+
+

रिब्रान्डिङ र नेतृत्व परिवर्तनपछि दराज : घरेलु विक्रेतालाई बजारमा जोड्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:५३
बायाँबाट क्रमशः लिनो एहलेरिङ र आँचल कुँवर

९ माघ, काठमाडौं । एसियाको अग्रणी अनलाइन बजार दराजले हालै आफ्नो रिब्राण्डिङसँगै नयाँ लोगो ल्याएको छ । यसैबीच, सञ्चालनमा आएको सात वर्षपछि दराज नेपालको नेतृत्वमा समेत परिवर्तन भएको छ । नेपालका लागि कम्पनीका प्रबन्ध निर्देशक लिनो एहलेरिङको स्थानमा आँचल कुँवर आएकी छन् ।

यसै अवसरमा अनलाइनखबरले दुबै जनासँग कम्पनी र नयाँ फेरबदलबारे कुराकानी गरेको थियो । लिनो र कुँवरसँग गरिएको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

दराज नेपालमा काम गर्दाको अनुभव कस्तो रह्यो ? र तपाइँले ईकमर्श बजारमा भइरहको परिवर्तनलाई कसरी हेर्नु भएको छ ?

लिनो: मैले साढे ३ वर्षसम्म कम्पनीमा काम गरिसकेको छु । अलिबाबाले दराज समूहलाई किनेलगत्तै काम गर्न थालेको हुँ । नेपालमा त्यतिबेला आधारभूत संरचना खडा एवं विश्वास निर्माण गरिरहेको दराज र ई-कमर्श निकै प्रारम्भिक चरणमा थियो । बिक्रेतालाई समेत निकै कम कुरा थाहा थियो । यही भएर दराज नेपालले गुणस्तर र व्यावसायिकता (प्रोफेशनालिजम) को महत्व र कुशलतापूर्वक एवं द्रूत गतिमा कसरी काम गर्ने भनेर बुझाउन निकै मेहेनत गर्नुपर्‍यो ।

यसबीचमा दराज नेपालको व्यापक विस्तार एवं प्रगति भएको छ । खासगरी महामारीका बेला धेरै विस्तार भएको हो । हामीले हजारौं नयाँ ग्राहक (युजर्स) सहित कम्पनीले सुरुमै ठूलो प्रगति (भर्टिकल ग्रोथ) गरेको देख्यौं । हाल हामीसँग  १३ लाख प्रोडक्ट्ससहित १५ हजारभन्दा धेरै बिक्रेता (सेलर) छन् र हरेक महिना १५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेका छौं । यसै क्रममा हामीले केही प्रतिस्पर्धी समेत देख्यौं तर उनीहरू लामो समय टिक्न सकेनन् । दराजलाई धेरैले चिनिसकेका छन् र यसको ग्राहक आधारशीला (कस्टोमर बेस) र समग्र परिवेश (इकोसिस्टम) निकै बलियो छ ।

हाल दराज नेपालको कार्यकारी नेतृत्व परिवर्तन भएको छ । तपाईँ दुबै जनाले संक्रमणकालीन अवधिलाई कसरी लिनु भएको छ ?

लिनो: मैले आफ्नो सबै जिम्मेवारी आँचल जीलाई सुम्पिरहेको छु र यसले गर्दा संक्रमणकालीन अवधि सहज तरिकाले अघि बढिरहेको छ । उहाँले राम्रोसँग चलाउनु हुनेछ भन्ने मेरो विश्वास छ । मैले उहाँसँग २ हप्ता काम गरिसकेको छु । उहाँ निकै उपयुक्त व्यक्ति हो र आगामी दिनमा सहज रुपमा अघि बढ्नु हुनेछ भन्नेमा कुनै शंका छैन ।

नेपालमा प्रबन्ध निर्देशक बनेर आएपछि मलाई भव्य स्वागत गरियो । तर ग्राहक, बिक्रेता र कर्मचारी सबै नेपाली तर आफू विदेशी भएका कारण सबैसँग जोडिन नसकेको अनुभव पनि भयो । तर आँचल आएपछि सम्बन्ध पुन: स्थापित हुने छ र दराज नेपाल एवं समग्र परिवेश थप बलियो हुनेछ भन्ने मैल विश्वास गरेको छु ।

