+
+

ललितपुरमा बजार अनुगमन : सिटामोल छ तर कम

अरु अवस्था सामान्य पायौं : प्रजिअ उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:४१

११ माघ, काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले आज कोभिड मापदण्डको पालना र अत्यावश्यक सिटामोल औषधि आपूर्तिको अवस्थाबारे जिल्लामा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा मास्क नलगाएका व्यक्तिलाई जनही एक सय रुपैयाँको दरले जरिवाना गर्नुका औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

अनुगमन टोलीले पाटन, सुमेरु, अल्का लगायतका अस्पताल र मंगलबजारका फार्मेसीहरुमा सिटामोलको उपलब्धताबारे अनुगमन गरेको थियो । अनुगमनको क्रममा सिटामोलको स्टक कम भए पनि सिटामोल नै नभएको अवस्था भने नपाइएको उनले बताए । ‘सिटामोलको आपूर्तिमा केही समस्या रहेछ । स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन,’ उनले भने ।

त्यसको कारणबारे खुलाउँदै प्रजिअ उपाध्यायले भने, ‘सिटामोलको उत्पादन र आपूर्तिमै कम भएको भन्ने स्वास्थ्य व्यवसायीहरुको भनाइ छ ।’ कुनै ग्राहकलाई सिटामोल धेरै दिने, कुनैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन औषधि व्यवसायीहरुलाई निर्देशन दिइएको उनले बताए ।

अरु अवस्था सामान्य

यसैगरी सवारी साधनहरुको बढी चहलपहल हुने मुख्य क्षेत्र लगनखेल, सातदोबाटो, जावलाखेल लगायतका क्षेत्रमा पनि कोभिड मापदण्डको पालनाबारे पनि अनुगमन गरिएको थियो । अनुगमनपछि प्रजिअ उपाध्यायले अनलाइनखबरसँग भने, ‘मास्क र सेनिटाइजर प्रयोग कस्तो छ, खोपकार्डको प्रयोग भएको छ कि छैन भनेर अनुगमन गर्दा अवस्था सामान्य पाइयो ।’

अनुगमनको क्रममा नेपाल प्रहरीको टोलीले हिजो र आज दुई दिनको अवधिमा मास्क नलगाउने २३४ जनालाई जनही एक सय रुपैयाँको दरले जरिवाना पनि गरेको प्रजिअ उपाध्यायले जानकारी दिए ।

अनुगमन टोलीमा प्रजिअ उपाध्याय, एसपी सिद्धीविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका कार्यालय प्रमुख इन्द्रसिंह लामा, स्वास्थ्य कार्यालय प्रमुख सतिश विष्ट लगायत सहभागी थिए ।

तस्वीरहरु: शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?