+
+

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १७:५०

१३ माघ, पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ ।

बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । तर, उक्त समयावधिमा पनि कुनै टिमले गोल गर्न सकेनन् । त्यसपछि टाइब्रेकरमा पुगेको खेल मनाङले बाजी मारेको हो ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको सुरुआती केही मिनेटमै मनाङ मर्स्याङ्दीले अग्रता लिने मौका गुमाएको थियो । खेलको ८ औं मिनेटमा कप्तान विमल राना पेनाल्टीमा चुक्दा मनाङले अवसर गुमाउन पुग्यो ।

खेलको ८औं मिनेटमा मनाङका खेलाडी अडेलजा सोमिडेले डिएरिया नजिकैबाट गरेको क्रसपास डिक्सभित्रै आर्मीका डिफेन्डर युद्ध शाहीको हातमा लाग्न पुगेको थियो । डिबक्स भित्रै ह्यान्ड भएपछि पेनाल्टी अवसर पाएको मनाङले सदुपयोग गर्न सकेन । त्यसपछि दुवै टिमले आफूले पाएका पटक-पटकका सुन्दर मौका अवसरमा परिणत गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

यसअघि २०७२ सालको आहारारा गोल्डकपको फाइनलमा आर्मी र मनाङ मर्स्याङ्दी भिडेका थिए । उक्त खेलमा पनि मनाङसँग आर्मी १-० ले पराजित हुन पुगेको थियो  । मनाङ आहा रारा गोल्डकपको सर्वाधिक विजेतामध्येमा पर्छ । मनाङले ६ पटक उपाधि चुम्दा जारी प्रतियोगितासँगै १२ पटक फाइनल यात्रा तय गरेको छ ।

मनाङ जारी सिजनमा पोखरा रंगशालामा शतप्रतिशत नतिजा ल्याउन सफल छ । पोखरामा हालै भएको शहीद स्मारक ए डिभिजन लिगका ३ खेलमा मनाङले हार व्यहोर्नु परेन ।

एपीएफ आहा रारा गोल्डकपमा १४ वर्षपछि फाइनल यात्रा पुगेको हो भने सर्वाधिक उपाधि विजेता बनेको मनाङ मर्स्याङ्दी आफ्नो विजेता इतिहासलाई कायम राख्ने दाउमा छ । उपाधिका लागि शनिबार पोखरा रंगशालामा मनाङमर्स्याङ्दी र एपीएफ मैदान उत्रिनेछन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आर्मीलाई नफापेको पोखरा

आहा रारा गोल्डकपको २० औं संस्करणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लब ‘अभागी टिम’का रुपमा दरिएको छ । पटक-पटक फाइनलसम्मको यात्रा तय गरेर पनि आर्मी उपाधिविहीन छ । आर्मी आहारारा गोल्डकपमा ४ पटक फाइनलसम्म पुगेर पनि नतिजा आफ्नो पोल्टामा पार्न सकेको छैन ।

आर्मी २०६५, २०६६, २०७२ र २०७५ सालमा आहारारा गोल्डकपको फाइनल प्रवेश गरेको थियो । आर्मीको जितमा दुई पटक अर्को विभागीय टोली नेपाल पुलिस क्लब र थ्रिस्टार, मनाङ मर्स्याङ्दी एक/एक पटक पटक बाधक बनेका थिए ।

आर्मी पहिलोपल्ट सातौं संस्करणमा सेमिफाइनलमा सहारा युकेलाई ४–० गोल अन्तरले फाइनल प्रवेश गरेको थियो । तर, फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिससँग ५–० ले स्तब्ध हुँदै उपविजेतामा सीमित हुन पुगेको थियो ।

लगत्तै आहा राराको आठौं संस्करणमा पनि आर्मी फाइनलसम्मको यात्रा तय गर्‍यो । तर, उक्त वर्ष पनि नतिजा सुखद भएन । फाइनल पुगेको अघिल्लो वर्षकै प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग हारको बदला लिन सकेन । फाइनलमा पुनः १–० ले हार्न पुग्यो ।

त्यसपछिका खेलमा पटक-पटक सेमिफाइनलसम्मको यात्रा तय गरे पनि फाइनलसम्म पुग्न सकेन । २०७२ (१४औं संस्करण) मा तेस्रो पटक आर्मी फाइनल पुगेको थियो । तर, उक्त यात्रा पनि सुखद हुन सकेन । फाइनलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित हुन पुग्यो ।

प्रतियोगिताको १७ औं संस्करणमा पनि आर्मी चौंथो पटक फाइनल पुगेको थियो । त्यसपल्ट उपाधि नजिक पुगेर पनि आर्मी उपविजेतामा सीमित हुन पुग्यो । निर्धारित समयमा प्रतिद्वन्द्वी थ्रिस्टारसँग २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा ५–४ गोलअन्तरले आर्मीले उपाधि रक्षा गर्न सकेन ।

जारी २० औं आहारारा गोल्डकपमा ०७५ सालमा हार थ्रिस्टारसँग व्यहोर्नु परेको बद्ला लिँदै आर्मी सेमिफाइनल यात्रा तय गरेको हो । आर्मीले थ्रिस्टारलाई क्वार्टरफाइनलमा १-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?