+
+

सम्झनामा साहित्यिक शहीद

किशोर पौडेल किशोर पौडेल
२०७८ माघ १६ गते १२:५३

साहित्यकारहरूले साहित्य रचना गर्नुका आ-आफ्ना अभिप्राय हुन सक्छन्। कसैले नामको लागि, कसैले सोखले, कसैले आफूसँग रहेको ज्ञान प्रसारको लागि भने कसैले आर्थिक उपार्जनको लागि। पाठकको वृद्धिले गर्दा पछिल्लो समयमा मात्र हो लेखेर जीविकोपार्जन चल्न थालेको अन्यथा केही दशक अगाडिसम्म लेखक र पाठक दुवैको कमि थियो नेपालमा।

वि.सं. १९४४ माघ २४ गतेका दिन रामेछाप जिल्लाको साविक कठजोर गाविस वडा नं. ६ मा एक किसान परिवारमा जन्मेका कृष्णलाल अधिकारी साहित्यप्रति रुचि राख्दथे। भाइभारदारहरूले मात्र शिक्षाको अवसर प्राप्त गर्ने राणाकालीन समयमा उनले औपचारिक शिक्षा समेत प्राप्त गर्न पाएनन्। स्वध्ययन गरेर शिक्षा प्राप्त गरी सुब्बा पदमा कार्यरत रहे।

सचेत नागरिक भएका कारण कृषिप्रधान देशका कृषकहरूलाई लक्षित गरी वि.सं. १९७७ मा उनले ‘मकैको खेती’नामक पुस्तक लेखी प्रकाशन गरे। पुस्तक प्रकाशनकै समयमा पत्नीको देहावसान भएपछि आफ्ना बालबच्चा छोड्न गृहजिल्ला जाँदा राणाहरूका पण्डित भोजराज काफ्ले र रामचन्द्र अधिकारीले चन्द्र शमशेरलाई पुस्तकको भूमिकामा लेखिएका ‘राता टाउके कीरा, काला टाउके कीरा’, ‘नेपाली र विदेशी कुकुरहरू’ जस्ता शब्दप्रति लक्षित गर्दै यो पुस्तकमा राणाशासन विरोधी कुरा लेखिएको छ भनी पोल लगाए।

लगत्तै उनलाई पक्राउ गरी पुस्तक समेत जफत गर्न आदेश दिइयो। चन्द्रशमशेर र भीमशमशेरले राता र काला टोपी लगाउने कारणले बुझ्नेहरूका लागि यो प्रतीकात्मक रूपमा उनीहरूको विरोध पनि थियो।

जम्मा एक हजारप्रति छापिएको उक्त पुस्तकको ९९९ प्रति जफत हुँदा १ प्रति पुस्तकको भने पत्ता लाग्न सकेन। कृष्णलाललाई १९७७ साउन ११ गते अदालतमा मुद्दा चलाइयो र साउन २० गते पुस्तक प्रकाशन गरेबापत ६ वर्ष र १ प्रति पुस्तक लुकाएको आरोपमा थप तीन वर्ष गरी जम्मा नौ वर्षको जेल सजाय सुनाइयो। माफी मागेमा कैद मिनाहा गर्ने प्रस्ताव राख्दा उनले माफी माग्न समेत इन्कार गरे।

‘संसारमा कीर्ति छ धेर ठूलो, कीर्ति विना बन्दछ जीव लुलो’ भनेर साहित्य रचना गर्ने उनले कीर्ति र कीर्तिमान त दुवै राखे तर जीवन राख्न भने सकेनन् अर्थात् वि.सं. १९८० मंसिर २५ गते ३६ वर्षको युवावस्थामा भद्रगोल जेलमा बिते। राणाशासनलाई किन निरंकुश शासन भनिन्छ भनेर प्रमाणित गर्ने यस घटनालाई ‘मकै पर्व’ को रूपमा चिनिन्छ भने लेखक कृष्णलाल अधिकारीलाई ‘प्रथम साहित्यिक शहीद’ का रूपमा चिनिने गरिन्छ।

उनले त्यस प्रकारको दण्ड भोग्न नपरेको भए अरु लेखकहरूका कलम पनि साहित्यिक क्षेत्रमा दौडेर नेपाली साहित्यले केही फड्को मार्ने थियो होला ! तर उनको कलम भाँचिएसँगै ती उज्याला भविष्य पनि त्यतिखेर नै भाँचिए जसले गर्दा राष्ट्रले ठूलो क्षति व्यहोर्नु पर्‍यो।

‘मकैको खेती’ नामक पुस्तकले आधुनिक तरिकाबाट मकैको उत्पादनमा जोड दिएको हुँदा तत्कालीन समयमा कृषकको हात हातमा पुस्तक पुर्याउन पाएर परम्परागत कृषि प्रणालीको सट्टामा आधुनिक वैज्ञानिक प्रणालीको अवलम्बन गरिएको हुन्थ्यो भने अहिलेको हाम्रो कृषि प्रणाली नै फरक हुनेथियो होला !

