+
+

नेपालमा कोरोना संक्रमण घट्न थालेको हो ?

विज्ञ भन्छन् - अझै दुई हप्ता पर्खौं

जनस्वास्थ्यविद्हरु संक्रमण घट्दै गएपनि अबको दुईहप्ता अस्पतालको चाप नघट्ने बताउँछन् । संक्रमित भएकामध्ये दीर्घरोगी तथा खोप लगाएका मानिसहरु अस्पताल भर्ना भइरहेकाले अझै दुई हप्ता ढुक्क हुन नसक्ने उनीहरुको भनाइ छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ माघ १६ गते २१:५८

१६ माघ, काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । आइतबार संक्रमितको संख्या तीन हजार ५४० मा झरेको छ । यसअघि शुक्रबार छ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको थियो भने शनिबार चार हजार ९०४ मा झरेको थियो ।

माघ ८ मा कुल परीक्षण गरेकामध्ये आधा भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यसयता विस्तारै संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

संक्रमितको संख्यासँगै संक्रमण दर पनि घटेको छ । माघ ८ गते ५० प्रतिशत भन्दा माथि रहेको संक्रमणदर १६ माघमा २६ दशमलव ९३ प्रतिशतमा झरेको छ । नेपालमा कोरोनाको तेस्रो लहरमा ६ माघमा २७ हजार ४ सय ९७ नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । जुन नेपालमा एक दिनमा देखिएको सबैभन्दा बढी संक्रमण हो ।

त्यसयताका दिनमा क्रमश माघ ७ मा १० हजार ७०३, माघ ८ मा १० हजार २५४, माघ ९ मा छ हजार ४६२, माघ १० मा १० हजार ३१९ र माघ ११ मा १२ हजार ८ जना, माघ १२ मा आठ हजार ४५४ र माघ १३ मा आठ हजार १७ जनामा संक्रमा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्हरु नेपालमा कोरोना संक्रमित घट्दै जानुका मुख्यतः चार कारण औंल्याउँछन् ।

पहिलो– संक्रमितहरु परीक्षणको दायरामै नआउनु ।

दोस्रो– अधिकांश व्यक्तिहरु संक्रमित भइसक्नु ।

तेस्रो– संक्रमण उच्च विन्दुमा पुगेर ओरालो झर्नु ।

चौथो– एउटै भेरियन्टको व्यापकता र जनस्वास्थ्य मापदण्डको पालना ।

अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल काठमाडौं उपत्यकाजस्ता बढी जनघनत्व भएका शहरमा बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मानिस संक्रमित भइसकेको दावी गर्छन् । ‘ओमिक्रोन बढी संक्रामक भएकाले दुईहप्ताको बीचमा धेरै मानिस संक्रमित भइसकेका छन्,’ डा. दुलाल भन्छन्, ‘कम जटिलता उत्पन्न गराउने भएकाले धेरै मानिसहरु परीक्षण नै नगरी घरमै बसिरहेका छन् ।’

अहिले मौसमी रुघाखोकी लाग्ने समय भएको र ओमिक्रोन भेरियन्ट संक्रमणको लक्षण पनि मौसमी रुघाखोकीसँग मिल्दोजुल्दो भएका कारण धेरै मानिसले परीक्षण नै नगराएका उनी बताउँछन् । ‘कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशत संक्रमण पुष्टि हुनुले धेरै मानिसहरु संक्रमित भइसकेको देखाउँछ । घरमै बसेका धेरैले रुघाखोकी ठानेर परीक्षण पनि गरेका छैनन् । थोरै मानिसहरु मात्रै परीक्षणको दायरामा आएका छन्,’ डा. दुलाल भन्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले संक्रमित संख्या अहिले स्थिर रहेको तर्क गर्छन् । दुई हप्ता अगाडि लक्षण लिएर अस्पताल आउने संख्या उच्च रहेकामा हाल कम हुँदै गएको डा. पुन बताउँछन् ।

कतिपय संक्रमितले सूचीकृत प्रयोगशालाबाहेक अन्यत्र कोरोना परीक्षण गर्दा पनि त्यसको तथ्यांक सरकारी निकायमा पुगेको छैन । व्यक्तिगत रुपमा कोभिड–१९ परीक्षण गरेको रिपोर्ट सरकारी निकायलाई जानकारी नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सूचीकृत भएका प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किट प्रयोग गरेर भएको परीक्षणको मात्र स्वास्थ्य मन्त्रालयमा नतिजा पुग्छ ।

