+
+

जोर-बिजोरले झन् सास्ती, सार्वजनिक यातायातमा कोचाकोच

नुनुता राई नुनुता राई
२०७८ माघ १२ गते १४:२०

१२ माघ, काठमाडौं । कोभिड-१९को नयाँ भेरियन्टको संक्रमण बढेसँगै यसलाई नियन्त्रणका लागि काठमाडौं उपत्यकाको सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणाली लागू भएसँगै यो प्रणालीको तीव्र आलोचना भइरहेको छ ।

जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा पारेको र यसले थप संक्रमण फैलाउने जोखिम बढेको उनीहरुको अनुभव छ । दैनिक सार्वजनिक यातायातमा यात्रा गरेर कार्यलय आउजाउ गरिरहेकी कुपण्डोलकी कल्पना शाक्यले अहिले समयमा गाडी नपाउने र पाएको गाडीमा पनि भिडभाडबीच जानुपर्ने बाध्यता भएको सुनाउँछिन् ।

कुपन्डोलबाट तीनकुनेस्थित कार्यलय जानको लागि दैनिक भीडभाडबीच यात्रा गर्नु परेको उनको गुनासो छ । उनी भन्छिन् ‘जोरबिजोर प्रणाली भएपछि गाडी नै कम हुन्छ । पाएको गाडीमा पनि कोचाकोच मान्छे हुन्छ । भिड छ भनेर अर्को गाडी कुर्ने अवस्था नै हुँदैन । अनि झन कोरोना सर्ला भन्ने डर ।’

जोरबिजोर प्रणालीले गाडी स्वत कम हुने हुँदा गाडीमा थप भिड बढ्ने उनको भनाइ छ । उनी अगाडि थप्छिन् ‘म जस्तो निजी सवारी साधन नभएकोलाई यो जोरबिजोर प्रणालीले साह्रै समस्यामा पारेको छ ।’

गत आइतबार सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ता करिश्मा ढकालले जोरबिजोर प्रणालीको कारण भोगेको समस्या ट्वीट गरेकी छिन् । सुन्धाराबाट माछापोखरी जान गाडीमा चढेकी उनलाई यात्रु क्षमता बढी भयो भनेर जमलमा ट्राफिक प्रहरीले ओरालेपछि हिँड्दै गएर लैनचौरबाट गाडी चढेको उल्लेख गरेकी छिन् ।

लैनचौरमा चढेको गाडीले माछापोखरी नपुग्दै बसपार्क बाहिर ओरालेपछि माछापोखरीस्थित घरतर्फ जाने क्रममा पाँच जना केटाहरुको समूहले दुर्व्यवहार गरेको उनले उल्लेख गरेकी छिन् । आफू ठीकै भएपनि उक्त घटनाले उनलाई मानसिक रुपमा असर गरेको ट्वीटमा उल्लेख गरेकी छिन् ।

यस्तै समस्या धुम्बाराहीकी मन्जु केसी पनि भोगेकी छिन् । लाजिम्पाटमा रहेको कार्यालय जाने र घर फर्कने क्रममा कम भीड भएको गाडी पाउन मुश्किल पर्छ । जोरबिजोर भएपछि कम गाडी हुँदा गाडीमा झन् भीड बढ्दा कोरोनाबाट बच्न पनि मुश्किल पर्ने उनको अनुभव छ ।

आफन्त कहाँ बसिरहेकी उनलाई कोरोना संक्रमण सारेर लग्छु कि भन्ने डरले भिडभाडबाट जोगिने प्रयास गरिरहेकी छिन् । त्यसले गर्दा मन्जु कार्यलय पुग्ने समय र घर फर्कने समय पनि ढिला भइरहेको छ । आइतबार पनि कम भीड भएको गाडी कुर्दै समय साँझ अबेर मात्रै गाडी चढिन् ।

उनले अनलाइनखबरसँगै कुरा गर्दै भनिन् ‘धुम्बाराहीमा गाडीबाट ओर्लेपछि घर जाँदा अलि माथिबाट दुई जना केटाहरु पछि पछि आइरहेका थिए । उनीहरु आफ्नै गन्तब्यतिर हिँडेका होलान् भनेर वास्ता गरिनँ । तर अलि माथि पुगेपछि मेरो नजिक आएर अश्लिल बोल्दै मलाई जिस्कायो । त्यसपछि बेस्सरी डर लाग्यो । सडक बत्ती पनि थिएन । तर घर नजिकै भएकोले अलि आँट आयो र बेस्सरी कराएँ । त्यहिबेला एउटा बाइक आयो र मैले रोक्न भनेपछि रोकियो । त्यसपछि तिनीहरु भागे ।’

आइतबार साँझको घटनाले सोमबार भीड भएको गाडी नै चढेर गएको सुनाउँछिन् । जोरबिजोर प्रणालीले निम्न आयस्रोत भएका वर्गलाई प्रत्यक्ष असर पार्ने उनको अनुभव छ । उनी भन्छिन् ‘पैसा हुनेहरुले त जसरी पनि आफ्नो जोहो गर्न सक्छन् । पठाओ, ट्याक्सीबाट जान सक्छन् । तर त्यसरी जान नसक्ने हामीले चाहिँ रोगले मर्नुपर्ने हो र ?’

सार्वजनिक यातायातमा नै दैनिक यात्रा गर्ने वर्गको लागि जोर बिजोर प्रणाली थप कष्टकर बनेको छ । गाडीमा सिटको लागि दौड्नुपर्ने मात्रै नभएर भीडभाडमा बस्दा संक्रमण सर्ने डरका बीच यात्रा गर्नु परिरहेको उनीहरुको अनुभव छ ।

बानेश्वर बस्ने कुमार थापा दैनिक सार्वजनिक यातायातबाटै एयरपोर्ट गेटमा रहेको कार्यालय आउजाउ गर्ने गरेका छन् । जोर बिजोर प्रणालीले झन भीड बनाएको बताउँछन् ।

उनी भन्छन्, ‘सधैं नै गाडीमा बस्न पनि ठेलम ठेल गर्दै बस्नुपर्छ । अहिले त झन् जोरबिजोरले गर्दा कम गाडी हुन्छ । झन् गाह्रो छ । अरु त त्यस्तै हो संक्रमित भएर घरकालाई सार्छु कि भन्ने त्रास हो ।’

सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश निम्न वर्गका हुने र ती वर्गको सुरक्षाको लागि सरकारले कहिल्यै नसोच्ने उनको गुनासो छ । उनी भन्छन् ‘नेपाल सरकारले कहिल्यै गरीबलाई भलो हुने नियम बनाएन । झन् झन् समस्यामा पार्ने मात्रै नियम बनाउँछ ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर 

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?