उनले त्यस प्रकारको दण्ड भोग्न नपरेको भए अरु लेखकहरूका कलम पनि साहित्यिक क्षेत्रमा दौडेर नेपाली साहित्यले केही फड्को मार्ने थियो होला ! तर उनको कलम भाँचिएसँगै ती उज्याला भविष्य पनि त्यतिखेर नै भाँचिए जसले गर्दा राष्ट्रले ठूलो क्षति व्यहोर्नु पर्‍यो।

बिर्सिइएका कृष्णलाल

निडर र निर्भीक ‘तीन लाल’ कृष्णलाल, गंगालाल र पुष्पलालको जिल्ला रामेछापको मन्थलीको हाटेचौर नजिकै गढवारीको तामाकोशी किनारको चौर (आकाशे) मा तीन लालको सालिकमा मात्र उनी सीमित देखिन्छन्। उनी यत्तिमा मात्र सीमित हुनुपर्ने व्यक्तित्व भने पक्कै होइनन्। उनलाई सम्झिने प्रशस्त आधार छन्।

कृषिप्रधान देशका कृषकले एक शताब्दी अगाडिको समयमा कृषि पेशालाई आधुनिकीकरण गर्ने प्रयासको लागि पुस्तक लेख्ने कृषिप्रेमीको रूपमा पनि चिनिन्छन्। उनी राणाशासन विरुद्ध आवाज उठाएको एक प्रजातान्त्रिक योद्धाको रूपमा चिनिन्छन्। लेखकहरूले असहज परिस्थितिको सामना गर्न सक्ने उनी निर्भीक लेखक थिए भने।
भाइबन्धुले इतिहासमा आफ्नो कुलको नाम दर्ज गर्न सकेको बहादुरको रूपमा उनलाई सम्झन सकिन्छ। जिल्लावासीले आफ्नो जिल्लाको व्यक्ति अन्धकार युगमा समेत शिक्षाले सिञ्चित भई जिल्लाको नाम रोशन गर्न सकेको निडर व्यक्तिको रूपमा उनलाई सम्झन सकिन्छ।

अनुसन्धानकर्ता डा. भूपहरि पौडेलले ‘कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व’नामक अभिलेखग्रन्थ मार्फत कृष्णलाललाई जीवन्त राख्ने प्रयास गर्नुभएको छ। ‘हितप्रसाद उपाध्याय जुनमाया सुवेदी साहित्य प्रतिष्ठान’का अशोक सुवेदीको पहलमा करीब डेढ दशकदेखि वार्षिक रूपमा स्रष्टाहरूलाई तीन लालको जिल्ला रामेछापको भ्रमण गराई केही कार्यक्रमहरू गरिएको पाइन्छ।

‘सुब्बा कृष्णलाल स्मृति सेवा समिति’ले उनको सम्झनामा केही पुस्तक तथा लेख प्रकाशन गरेर उनलाई सम्झिरहेको देखिन्छ। यसको अलावा उनलाई केही व्यक्तिगत तवरबाट सम्झिए पनि राज्यस्तरबाट सम्झिएको पाइँदैन।

विश्वका उदाहरण हेर्ने हो भने साहित्यकार शेक्सपियरको मृत्यु भएको दिन अप्रिल २३ (ग्रेगोरियन क्यालेण्डर अनुसार शेक्सपियरको मृत्यु मे ३ मा भएको देखिन्छ तर पुरानो जुलियन क्यालेण्डर अनुसार उनको मृत्यु अप्रिल २३ लाई मानिएको) लाई उनको सम्झनामा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रूपमा मनाउने गरेको पाइन्छ।

स्पेनमा त्यहाँका प्रख्यात लेखक मिगेल डे सर्भेन्टेसलाई सम्मान गर्ने उद्देश्यका साथ उनको स्मृतिदिवस अप्रिल २३ लाई पुस्तक तथा गुलाब दिनको रूपमा मनाउने गरिन्छ। नेपालमा पनि आदिकवि भानुभक्तको सम्झनामा भानुजयन्ती, महाकवि देवकोटा लगायत अन्य स्रष्टाको स्मरणमा वार्षिक कार्यक्रम गरिंदै आएको पाइन्छ। तर, लेखेकै कारण जेल बस्नुपर्ने र जेलमै जीवन बिताउने नागरिकस्तरबाट साहित्यिक शहीदको उपमा दिइएका नेपालका शायद एक्ला व्यक्तित्व कृष्णलालप्रतिको सम्मानमा राज्यस्तरबाट अवश्य कञ्जुस्याइँ भएकै हो।

राणा शासनविरोधी आन्दोलनमा लागेको कारण वि.सं. १९९७ माघ १०-१६ भित्र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द मारिए। उनीहरूको त्याग र बलिदानको स्मरणमा वि.सं. २०१२ देखि माघ १०-१६ मा औपचारिक रूपमा शहीद सप्ताह मनाउन थालियो।

चार शहीदले वीरगति प्राप्त गरेको महीना माघमा नै संयोगवश कृष्णलालको जन्म महीना पर्ने हुँदा यही सप्ताहव्यापी शहीद दिवसको कुनै एक दिन (शेक्सपियरको माने जस्तै) मा साहित्यिक गतिविधि सहित साहित्यिक शहीदको सम्झना गर्न सकेमा उनीप्रति पक्कै पनि केही न्याय हुने थियो।

अन्त्यमा, उनकै रचना ‘भाइहरुलाई अर्ती’शीर्षकको कविताको शब्द

संसार छोडे पनि हेर क्वै दिन
आउने छ यौटा जनतन्त्रको दिन।।

अनुसार प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आँउदा पनि उनलाई नसम्झिइनु कतै जनतन्त्रको पर्खाइ त होइन ?

लेखकको बारेमा
किशोर पौडेल

डेढ दशकदेखि प्रकाशन क्षेत्रमा आबद्ध लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?