+
+

मोरिससविरुद्ध सबैलाई अवसर दिन चाहन्छन् अलमुताइरी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ माघ १३ गते १२:४४

१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मोरिससविरुद्ध हुने खेलमा नतिजाभन्दा एक्पोजरलाई बढी जोड दिने बताएका छन् ।

अफ्रिकन राष्ट्र मोरिससविरुद्ध नेपालले यही माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि बुधबार प्रशिक्षक अलमुताइरीले नेपालको टिम घोषणा गरिसकेका छन् ।

तर, यसपटक उनले फरक तरिकाले टिम घोषणा गरेका छन् । प्राय: फुटबलमा कुनै प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि एउटा टिम घोषणा गरिन्छ । तर, अलमुताइरीले यसअघिभन्दा फरक शैलीमा टिम घोषणा गरे । उनले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टिम नै घोषणा गरिदिए ।

यस्तो प्राय: क्रिकेट खेल हुन्छ । क्रिकेटमा तीन फरक फर्म्याट हुने भएकोले एउट राष्ट्रको पनि फरक फरक टोली घोषणा हुने गरेको छ ।

यस्तै टेष्ट क्रिकेटमा भने फरक टेष्टका लागि फरक टोली पनि घोषणा गरिन्छ । तर नेपाली फुटबल टिमका प्रशिक्षकले भने फुटबल खेलकै लागि फरक टिम घोषणा गरिदिए । सायद यसको कारण बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीलाई अवसर दिन पनि हुन सक्छ ।

अलमुताइरीले बन्द प्रशिक्षणमा राखेका ३४ खेलाडीमा नै ९ नयाँ खेलाडी थिए । ए डिभिजन लिगको प्रदर्शन हेरेर आफ्नो रणनीतिमा ठिक हुने खेलाडीहरू उनले छानेका थिए । त्यसका ९ नयाँ खेलाडीसँगै केही यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी पनि थिए ।

उनले दुई फरक टिम घोषणा गर्दा दुवै टिममा नयाँ खेलाडीलाई पनि अवसर दिए । यही शनिवार हुने पहिलो खेलका लागि उनले टिममा ४ नयाँ खेलाडी राखेका छन् । यस्तै मंगलबार हुने दोस्रो खेलका लागि ५ नयाँ खेलाडी टिममा राखेका छन् । दुवै टिममा रहेका खेलाडी केवल १२ जना मात्र छन् । यस्तै जगिजत श्रेष्ठ, विमल घर्ती मगरलगायत खेलाडी पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

यही हिसाबमा हेर्ने हो भने अलमुताइरीले दुई खेलमा गरेर सबै खेलाडीलाई मौका दिन सक्नेछन् । टिम घोषणाको विषयमा अलमुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको एक्पोजर दिन चाहन्छु । यसले उनीहरूलाई थप अनुभव दिएर भविष्यमा बलियो टिम बनाउन मद्दत गर्नेछ । मैले नतिजाभन्दा पनि राम्रो प्रदर्शनको अपेक्षा गरेको छु ।’

प्रशिक्षक अलमुताइरीले यसअघि बन्द प्रशिक्षण सुरु गर्दा नै मैत्रीपूर्ण खेलभन्दा पनि एसियन कप छनोट र अर्को पटकको विश्वकप छनोटलाई ध्यानमा राखेर खेलाडीहरू छनोट गरेको बताएका थिए ।

प्रशिक्षक अलमुताइरीले पहिलो दिनको प्रशिक्षणपछि नै मैत्रीपूर्ण खेल भएकोले नतिजालाई खासै ध्यान नदिने र नयाँ खेलाडीलाई अवसर दिने बताएका थिए । ‘म रिजल्टको केयर गर्दिन । मैत्रीपूर्ण खेल भएकोले रिजल्टले खासै असर गर्दैन । मैत्रीपूर्ण खेल सिक्नको लागि हो ।’ अलमुताइरीले भनेका थिए । ‘मैत्रीपूर्ण खेलमा म नयाँ खेलाडीहरूलाई अवसर दिनेछु । यस्तै म नयाँ रणनीति पनि प्रयोग गर्नेछु किनकि मेरो टार्गेट एसिया कप क्वालिफायर र अर्को विश्वकपको क्वालिफायर हो ।’ अलमुताइरीले आफ्नो योजनाबारे यसो भनेका थिए ।

