+
+

डब्ल्यूएचओका क्षेत्रीय निर्देशकमाथि जापानलाई गोप्य तथ्याङ्क चुहाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १३:३५

१४ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशकमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको, रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी संवेदनशील तथ्याङ्क चुहाएको आरोप लागेको छ ।

पश्चिमी प्रशान्त क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यएचओ)का निर्देशक ताकेशी कसाईमाथि यस्तो आरोप लागेको हो । डब्ल्यूएचओले कसाईमाथि लागेका आरोपको अध्ययन गरिरहेको बताएको छ ।

डब्ल्यूएचओले बिहीबार रोइटर्स समाचार माध्यमलाई उपलब्ध गराएको विज्ञप्तिमा ‘आरोपबारे जानकार भएको र यस सम्बन्धमा आवश्यक सबै कदम चालेर अघि बढ्ने’ उल्लेख छ । कसाईले कर्मचारीमाथि कडाइ गरेको तर रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क चुहाएको आरोपको भने खण्डन गरेको पनि विज्ञप्तिमा भनिएको छ ।

बिहीबार नै एसोसिएटेड प्रेसमा कसाईविरुद्ध आरोप लागेको समाचार प्रकाशित भएको थियो । अक्टोबर महिनामा दर्ता गरिएका आन्तरिक उजुरी र गत हप्ता बाहिरिएको एक इमेललाई उदृत गर्दै प्रकाशित उक्त समाचारमा उनीविरुद्ध कर्मचारीमाथि दुर्व्यवहार, रंगभेदी भाषाको प्रयोग र खोपसम्बन्धी संवेदनशील तथ्याङ्क चुहावटसम्बन्धी आरोप लागेको उल्लेख छ ।

उजुरी र गुनासोमा जापानका फिजिसियनसमेत रहेका कसाईले निश्चित मुलुकका कर्मचारीविरुद्ध रंगभेदी एवं अपमानजनक भाषा प्रयोग गरेको र कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

त्यस्तै, डब्ल्यूएचओमा १५ वर्षभन्दा बढी काम गरेका उनले जापान सरकारलाई छिमेकी मुलुकलाई प्रदान गरिने कोभिड खोपमार्फत् कुटनीतिक समर्थन प्राप्त गर्न सहज होस् भनेर गोप्य तथ्याङ्क दिएको आरोपसमेत लागेको छ ।

समाचारमा नाम नखुलाइएका डब्ल्यूएचओका एक कर्मचारीले इमेलमा भनेको कुरा उदृत गर्दै विगत डेढ वर्षको अवधिमा कसाईको निरंकुश कार्यशैलीका कारण ५५ जना महत्त्वपूर्ण कर्मचारीले जागिर छोडेको र उनीहरूको स्थानमा अझै कुनै व्यक्ति नियुक्त नगरिएको उल्लेख छ ।

तर, कसाईले आफूले कुनै पनि मुलुकका कर्मचारीमाथि रंगभेदी व्यवहार नगरेको र जापानलाई संवेदनशील सूचना नचुहाएको भन्दै आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?