
११ माघ, काठमाडौं । केही समययता युट्युबमा म्युजिक भिडियोको भ्युज निकै घटेको छ । केही सीमित भिडियोले राम्रो भ्युज पाएपनि अधिकांश भिडियोमा गरिएको लगानी बालुवामा पानीसरह छ ।
चलेका गायक-गायिकाले स्वर दिएका र चलेका अभिनेता-अभिनेत्री एवं मोडलहरुको अभिनय रहेका भिडियोहरुको भ्युज पनि निकै कम देखिन्छ । यसले भिडियो चल्न चलेकै कलाकारहरु राख्नुपर्छ भन्ने लगानीकर्ताहरुमा रहेको भ्रम पनि तोडेको छ ।
१० दिनअघि सार्वजनिक भएको गीत हो, ‘स्वतन्त्र मन’ । चर्चित गायक उदितनारायण झाको स्वर रहेको यो गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय छ । गायन र अभिनयमा चलेकै कलाकारहरु रहेको गीतको भ्युज भने युट्युबमा कम छ । यतिका दिनसम्म भिडियोले युट्युबमा ६९ हजार मात्र भ्युज पाएको छ ।
आठ दिनअघि ‘भकारी’ शीर्षकको गीत युट्युबमा सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका मेलिना राई र लेखु सहयात्रीले यो गीतमा स्वर दिएका छन् । भिडियोमा अभिनेता नाजिर हुसेन र म्युजिक भिडियोमा व्यस्तमध्येकी मोडल गरिमा शर्माको अभिनय छ । भिडियोमा निर्माणमा नयाँ प्रयोग समेत गरिएको छ । तर भिडियोको भ्युज हेरौं, जम्मा २७ हजार मात्र छ ।
लोकप्रिय गायक सुगम पोखरेलको स्वर रहेको ‘आज म नै एक्लो भएँ’ बोलको गीतको भिडियो नौ दिनअघि युट्युबमा सार्वजनिक गरियो । चलेका अभिनेता तथा मोडल आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठले यस गीतको भिडियोमा अभिनय गरेका छन् । तर चलेका गायक र मोडलको अभिनय रहेको यस गीतको भिडियोले युट्युबमा १८ हजार मात्र भ्युज पाएको छ ।
समीर आचार्य र पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा १० दिनअघि ‘पेनकिलर’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । म्युजिक भिडियोमा रोजाइमा पर्ने अभिनेता पुष्प खड्का र मोडल कविता न्यौपानेले यसको भिडियोमा अभिनय गरेका छन् । तर मंगलबारसम्म भिडियोको भ्युज जम्मा ३२ हजार मात्र छ ।
लोकगायक विष्णु खत्रीले चार दिनअघि ‘चोयाको डोको’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरेका छन् । गायिका अस्मिता अधिकारी र विवेक श्रेष्ठको स्वर, म्युजिक भिडियोमा खोजिने मोडलद्वय सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको गीतको भिडियोले पनि राम्रो भ्युज पाउन सकेको छैन । चलेकी गायिका, चलेका मोडलहरुको अभिनय रहेको यो गीतको भिडियोको भ्युज ३३ हजार मात्र छ ।
यी चर्चित कलाकारहरुको पछिल्ला केही गीतका उदाहरण हुन् । चलेका अन्य थुप्रै कलाकारका गीत छन्, जुन गीतको भिडियोलाई एक लाख भ्युज पुर्याउन पनि लगानीकर्तालाई फलामकै चिउरा चपाउनु सरह देखिएको छ ।
‘कलाकारको नामले मात्रै गीत चल्ने अवस्था छैन’

पछिल्लो समय कलाकारहरुको नामले मात्रै गीत चल्छ भन्ने अवस्था नरहेको निर्देशक निकेश खड्का बताउँछन् ।
‘पहिले चलेका कलाकार राख्दा इनिसियल भ्युजमा प्लस हुन्थ्यो । गीत आउँदैछ भन्दा पनि स्रोता-दर्शकमा चासो हुन्थ्यो,’ म्युजिक भिडियोमा रुचाइएका निर्देशक खड्का भन्छन्, ‘एउटै कलाकारको धेरै गीत आएर पनि होला, अहिले पहिलेजस्तो कलाकारको नामले मात्रै चल्ने अवस्था छैन ।’
अहिले ‘बुस्ट’ गर्दा पनि भ्युज नगएको उनी बताउँछन् । इनिसियल भ्युजमा फाइदा गर्छ भनेर चलेका कलाकारहरु राख्ने क्रम नघटेपनि उनीहरुको नामले मात्रै गीत र भिडियो चल्ने अवस्था अहिले नरहेको उनले बताए ।
‘म्युजिक भिडियोमा नदेखिएको चलचित्रको कलाकार कोही आयो भने नामले मात्रै पनि केही मात्रामा राम्रो भ्युज गइरहेको छ । तर निरन्तर आइरहेका कलाकारहरुका भिडियोमा केही फरक नभएसम्म दर्शकले रुचि दिन छाडिसकेको जस्तो लाग्छ,’ खड्काले भने ।
अहिले फरक ‘प्याटर्न’का गीतहरु स्रोता-दर्शकले रुचाएको उनी बताउँछन् । अडियोले नै आकर्षित गर्न सक्नुपर्ने उनले बताए ।
संगीतकार अर्जुन पोखरेल पनि अहिले कलाकारहरुको नामले मात्रै गीतलाई ‘प्लस’ गर्न छाडेको बताउँछन् । पहिले चलेका कलाकारहरुका भिडियो कम आउँथे, जसका कारण स्रोता-दर्शकहरु प्रतीक्षामा देखिन्थे ।
त्यसले इनिसिरियल रुपमा भ्युजमा सहयोग गर्थ्यो । तर अहिले चलेका कलाकार हुँदैमा इनिसिरियल रुपमा पनि फाइदा गर्न छाडेको संगीतकार पोखरेल बताउँछन् ।
‘अहिले एउटै कलाकारहरुका म्युजिक भिडियो अत्याधिक धेरै आउन थाले । राम्रा कलाकार भनिएका कलाकारहरुको दुई-तीनवटा गीत सार्वजनिक हुन थालिसकेपछि दर्शकहरुसँग कुनै क्युरिसिटी नै हुन छाड्यो,’ पोखरेलले भने, ‘अहिले यो कलाकारको यो गीत रिलिज हुँदैछ भन्दा दर्शकसँग कुनै क्युरियोसिटी रहेको देख्दिनँ ।’
उनी गीत चल्न अडियो नै पावरफुल हुनुपर्ने बताउँछन् । ‘राम्रो अडियोको भिडियोमा राम्रा कलाकार हुँदा अझ राम्रो हुन अवस्था छ । तर कुनै कलाकारको कारणले गीत चल्छ भन्ने म ५ प्रतिशतभन्दा बढी विश्वास गर्दिन,’ पोखरेलले अनलाइनखबरसँग भने । उनी भिडियो मेकिङ गर्दा स्टोरीलाई ध्यानमा राखेर निर्माण गरिएका भिडियो गएको देखिएको बताए । उनी पछिल्लो समय अडियो भिडियो दुवैमा मेहनत कम भएको आफूले पाएको बताउँछन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4