+
+

सशस्त्र प्रहरीमा एआईजीको एउटा दरबन्दी थप्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १६:३९

१२ माघ, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप गर्ने भएको छ । सीमा हेर्न छुट्टै विभाग बनाउने गरी सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया थालिएको हो ।

मन्त्रालयका एक उच्च अधिकृतले एआईजीको एउटा दरबन्दी थप गर्ने प्रक्रिया अघि बढिसकेको  बताए ।

उनका अनुसार दरबन्दी थप्ने विषयमा अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । स्रोतका अनुसार २६ माघमा अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) खड्गजीत राई र मन्दीप श्रेष्ठमध्ये एक जनालाई एआईजी बनाउने तयारी छ ।

‘सशस्त्र प्रहरीको जोडबल श्रेष्ठलाई एआईजी बढाउने भन्नेमा छ, गृहमन्त्रीज्यू पनि सकरात्मक हुनुहुन्छ’ मन्त्रालय स्रोत भन्छ, ‘उनी एआईजीमा बढुवा भएर १९ वैशाखपछि सशस्त्र प्रहरीको महानिरीक्षक बन्नेछन् ।’

राई र श्रेष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधिका कारण अवकाशमा जान लागेका थिए । यदी एआईजीमा बढुवा भए महानिरीक्षक बढेर तीन वर्ष फौजको नेतृत्व गर्ने अवसर पाउनेछन् ।

उनको बढुवा भए सशस्त्र प्रहरीमा आईजीपीका दाबेदार मानिएका डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश (सीपी) गौतमहरुले डीआईजीबाटै अवकाश पाउनेछन् । ‘अहिले तयारी भएजसरी निर्णय भए सशस्त्र प्रहरीको नेतृत्वको कोर्स नै बदलिनेछ’, सशस्त्र प्रहरीका एक अधिकृत भन्छन्, ‘तर यो निर्णय हुन सहज छैन ।’

हालका आईजीपी शैलेन्द्र खनालले २८ चैतमा पदावधिका कारण अवकाश पाउँदैछन् । त्यसपछि उनकै ब्याचका एआईजी पुष्पराज केसीले २० दिन सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

‘तर २० दिनलाई आईजीपी बनाउनु नहुने भन्दै लबइङ भइरहेको छ, माहोलले साथ दिए सिधै अहिले एआईजीमा बढुवा हुनेलाई आईजीपीमा सिफारिस गरिनसक्छ’ सशस्त्र प्रहरी बल उच्च स्रोत भन्छ ।

यसैबीच, सरकारले नेपाल प्रहरीमा पनि एआईजीको तीन वटा दरबन्दी थप्ने तयारी गरेको छ । यसमा पनि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?