभर नागरिक चलायमानताको कारण संक्रमण आयात हुनसक्ने ठाउँसम्म व्यवस्थापन गर्नुपर्छ । त्यसैले पहिलो काम सीमा व्यवस्थापन हो । यो असाध्यै महत्वपूर्ण छ ।

भारतसँग नेपालको तीनतिर खुला सिमाना छ । त्यताबाट संक्रमण आयात हुनसक्ने सम्भावना उच्च छ । संक्रमित नेपाली वा भारतीय जो भए पनि रोग त रोगै हो । त्यसो त, भारतीय नागरिकभन्दा नेपालीबाटै यो फैलने सम्भावना बढी छ । किनभने, व्याधिकालमा पारिबाट आउनेहरू नेपाली नै हुन्छन् । सीमा व्यवस्थापनको यो कुरा हामीले दोस्रो चरणबाटै सिक्नुपर्ने थियो ।

सीमा व्यवस्थापन भनेको बन्दाबन्दी होइन, सीमालाई सुरक्षित रूपमा चलायमान बनाउने हो । यो विल्कुल सम्भव छ । तर, यति काम गर्न नसक्दाको परिणाम हामीले दोस्रो चरणमा पनि भोग्यौं । तेस्रो चरणमा पनि भोग्दैछौं ।

अहिले नेपालभित्रै संक्रमणका स्रोतहरू असाध्यै चलायमान बनेका छन् । त्यसैले आफ्नै समुदायमा रहेको स्रोत नियन्त्रण अत्यावश्यक भएको छ । जनस्वास्थ्यको विधि अपनाउँदै सम्भावित स्रोतहरूलाई चाँडो पहिचान गरेर थप संक्रमण हुन नदिन स्रोतहरूको व्यवस्थापन गर्नुपर्छ । उनीहरूलाई अस्पताल नै भर्ना गर्नुपर्छ भन्ने छैन, घरमै पनि व्यवस्थापन हुनसक्छ ।

घरमा कोभिड संक्रमणको सुरक्षित व्यवस्थापन सम्भव नभए संस्थागत आइसोलेसनमा लैजानुपर्छ । यी कुराहरू हिजो जस्तै आज पनि उत्तिकै आवश्यक छन् ।

अस्पतालमै भर्ना गर्नुपर्ने संक्रमितहरूका लागि अर्को तयारी गर्नुपर्ने हुन्छ । उनीहरूको लागि सरकारले सेवा सर्वसुलभ बनाइदिनुपर्छ । कोही संक्रमित राज्यको सेवाबाट वञ्चित हुनुहुँदैन । सेवाबाट बञ्चित हुनुपरेकै कारण उनीहरूले अधिक पीडा भोग्नु नपरोस् । यो सबै व्यवस्थापन राज्य संरचनाले गर्नुपर्छ ।

राज्य संरचनाको कुरा गर्दा हामी अलि संकुचित भएर स्वास्थ्य निकायलाई मात्र सम्झन्छौं । स्वास्थ्य निकाय महत्वपूर्ण र केन्द्रीय निकाय हो, यसमा कुनै शंका छैन । यसले नेतृत्वदायी र संयोजनकारी भूमिका खेल्नुपर्छ । राज्यका अरू निकायको पनि उत्तिकै दायित्व हुन्छ । राज्यको एउटा महत्वपूर्ण अंग भएकोले नागरिक पनि यसमा जिम्मेवार हुनुपर्छ ।

सरकारका निकायहरू आ–आफ्नो ढंगबाट काम गरिरहेको दाबी गर्छन्, समन्वय भने हुन नसकेको समाचार आइरहेको हुन्छ । संघीय सरकार र प्रदेश सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचमा राम्रो संयोजन हुन नसकेको कुरा आइरहेको छ । यो सब लथालिंग हाम्रो सिंगो राज्य प्रणालीको अभिव्यक्ति बनिरहेको छ ।

बहसमा ‘हर्ड इम्युनिटी’

कतिपयले ‘हर्ड इम्युनिटी’को कुरा गर्छन् । यसबारे वैज्ञानिक अध्ययन भइरहेका छन्, सबै ढंगबाट स्वीकार्य तथ्य भने स्थापित भइसकेको छैन ।

