+
+

कोरोना कहर : चलचित्र ‘लाखे’को दुई युनिट बनाएर छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १७:२६

१० माघ, काठमाडौं । कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेको एक साता बढी भइसकेको छ । हल सञ्चालनमा रोक लगाइएपनि चलचित्र छायांकनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न सकिनेछ ।

स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा कमको टिममा चलचित्र छायांकन गर्न सकिने नेपाल चलचित्र विकास बोर्डले जनाएको छ ।

कोरोना संक्रमणका कारण केही चलचित्रहरु छायांकनमा निस्किन सकिरहेका छैनन् भने केही सीमित चलचित्र यतिबेला छायांकन भइरहेका छन् । यतिबेला धमाधम छायांकन भइरहेका सीमित चलचित्रमध्ये एक हो, लाखे । यो चलचित्रको यतिबेला काठमाडौंमा धमाधम छायांकन भइरहेको छ ।

ठूलो बजेटमा निर्माण हुन लागेको चलचित्रको गत पुसको अन्त्यबाट छायांकन शुरु भएको थियो । कोरोना संक्रमण बढ्नुअघि भव्य शुभ-मुहूर्त गर्दै छायांकन शुरु गर्ने तयारी गरेको भएपनि कोरोनाको कारण सुटुक्क छायांकन शुरु गरिएको निर्देशक सम्राट बस्नेत बताउँछन् । उनले भने, ‘कोरोनाको कारण हामीले सीमित कलाकारको उपस्थितिमा मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन शुरु गर्‍यौं ।’

अहिले यो चलचित्रको दुई युनिट बनाएर छायांकन भइरहेको छ । चलचित्र युनिट धेरै भएकाले अहिले दुई युनिट बनाएर चलचित्रको छायांकन गरिएको निर्देशक बस्नेतको भनाइ छ । ‘टिम केही ठूलो भएकाले दुई युनिट बनाएर छायांकन गरिरहेका छौं,’ निर्देशक बस्नेतले अगाडि भने, ‘एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै गाह्रो रहेछ ।’

एउटा चलचित्र छायांकनका लागि दुई युनिटले फरक-फरक काम गरेको नेपालको हकमा सम्भवतः यो पहिलो हो । यसरी काम गर्दा चलचित्रका प्राविधिकदेखि धेरै युनिट समेत दुई सेट चाहिन्छ । कार्यकारी निर्माता हरि मल्ल ठकुरी छायांकनका लागि दुई युनिट बनाएर काम गर्दा आर्थिक भार बढ्नुका साथै धेरै झन्झट हुने अनुभव सुनाउँछन् । आर्थिक कुरा भन्दा पनि महत्वपूर्ण कलाकार र युनिटको सुरक्षा महत्वपूर्ण रहेको उनले बताए ।

सबैको स्वास्थ्य सुरक्षाका लागि निर्माण युनिटबाट थप आर्थिक भार व्यहोर्न राजी भएको उनले बताए । कार्यकारी निर्माता ठकुरीले ५ करोडमाथि बजेटमा चलचित्र निर्माण गर्न लागेको बताउँदै दुई युनिट बनाएर काम गर्दा ६ करोड रुपैयाँको बजेट पुग्न सक्ने बताउँछन् ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा थुप्रै चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ । सिजन अर्याल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी हुन् । निर्माण युनिटले कलाकारहरुको लुक बाहिरिने डरले छायांकनका तस्वीरहरु भने अहिलेसम्म बाहिर ल्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?