मैले दराज छोडेको होइन । राष्ट्रिय भूमिकाको स्थानमा क्षेत्रीय भूमिका निभाउन गइरहेको छु । त्यसैले, आँचल जीसँग थप सहकार्य गर्दै उहाँको नेतृत्वमा कम्पनीले  गर्ने प्रगति पाउने कुराले म निकै खुशी समेत भएको छ ।

आँचल: मलाई पनि संक्रमणकालीन अवधि निकै सहज लागिरहेको छ । यो जिम्मेवारी पाउनु मेरो लागि निकै राम्रो कुरा पनि हो । लिनो निकै व्यवस्थित तरिकाले र विस्तृतमा सोच्ने  व्यक्ति हुनुहुन्छ । आफूले यो कामको बारेमा निकै सोच्नुपर्ने देखेकी छु । लिनोले दराज समूह छोड्नु भएको छैन भनेर थाहा पाउँदा अनि चाहिएका बेला एक कलमै सहयोग हुने कुराबाट निकै सहज लागिरहेको छ ।

दराज नेपालको टिम समेत निकै सक्षम छ । यो टिमले आफैं कुशलतापूर्वक काम गर्न सक्छ भनेर देखिसकेकी छु र यस्तो टिम पाउँदा खुशी लागेको छ ।

किन दराज नेपालमै काम गर्ने निर्णय गर्नु भयो ?

आँचल: म १८ वर्षभन्दा बढी समय अमेरिमामा थिएँ । मसँग यसअघि अमेजनमा साढे ५ वर्ष काम गरेको अनुभव छ । स्विडेन, पोल्याण्ड, साउदी अरब र इजिप्टमा अमेजनको बजार स्थापना एवम् विस्तारका लागि काम गरिसकेकी छु । मलाई आफूसँगै काम गर्ने अमेजनको टिममा रहेर काम गर्दागर्दै दराज नेपालमा अवसर आएपछि  सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो ।

दराज र यहाँको समाजमा यसको प्रभावबारे पहिलादेखि नै सुनेकी थिएँ । यही भएर यो निर्णय गर्न सजिलो भयो । यति चाँडो नेपाल आउने मेरो कुनै योजना थिएनँ, तर यहाँ आइसकेकी छु ।

कार्यकारी नेतृत्वसँगै दराजले आफूलाई रिब्राण्डिङ पनि गरेको छ । ब्राण्ड परिवर्तन गर्नुपर्ने आवश्यकता किन देखियो ?

लिनो: कम्पनीले आगामी कदमबारे सँधै सोचिरहन्छ । हामीले ११.११  र १२.१२ सेल्ससहितका कुरा गरिसक्यौं । हामीले अघिल्लो वर्ष कम्पनीको दीर्घकालीन सोंच तथा अवधारणासँग मेल खाने गरी दराजमा भएको परिवर्तन हेरेर कम्पनीको रिब्राण्ड गर्दै यसलाई थप मानिससँग जोड्नु पर्ने आवश्यकता महसुस गर्‍यौं ।

हामीले रिब्राण्डिङ गर्नु पर्नाको एउटा कारण यो परिपक्क भइसकेको छ र यसले सुरुवाती व्यवसायबाट कम्पनीको रुप लिइसकेको छ भनेर सन्देश दिनु पनि हो । नयाँ लोगोले प्रगति, नवप्रवर्तन, अन्वेषण र खोजको प्रतिनिधित्व गर्छ ।

‘प्ले बटन’ प्रगति र मनोरञ्जनको प्रतिक समेत हो । यसबाहेक, लाइभ स्ट्रिम तथा नयाँ अनुभवलाई रिब्राण्डिङको महत्वपूर्ण अंग बनाइएको छ । अबदेखि हाम्रो ब्राण्ड थप अन्तर्क्रियात्मक हुनेछ । हामी आफ्ना बिक्रेता र ग्राहकसँग थप जोडिन चाहन्छौं । हामीले नयाँ वर्ष, नयाँ लोगो, नयाँ फिचर र नयाँ नेतृत्वसँगै दराज नेपालको थप विस्तार हुने अपेक्षा समेत गरेका छौं ।

तपाईँलाई रिब्राण्डिङले दराज नेपालको भविष्य बदल्छ जस्तो लाग्छ ?

