+
+

‘कान्ति बाल अस्पतालमा कोरोना संक्रमित बालबालिकाको संख्या बढेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १६:०५

११ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरका कारण अहिले जनजीवन आक्रान्त बनेको छ । दैनिक १० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने परीक्षणको कुल संख्याको झण्डै आधामा संक्रमण देखिएको पनि झण्डै एक हप्ता हुन लागिसकेको छ ।

तेस्रो लहरमा विशेषगरी युवा र बच्चाहरुमा संक्रमण धेरै देखिएको छ । अघिल्ला लहरमा सामान्य हुने बाल अस्पतालमा यो लहरमा भने बढी भीड देखिएको छ । तर अहिले अन्य अस्पतालमा तुलनात्मक रुपमा कम बिरामी भर्ना भएपनि कान्ति बाल अस्पतालमा भने संख्या बढेको छ । कोरोना संक्रमित बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ । यही विषयमा महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

अहिले बालबच्चामा कोरोनाको प्रभाव कस्तो छ ?

अघिल्ला लहरको तुलनामा कुरा गर्दा यो लहरमा कान्ति बाल अस्पतालमा बिरामीको चाप बढी देखिएको छ । सिधै अस्पताल आएर भर्ना हुनेको संख्या र अरु अस्पतालबाट रेफर भएर आउनेको संख्या पनि बढेको छ । अहिले ओपीडीमा पनि बिरामीको चाप बढेको छ । दोस्रो लहरमा दैनिक औसतमा दुई जनासम्म बिरामी आएको अस्पतालमा अहिले औसतमा १९ देखि २१ जनासम्म बिरामी भर्ना हुने गरेका छन् । मंगलबार अस्पतालमा गम्भीर खालका १० जना बिरामी छन् भने भेन्टिलेटरमा एक जना बिरामी उपचाररत छन् ।

नवजात शिशु वा खोप नलगाएका बच्चाहरुमा कति जोखिम छ ?

नवजात शिशुमा कोरोनाको खासै जोखिम छैन, उनीहरु बरु आफ्नै आमामा हुने संक्रमणको भने जोखिममा छन् । तर खोप नलगाएका बच्चाहरुमा भने बढी जोखिम छ । त्यसैले नवजात शिशु भएकी आमालाई संक्रमण छ र अवस्था सामान्य छ भने उहाँहरुलाई घरमै सुरक्षित तरिकाले आइसोलेसनमा बस्न सुझाव दिने गरेका छौं । उहाँहरुलाई होम आइसोलेसनमा बस्ने र त्यस क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डको बारेमा पनि जानकारी दिने गर्छौं । साथै, स्वास्थ्यमा समस्या बढी भएमा तुरुन्त अस्पताल जान सुझाव दिने गर्छौं ।

बालबच्चा संक्रमित हुने र निको हुने क्रम कस्तो छ ?

अहिले हामीले ओपीडीमा फिबर क्लिनिक राखेका छौं । ओपीडी जानुपूर्व फिबर क्लिनिकमा ज्वरो नापेर पठाउने गरिन्छ । यसमा संक्रमणको संकेत देखिएको खण्डमा परीक्षण गर्ने गरिन्छ । तर अहिले बच्चामा संक्रमित हुने र निको हुने क्रम पनि बढिरहेको छ । सामान्य रुघाखोकी, ज्वरो आउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, सिजनल रुघाखोकी जस्तो देखिने संकेत पनि देखिन्छ । कतिपयलाई त हामीले स्वास्थ्य स्थिति स्थिर छ भने घरमा नै बस्न र स्वास्थ्य खराब भएमा तुरुन्त अस्पताल आउन सुझाव दिन्छौं । घरमै बस्ने बिरामीमा पनि संक्रमण निको हुने दर राम्रो छ ।

बालबच्चामा मूलतः के कस्ता जटिलता देखिएका छन् ?

अहिले एक जना बिरामी भेन्टिलेटरमा छन् । उहाँमा मेनिन्जाइटिस भएको देखिन्छ । ती बिरामीमा कोरोनाकै कारण त्यस्तो भएको पाइएको छ । भेन्टिलेटरमा रहेका एक बिरामी बाहेक अरु बिरामीमा भने साधारण रुघाखोकी, नाक बन्द हुने, दिसा पातलो आउने, ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् ।

सुत्केरी आमा संक्रमित भएमा त्यसको जोखिम बच्चामा कति हुनसक्छ ?

हामीले सुत्केरी आमा र बच्चामा कोरोनाको संक्रमणको अवस्थाको बारेमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकहरुसँग पनि नियमित परामर्श र छलफल गरिरहेका हुन्छौं । उहाँहरुल नवजातमा सुत्केरी आमालाई कोरोना पोजिटिभ देखिएको खण्डमा मात्रै जोखिम बढी हुने औंल्याउनुभएको छ । आमा र बच्चाको स्वास्थ्य सामान्य छ भने संक्रमित सुत्केरीलाई पनि घरमै बस्न सुझाव दिने गरिएको छ । घरमा बस्दा पौष्टिक तत्व भएको खानेकुरा खाने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिने गरेका छौं ।

कोरोनाबाहेक अहिले बालबच्चामा सबैभन्दा बढी देखिएको स्वास्थ्य समस्या के हो ?

अर्को मुख्य समस्या भनेको रुघाखोकी नै हो । अरु समस्या भएका बिरामीहरु धेरै अस्पताल आउने गरेका छैनन् ।

अहिले सिजनल फ्लुले कति सताइएका छन् ?

अहिले सिजनल फ्लुको समस्या पनि धेरै बच्चाहरुमा देखिन्छ । सिजनल फ्लु र कोरोना संक्रमण भएका बच्चामा देखिने लक्षण उस्तै हुन्छ । कान्ति बाल अस्पताल भएकाले बच्चा मात्रै नभएर अभिभावक पनि सँगै आउने गर्छन् । त्यसैले कसैमा लक्षण मिल्दोजुल्दो समस्या छ भने उसलाई पीसीआर गरेपछि मात्रै पत्ता लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?