समुदायमा बहुसंख्याले ‘इम्युनिटी’ प्राप्त गरेका छन्, इम्युनिटी प्राप्त नगरेकाहरू पनि सुरक्षित छन् भन्ने अवधारणा हो ‘हर्ड इम्युनिटी’ । बहुसंख्यक भन्नाले कति प्रतिशत ? भन्ने कुरा विभिन्न रोगमा पनि भर पर्छ । अरू संक्रामक रोगमा जस्तै कोभिडको सन्दर्भमा पनि हर्ड इम्युनिटीको अवधारणा सैद्धान्तिक रूपमा लागू हुन्छ ।

कति प्रतिशतले इम्युनिटी बनाइसकेपछि बाँकी नागरिक सुरक्षित हुन्छन् ? हर्ड इम्युनिटीको आयु कति लामो हुन्छ ? कोभिडको सन्दर्भमा एकपटक संक्रमित भएर निको भएपछि र खोप लिएको नागरिक कति समयसम्म सुरक्षित हुन्छ ? अझै निक्र्योल भइसकेको छैन ।

हर्ड इम्युनिटी सिद्धान्ततः सही कुरा हो । अरू संक्रामक रोगमा यसको सन्दर्भ लागू हुन्छ भने कोभिडमा पनि लागू हुन्छ । यति भएपछि हर्ड इम्युनिटी प्राप्त हुन्छ, यसैले हामी सबै सुरक्षित हुन्छौं भनेर दावी गर्न सकिने तथ्य भने अझै स्थापित भइसकेको छैन ।

अब हर्ड इम्युनमा जानुपर्ने मतमा म सहमत छैन । कुनै पनि समस्या सम्बोधन गर्ने आम रूपमा तीन उपाय हुन्छ, पहिलो–आत्मसमर्पण । समस्या आयो, अब केही गर्न सकिंदैन । यत्तिकै छोडिदिने र सबै नतिजा भोग्न तयार भएर बस्ने ।

दोस्रो–समस्याको अस्तित्वलाई अस्वीकार गर्ने । कतिपयले कोभिडलाई पनि यो केही होइन भनेर अस्वीकार गर्ने प्रयत्न गरेको देखियो । नागरिकको एउटा तप्काले यो मान्यता पछ्याउँछ । उनीहरूले यसलाई षड्यन्त्रको सिद्धान्तसँग जोडेर पनि हेर्छन् । यो समस्या सबैतिर छ । कतिपय मानिस खोप, लकडाउन र कुनै पनि निषेध विरुद्ध लागिरहेका छन् ।

तेस्रो– समस्यालाई चुनौतीको रुपमा स्वीकारेर मुकाबिलाको हर प्रयास गर्नु । एक जनस्वास्थ्यकर्मीको नाताले म तेस्रो दृष्टिकोणमा जानुपर्छ भन्ने मान्यता राख्छु । किनभने, कोभिड मात्र होइन, अरु भाइरस पनि रूपान्तरण हुन्छन् । जस्तो, टिबीको ब्याक्टेरिया पनि हुन्छ, कसैलाई औषधिले छुँदैछुँदैन । यो भनेको ब्याक्टेरिया म्युटेड भएर औषधि पचाइसकेको अवस्था हो । त्यस्तो ब्याक्टेरिया संक्रमित भएकालाई पनि औषधिले छुँदैन ।

टाइफाइडमा पनि यस्तै हुन्छ । यस्ता धेरै उदाहरण छन् । अझ ब्याक्टेरियाभन्दा भाइरस बढी रूपान्तरित हुन्छ । योक्रममा भाइरस कहिले दुर्बल र कहिलेकाहीं शक्तिशाली भइदिन्छ । हामीले डेल्टा र ओमिक्रोन सम्झिएको यिनीहरू तुलनात्मक रूपमा बढी शक्तिशाली भएर हो । रूपान्तरणको क्रममा दुर्बल भाइरसका कैयौं स्वरूपबारे हामी चर्चा नै गर्दैनौं । किनकि, तिनीहरू दुर्बल भएकाले जनसरोकारको विषय रहँदैनन् ।

त्यसैले, समस्यासँग लड्नुपर्छ र लड्न सकिन्छ भन्ने मान्यता बोक्नुपर्छ । भाइरसले आफूलाई रूपान्तरण गरिरहन्छ, नयाँ नयाँ स्वरूपमा आइरहन्छ, लड्न सकिंदैन भनेर आत्मसमर्पण गर्ने मानसिकता राख्नुहुँदैन ।

(डा. वन्तसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?