+
+
Shares

रुकुमपूर्वमा छैन ब्लड बैंक,बिरामी बचाउन हारगुहार

रुकुमपूर्वमा ब्लड बैंक स्थापना नहुँदा बिरामीको ज्यान बचाउन स्वास्थ्यकर्मी र आफन्तहरू हारगुहार गर्न बाध्य छन् । यसको मारमा सुत्केरीहरू पर्ने गरेका छन् ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ कात्तिक २२ गते १३:४५

२२ रुकुमपूर्व, कात्तिक । नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ब्लड बैंक छैन । ब्लड बैंक स्थापना नहुँदा बिरामीहरूको ज्यान जोगाउन हारगुहार गर्नुपर्ने बाध्यता छ । दुर्गम भूगोल र कठिन पहुँचका कारण यहाँका नागरिकहरू अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नै छन् ।

नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचनापछि स्थापना भएको रुकुमपूर्व तीनवटा गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा मिलेर बनेको छ । यी गाउँपालिकाका ३१ वटा वडामा बसोबास गर्ने बासिन्दा स्वास्थ्य उपचारका क्रममा रगतको अभावमा कठोर समस्या भोग्दै आएका छन् ।

रुकुमपूर्व अस्पतालका सूचना अधिकारी सृष्टि कोइरालाका अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मात्रै करिब २५ जना बिरामीलाई ब्लड बैंक नहुँदा ठूलो कठिनाइका बीच रगत जुटाएर मात्र उपचार गरिएको छ । ‘विशेषगरी सुत्केरी महिलामा रक्तश्राव हुने समस्या बढी देखिन्छ । ब्लड बैंक नहुँदा हामीले नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समाजसेवीहरूसँग हारगुहार गरेर रक्तदाता जुटाउँछौं’, उनले भने ।

अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. कृष्ण खरेलले ब्लड बैंक स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । ‘आवश्यक पूर्वाधार निर्माण र स्वीकृतिका काम भइरहेको छ । केही महिनाभित्र रुकुमपूर्व अस्पतालमा ब्लड बैंक सञ्चालनमा ल्याउने लक्ष्य छ’, डा. खरेलले बताए ।

स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पशुपति आचार्यका अनुसार गर्भवती र सुत्केरीलाई ब्लड बैंक नहुँदा उपचारका लागि जिल्ला बाहिर रिफर गर्दा थप जोखिम बढ्ने गरेको छ । ‘रगत अभावका कारण सुत्केरीलाई अन्यत्र लैजानुपर्ने हुन्छ, तर बाटो दुर्गम भएकाले बीचमै ज्यान जोगाउन गाह्रो पर्छ । यो हाम्रो लागि दिनहुँको चुनौती बनेको छ’, उनले भने ।

रुकुमपूर्वमा ग्रामीण सडकमा हुने दुर्घटना पनि बढी भएकाले आकस्मिक अवस्थामा तुरुन्तै रगत आवश्यक पर्छ । तर, तात्कालै रगत दिने सुविधा नहुँदा उपचार ढिलो हुन्छ ।

आचार्यले प्रदेश कार्यालयसँग ब्लड बैंक स्थापनाका लागि आवश्यक पहल अघि बढाइरहेको जानकारी पनि दिए । हामीले प्रदेश कार्यालयसँग निरन्तर समन्वय गरिरहेका छौं । अब काम अघि बढ्ने अपेक्षा गरिएको बताए ।

समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीका अनुसार, ब्लड बैंक नहुँदा सुत्केरी महिला र आकस्मिक बिरामीहरूको ज्यान जोखिममा पर्ने गरेको छ । ‘केही दिनअघि एक सुत्केरी महिलालाई रक्तश्राव भएपछि तत्काल रगत आवश्यक भयो । ब्लड बैंक नभएकाले हामीले सामाजिक सञ्जालमार्फत रगत माग्नुपर्‍यो’, रसाइलीले भने, ‘ यदि ब्लड बैंक भएको भए तत्काल उपचार सम्भव हुने थियो ।’

नेपाल सरकारले रुकुमपूर्वलाई हेर्ने दृष्टिकोण नै फरक रहेको रसाइलीको गुनासो छ ।

रुकुमपूर्व जस्तो हिमाली भेगमा ब्लड बैंकको अभावले आकस्मिक स्वास्थ्य सेवामा चुनौती थपिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यहाँका बासिन्दाहरु ब्लड बैंक स्थापना हुने र शल्यक्रिया, प्रसूति र आकस्मिक सेवामा ठूलो सहजता आउने प्रतीक्षामै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?