हिजोआज औषधि पसलमा पनि एन्टिजेन किट पाइने भएकाले धेरैले परीक्षण गरे पनि त्यसको नतिजा सरकारी निकायमा पुगेको छैन । त्यस्तै कतिपय घरमा सबै सदस्यलाई संक्रमण भए पनि एक जनाले मात्र परीक्षण गर्ने प्रचलन पनि देखिएको डा. पुन बताउँछन् ।

‘घरको एक सदस्यमा संक्रमण पुष्टि भएको खण्डमा अन्य व्यक्तिहरुले परीक्षण नै गरिएको पाइदैन’ डा. पुन भन्छन्, ‘संक्रमणको ट्रेन्ड हेर्दा अब यो भन्दा माथि ह्वात्तै बढ्ला जस्तो देखिँदैन ।’

माघ महिनामा कोरोना संक्रमण

गते परीक्षण (पीसीआर र एन्टिजेन) संक्रमित संक्रमणदर
माघ १ १४५५६ ४६३६ ३१.८५
माघ २ १५१३१ ४९७१ ३२.८५
माघ ३ १७४३५ ६७३४ ३८.५६
माघ ४ २२८२८ १०२५८ ४४.९४
माघ ५ २३४०९ ११३५२ ४८.४९
माघ ६ २७४९७ १२३३८ ४४.८७
माघ ७ २३०९२ १०७०३ ४६.३५
माघ ८ २०१८७ १०२५४ ३७.०६
माघ ९ १७४३७ ६४६२ ३७.०६
माघ १० २१२०१ १०३१९ ४८.६९
माघ ११ २५९०९ १२००८ ४६.६७
माघ १२ २०३५९ ८४५४ ४१.५२
माघ १३ २१८०८ ८०१७ ३६.७६
माघ १४ १९८६९ ६८२७ ३४.३६
माघ १५ १४५६२ ४९०४ ३३.६८
माघ १६ १३१४५ ३५४० २६.९३

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

गत वर्ष कोरोना महामारी फैलिँदा नेपालमा डेल्टा भेरियन्ट सक्रिय थियो र यसले धेरैको स्वास्थ्यमा जटिलता पनि ल्याएको थियो । डेल्टाको तुलनामा ओमिक्रोन बढी संक्रामक भएपनि जटिलता भने कम भएको पाइएको छ ।

‘ओमिक्रोनले बढी गम्भीर बनाएको पाइँदैन । दुई हप्ताबीचमा धेरै मानिस संक्रमित भएका छन् । ती मानिसहरु निको हुने क्रम बढिरहेको छ । जसले गर्दा पनि संक्रमणदर कम हुँदै गएको देखिन्छ,’ डा. पुन भन्छन् ।

ओमिक्रोन जति छिटो संक्रमण फैलिने क्षमता राखेको छ, त्यही गतिमा संक्रमणदर घट्दै जाने गरेको विभिन्न देशका तथ्यांकले देखाएका छन् । दक्षिण अफ्रिका, बेलायतलगायत राष्ट्रको अवस्थालाई हेर्दा पनि ओमिक्रोन एकदम छिटो गतिमा उत्कर्षमा पुग्ने र त्यति नै छिटो तल झरेको देखिन्छ ।

त्यसैगरी, एउटै भेरियन्ट मात्र सक्रिय रहेको बेलामा यस्तो ट्रेन्ड देखिने विज्ञहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा डेल्टा भेरियन्टलाई ओमिक्रोनले पुरै विस्थापित गरेको छ । ‘नेपालमा अहिले ओमिक्रोन भेरियन्ट नै घुमिरहेको छ । पहिला संक्रमण भएका वा खोप लगाएका व्यक्तिलाई संक्रमित बनाइसकेको छ । ओमिक्रोन एकदमै छिटो गतिमा उत्कर्षमा पुग्ने र त्यति नै छिटो तल झरेको देखिन्छ,’ डा. पुन भन्छन् ।
अहिलेको लहरमा नै संक्रमितको संख्या यो भन्दा उच्च हुने सम्भावना नरहेको इपिडिमियोलोजिष्ट डा. विराज कर्मचार्य आंकलन छ ।