आँचल: हामीले हरेक दिन प्रगति गरिरहेका छौं र हरेक दिन नयाँ-नयाँ अनुभव गरिरहेका छौं । हरेक दिन ब्राण्डको विकास एवम् विस्तार भइरहेको छ । नयाँ लोगो, रंग र फिचरमार्फत् कम्पनीको रिब्राण्ड हुनेछ ।

रिब्राण्डिङ र नेतृत्व परिवर्तन केबल संयोग मात्रै हो । तर रिब्राण्डिङले दुबै नेतृत्वबीचको समयलाई अवश्य पनि परिभाषित गर्ने छ ।

तपाइँ दराज नेपालको नेतृत्व गर्ने पहिलो महिला समेत हुनुहन्छ । तपाईँले आफ्नो भूमिकलाई कसरी हेर्नु भएको छ ?

आँचल: दराज नेपालको नेतृत्व गर्ने पहिलो महिला हुन पाउँदा म निकै उत्साहित भएकी छु । तर महिला भएका कारण यो पद पाउँछु भनेर सोचेकी थिइनँ ।

मैले सानैदेखि कुनै खाले लैङ्गिक पक्षपातको सामना गरेकी छैन । यही कारण यससम्बन्धमा खासै सोच्दिनँ । तर मैले यसो भनिरहँदा संसारमा असमानता छ भनेर स्वीकार समेत गर्नुपर्ने हुन्छ ।

यदि मेरो नेतृत्वले महिलाको आगामी पुस्तामाथि प्रभाव पार्न सक्यो वा मैले कुनै एक व्यक्तिको जीवनमा प्रभाव पार्न सकेँ भने पनि यो पद स्वीकारेकोमा आफू निकै खुशी हुनेछु ।

भविष्यमा ब्राण्डलाई आफ्नै बनाउनेबारे कसरी योजना बनाउनु भएको छ ? भविष्यमा नेपालको ईकमर्स बजार र दराज नेपाल कहाँ पुग्छ जस्तो लाग्छ ?

आँचल: मसँग अमेरिकाको कर्पोरेट क्षेत्रमा १३ वर्षभन्दा बढी काम गरेको र त्यहाँको बजारलाई नजिकबाट नियालेको अनुभव छ । अमेरिकी बजार नेपालको भन्दा निकै परिपक्क छ । तर यहाँ संभावनाहरू निकै धेरै छन् । महामारीसँगै ई-कमर्श बजारले सही दिशातर्फ ठूलो फड्को मारेको छ ।

दराज नेपालमा मेरो नेतृत्वका बेला मैले गर्नुपर्ने एउटा काम भनेको मुख्यगरी ग्राहकको सुझावका आधारमा नै अघि बढ्नु हो । अर्डर गरे अनुसारको सामान नपाएको वा गुणस्तरको खाँचो रहेको जस्ता गुनासालाई राम्रोसँग सम्बोधन गर्न आवश्यक छ । हाल कैयौं मानिसले अनलाइन सपिङ गर्न थालेका छन् र दराजसम्म आएका छन् । हामीले उनीहरू दराजमै रहने कुराको सुनिश्चित गर्नुपर्छ ।

हाम्रा बिक्रेता जति राम्रा हुन्छन् हामी पनि त्यति नै राम्रा हुन्छौं । यही भएर दराज नेपालका लागि थप गुणस्तरीय बिक्रेताको खाँचो देखिन्छ । हामीलाई राम्रो परिवेशका लागि बिक्रेता र ग्राहकको थप सचेतना समेत चाहिएको छ । दराजको टिमले राम्रो प्रतिफल (रिटर्न पोलिसी)सहित ग्राहकको अनुभव कसरी सहज बनाउनेबारे समेत जोड दिइरहेको छ ।

हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बिक्रेताबाट थप वस्तु (प्रोडक्ट) समावेश गर्दै जाने छौं । त्यस्तै, हामीले कम्पनीले तोकेका मापदण्ड पूरा गरेको खण्डमा घरेलु बिक्रेतालाई समेत सामेल गराउन चाहन्छौं । त्यसपछिको कदम भनेको केबल ४७ वटा जिल्लामा मात्रै होइन सारा नेपालभर दराजलाई विस्तार गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?