
११ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि बुधबार सुदूरपश्चिम प्रदेशसभाको परिसरमा हुने मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ।
सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभा परिसरलाई मतदानका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। ‘हामीले राष्ट्रियसभा सदस्यका लागि भोलि हुने निर्वाचनका लागि प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरेका छौँ,’ भट्टले भने, ‘५२ जना प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’ नामाकरण गरेर सोही अनुसार व्यवस्थापन गरिसकेका छौँ भने स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष गरेर १७५ जनाका लागि मतदान स्थल ‘ख’ निर्धारण गरेका छौँ ।’
भट्टकाअनुसार मतपत्र छपाइको काम पनि सकेर सुरक्षित रुपमा राखिएको छ। बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि मतदानको कार्यसूची तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदानमा सहभागि हुनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिहरु धनगढी पुगिसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनको तर्फबाट खुल्लामा नेपाली कांग्रेसका नारायण मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादी पार्टीकी गरिमा शाह उम्मेदवार छन्।
नेकपा एमालेले खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोष कुमारी शर्मा थापालाई उम्मेदवार बनाएको छ ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।
८८ वटा स्थानीय तहका १७५ मतदाता रहेकोमा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन्।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षको १८ मतभार रहेको छ ।
प्रतिक्रिया 4