‘अघिल्लो साता नेपालमा कोभिड संक्रमण उच्च बिन्दुमा पुग्यो अब क्रमशः ओरालो लाग्दै जान्छ । जोखिमयुक्त क्षेत्रमा संक्रमितको संख्या केही बढ्नसक्छ । तर, अहिलेजस्तो उच्च भने हुँदैन,’ डा. कर्माचार्य भन्छन्, ‘ओमिक्रोनको संक्रमण छोटो समयमा फैलिने र त्यही गतिले संक्रमण घटेको पाइन्छ ।’

जनस्वास्थ्यविद्का अनुसार संक्रमण बढेकाले हाल मानिसको चहलपहल केही कम भएका कारण पनि संक्रमितको संख्यामा स्थिर भएको हो ।

विद्यालय बन्द हुँदा तथा भीडभाड हुने क्षेत्रमा मानिसको मुभमेन्ट कम हुँदा संक्रमण चाँडै घटेको र केही हप्तामा नै संक्रमणदर ह्वात्तै तल झर्ने डा. कर्माचार्य अनुमान गर्छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी पनि पछिल्ला दिनमा संक्रमितको संख्या घट्नुले अवस्था सुधारोन्मुख रहेको देखाउने बताउँछन् । ‘मन्त्रालयले आंकलन अनुसार नै तथ्यांक सुधारोउन्मुख भएको छ । तर, यही तथ्यांकलाई संक्रमण घटिहालेको भन्न मिल्दैन,’ डा. अधिकारी भन्छन्, यही क्रम केही दिन रहेको खण्डमा सहज अवस्था आउँदै जानसक्छ । तर, नयाँ भेरियन्टको जोखिम कायम नै रहन्छ ।’

अझै दुई हप्ता ढुक्क हुन सकिन्न

स्वास्थ्य मन्त्रालयको तथ्यांकले दैनिक संक्रमित हुने संख्या घटेको देखाए पनि जटिल समस्या लिएर अस्पताल जाने बिरामीको संख्या घटेको छैन ।

आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमशः बढिरहेको अस्पतालहरुको तथ्यांकले देखाउँछ । पछिल्ला दिनमा कोरोना संक्रमणबाट हुने मृत्यु पनि बढेको छ । आइतबार मन्त्रालयले ३२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । यद्यपि यो केहीदिनयता मृत्यु हुनेहरुको एकमुष्ट संख्या हो ।

मन्त्रालयको तथ्यांक अनुसार, १ माघमा ८१ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत गिथए । दुई हप्ताको बीचमा त्यो संख्या बढेर आईसीयूमा २८६ र भेन्टिलेटरमा ४६ पुगेको छ ।

जनस्वास्थ्यविद्हरु संक्रमण घट्दै गएपनि अबको दुईहप्ता अस्पतालको चाप नघट्ने बताउँछन् । ‘संक्रमित भएकामध्ये दीर्घरोगी तथा खोप लगाएका मानिसहरु अस्पताल भर्ना भइरहेका छन्,’ संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘एक हप्ता अगाडिको संक्रमणको चापको असर अब विस्तारै देखिँदै जान्छ ।’
गम्भीर हुन सक्नेसमूहलाई संक्रमणबाट जोगाउन काम गर्नुपर्ने डा. अधिकारीको भनाइ छ ।

‘अन्य व्यक्तिलाई संक्रमण भएपनि गम्भीर हुने जोखिम कम छ । दीर्घरोगी र ज्येष्ठ नागरिकलाई ओमिक्रोनले बढी असर गर्छ । त्यसकारण अहिलेको सन्दर्भमा दीर्घरोगीलाई खोप तथा परीक्षणको दायरामा तत्काल ल्याउनुपर्छ,’ डा. अधिकारी भन्छन् ।

अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अझै दुई चारदिनको तथ्यांकलाई हेरेर मात्रै निष्कर्षमा पुग्ने सकिने तर्क राख्छन् ।

‘समुदायस्तरमा व्यापक संक्रमण फैलिएको हामीले देखिरहेकै छौं । धेरै मानिसले परीक्षण गराएका छैनन् । अहिलेकै तथ्यांकले घटिसकेको भन्न सकिँदैन,’ डा. सुवेदी भन्छन्, ‘सरकारी तथ्यांकमा परीक्षणको दायारा नआएपनि समुदाय संक्रमित मानिसको संख्या धेरै छ ।’

‘हामी संक्रमणको उच्च अवस्थामा पुगिसकेकाले अब अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या भने केही साता बढ्ने नै देखिन्छ । केही हप्ता हाम्रो लागि कठिन हुनसक्छ,’ डा. सुवेदी भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?