अलमुताइरीले ए डिभिजन लिगमा गरेको प्रदर्शन र आफ्नो रणनीतिमा फिट हुने खेलाडी छानेका बताइसकेका छन् । उनले पहिलो खेलका लागि चार नयाँ खेलाडी टिकेन्द्र थापा, सुदिप गुरुङ, आकाश बुढामगर, कृतिश रत्न छुन्जुलाई टिममा स्थान दिएका छन् । यस्तै दोस्रो खेलका लागि ५ नयाँ खेलाडी शत्रुधन चौधरी, नविन गुरुङ, प्रशान्त अवस्थी, आशिष राई र फरवार्ड सुशील राईलाई पहिलो पटक राष्ट्रिय टिममा राखेका छन् ।

अलमुताइरीले सुरुमा ३४ खेलाडी छनोट गर्दा आशिष र प्रशान्त समावेश थिएनन् । मिडफिल्डर सन्तोष तामाङ लिग दौरान घाइते भएपछि उनले जगजित श्रेष्ठ र आशिषलाई छनोट गरेका थिए । त्यसपछि बन्द प्रशिक्षणका लागि बोलाइएका आयुष घलान, कमल थापा र दिनेश हेन्जन प्रशिक्षणमा उपस्थित नहुने भएपछि अलमुताइरीले प्रशिक्षण सुरु हुने अघिल्लो दिन प्रशान्तलाई पनि बोलाएका थिए । यस्तै विमल घर्ती मगर, देवेन्द्र तामाङ, जगजित श्रेष्ठ, सुभाष गुरुङ, एरिष विष्टले राष्ट्रिय टिममा पनि पुनरागमन गरेका छन् ।

बन्द प्रशिक्षणमा परेपछि जगजित श्रेष्ठले राष्ट्रिय टिममा आफ्नो सार्थकता प्रमाणित गर्ने यो अन्तिम अवसर भएको बताएका थिए । यस्तै विमलले मछिन्द्रबाट लिग खेल्ने क्रममै राष्ट्रिय टिममा पुनरागमन गर्ने चाहना भएको बताएका थिए । दुवै खेलाडी टिममा परिसकेका छन् । अब मोरिससविरुद्ध मैदान उत्रिए दुवैको चाहना पूरा हुनेछ ।

लिग दौरान घाइते भएका सन्तोष तामाङ पनि प्रशिक्षणमा फर्कँदै राष्ट्रिय टिममा अटाएका छन् । प्रशिक्षक अलमुताइरीले आफ्नो सिस्टममा ठिक हुने खालको खेलाडी छनोट गरेको बताएका छन्, ‘मेरो सिस्टम एडप्ट हुने खालको खेलाडी हेर्छु ।’

पहिलो खेलका लागि घोषित टिम :

किरण कुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डांगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

दोस्रो खेलका लागि घोषित टिम :

किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, अनन्त तामाङ, आकाश राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ

दुवै खेलका लागि टिममा परेका खेलाडी :

किरण लिम्बु, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुमन लामा, तेज तामाङ, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, अन्जन विष्ट, विमल घर्ती मगर, आशिष लामा

पहिलो खेलमा मात्र परेका खेलाडी :

दीप कार्की, टिकेन्द्र थापा, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, आकाश बुढा मगर, नितिन थापा, सुनिल बल, जगजित श्रेष्ठ, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ

दोस्रो खेलमा मात्र परेका खेलाडी :

विशाल श्रेष्ठ, शत्रुधन चौधरी, नविन गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी, सुशील राई, प्रशान्त अवस्थी

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?