+
+

विप्लवका विद्यार्थीले गरे केएमसीमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:५९

११ माघ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को भवनमा तोडफोड गरेको छ ।

अध्यक्ष प्रकाश शाहीले आफूहरुले केएमसीमा तोडफोड गरेको जिम्मेवारी लिए । केएमसीले एमबीबीएस, बीडीएस र बीएन अध्ययन गर्ने विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको र पटक पटक वार्ताबाट समाधान गर्ने प्रयास गर्दा पनि समाधान नभएपछि ‘कारबाही’ गरेको उनले बताए ।

उनले भने ‘यो समस्याको समाधान हुने भन्दा पनि अभिभावक र विद्यार्थीहरुलाई आत्मसमर्पण गराउने तरिकाले कलेज सञ्चालकहरुले भर्ना गराउन खोजिरहेका छन् । यो गैर न्यायिक मात्रै नभएर कानूनको उपहास हो । त्यसको विरुद्ध हामीले कारबाही गर्न बाध्य भएका हौं ।’

अध्यक्ष शाहीले विद्यार्थी, अभिभावकसहित सार्थक वार्ताका लागि भक्तपुरको प्रमुख जिल्ला अधिकारीसमक्ष गएको तर समस्या समाधान नभएपछि तोडफोड गरेको जिकिर गरे । ‘राज्यले यो समस्याको समाधान नगर्ने हो भने स्वाभाविक रुपमा यस्ता गतिविधि बढ्छ । विकल्प पनि छैन । ताला लगायो ताला तोडेर फाल्छन् । यो जनता, विद्यार्थीको तर्फबाट विद्रोह हो’ उनले भने ।

तोडफोडमा संलग्नको आरोपमा प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रबिन केसी, महेश अधिकारी, कृष्ण महतरा, चिरायु भेटवाललगायत पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?