+
+

अध्ययनको निष्कर्ष : कोभिड संक्रमणपछि खोप लगाएका मानिसमा ‘सुपर इम्युनिटी’ विकास हुन्छ

हालै गरिएको एक अध्ययनले कोभिड-१९ को संक्रमणपछि खोप लगाएका मानिसमा निकै राम्रो रोगप्रतिरोधी क्षमता विकास हुने देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १४:५७

१३ माघ, काठमाडौं। हालै गरिएको एक अध्ययनले कोभिड-१९ को संक्रमणपछि खोप लगाएका मानिसमा निकै राम्रो रोगप्रतिरोधी क्षमता विकास हुने देखाएको छ ।

ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका वैज्ञानिकले गरेको नयाँ अध्ययनले कोभिड-१९ को संक्रमणपछि खोप लगाएका मानिसको शरीरमा सबैभन्दा राम्रो रोगप्रतिरोधी क्षमता (सुपर इम्युनिटी) विकास हुने देखाएको हो । त्यस्तै कोभिड संक्रमणपूर्व नै पूर्ण डोज लगाएका संक्रमितको शरीरमा समेत निकै राम्रो रोगप्रतिरोधी क्षमता हुने अध्ययनको निष्कर्ष छ ।

वैज्ञानिकहरूले अध्ययनका क्रममा २ पटक फाइजर खोप लगाएका १०४ जना मानिसको शरीरबाट रक्त नमूना लिएका थिए । रक्त नमूना लिएका मानिसमध्ये ४२ जनालाई कहिल्यै कोभिड-१९ को संक्रमण भएको थिएन भने ३१ जनाले संक्रमणपछि खोप लगाएका थिए । त्यस्तै, खोप लगाएपछि संक्रमित हुनेको संख्या पनि ३१ नै थियो ।

वैज्ञानिकहरूले ती सबै नमूनामा कोभिड-१९ को अल्फा, बिटा र डेल्टा भेरियन्ट मिसाएका थिए। अध्ययनपछि खोप र प्राकृतिक इम्युनिटीको समिश्रणबाट विकास हुने एन्टिबडी खोपबाट मात्रै विकास हुने इम्युनिटीभन्दा १० गुणा प्रभावकारी हुने पाइएको थियो। यही तथ्यबाटै वैज्ञानिकहरूले खोप लगाउनुअघि संक्रमण भएका मानिसमा रोगप्रतिरोधी क्षमताको मात्रा र गुणस्तर अत्यधिक बढ्ने निष्कर्ष निकालेका हुन्।

‘दुवै अवस्था (खोप लगाउनुअघि वा पछि) मा तपाईँले सशक्त अनि निकै धेरै मात्रामा इम्युनिटी प्राप्त गर्नुहुन्छ’, अध्ययनको सह-लेखन गरेका मोलिक्युलर माइक्रोबाइलोजी तथा इम्युनोलोजीका प्राध्यापक फिकाडु टाफेसीले भने ।

टाफेसीका अनुसार कोरोना भाइरस व्यापक फैलिएको हुँदा खोप लगाएपछि समेत संक्रमित हुने संभावना उच्च हुन्छ । तर यसैका कारण सामान्य संक्रमण हुने र यसैबाट सुपर इम्युनिटी प्राप्त हुने पनि उनको भनाइ छ ।

यसबाहेक, साइन्स इम्युनोलोजी नामक म्यागजिनमा मंलगबार प्रकाशित सो अध्ययनमा खोप लगाएपछि विकास हुने एन्टिबडीमा उमेरले नकरात्मक असर पार्ने भए पनि इम्युनिटीको मात्रा र उमेरबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिएको छ ।

त्यस्तै उक्त अध्ययनको निष्कर्षले खोप लगाएपछि हुने नयाँ संक्रमणकै कारण महामारी अन्त्यतर्फ अग्रसर हुन सक्नेसमेत औंल्याएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?