+
+

‘मधेशमा एउटा नयाँ शक्ति जन्मिन खोज्दैछ’

मधेशी समुदायमाथि राज्यले विभेद गरेको सत्य हो, तर त्यति मात्रै समस्या होइन । अरू समस्याबारे कोही बोलेनन् । ती पक्षहरूमा टेकेर मधेशमा नयाँ शक्ति जन्मिन खोज्दैछ ।

तुलानारायण साह, विश्लेषक तुलानारायण साह, विश्लेषक
२०७८ माघ १७ गते २०:५५

१७ माघ, काठमाडौं । सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका डा. सीके राउतले खोलेको जनमत पार्टीले पछिल्लो समय तराई–मधेशमा गतिविधि बढाएको छ । उसले जनता समाजवादी पार्टी (जसपा)का कार्यक्रममा अवरोधदेखि सडकमा लाठी–भाटा प्रदर्शनसम्म गर्न थालेको छ ।

राजनीतिक विश्लेषक तुलानारायण साह भने मधेशको राजनीतिमा राउत सामाजिक रुपान्तरणको मार्गचित्र सहित आएको बताउँछन् । मधेशकेन्द्रित दलहरूले सत्तामा पुगेपछि सामाजिक रुपान्तरणको एजेण्डा अघि सार्न नसकेको बताउँदै उनी भन्छन्, ‘यहींबाट सीके राउतको यात्रा शुरू हुन्छ ।’

यद्यपि, राउतले उठाउन खोजेका मुद्दाहरू मधेशमा ‘सेल’ हुन्छन् कि हुँदैनन् ? चुनावी राजनीतिमा उनको पार्टीको आकार कत्रो हुन्छ भन्ने अनुमान अहिल्यै गर्नु चाहिं हतार हुने उनी बताउँछन् । प्रस्तुत छ, विश्लेषक साहसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकाध ठाउँमा झडप वा तनावका घटना देखिएको छ । मधेशमा अहिले के भइरहेको छ ?

राजनीति जति ‘फ्रयाग्मेन्टेड’ हुन्छ, त्यति नै ‘र्‍याडिकल’ हुने सम्भावना हुन्छ । मधेशमा अहिले त्यही भएको हो । सानो ठाउँ, जनघनत्व बढी, पार्टीहरू धेरै, त्यसमा पनि पटक–पटक विभाजन, प्रतिस्पर्धा धेरै भएको ठाउँमा एउटा नयाँ पार्टी (जनमत) थपिएको छ । उसले पनि त्यही समाजमा ठाउँ बनाउनु छ । अरूभन्दा फरक देखिनलाई फरक मुद्दा र शैली अपनाएका हुन् कि !

हिजो कांग्रेस, एमाले र माओवादी हाम्रा होइनन् भनेर मधेशकेन्द्रित दलहरूप्रति आकर्षण बढ्यो । अहिले ती दल पनि हाम्रा लागि होइन रहेछन् भन्ने भएर सीके राउततिर आकर्षण बढेको भन्ने हो ?

मधेशीहरूले राज्यमा हिस्सेदारी खोज्ने आन्दोलनको इतिहास लामो रहे पनि अपनत्व महसूस गर्न थालेको हाल सालैदेखि हो । माओवादी जनयुद्ध र मधेश जनविद्रोहपछि नै यसमा व्यापकता आएको हो । यो दुइटा आन्दोलनहरूले समाज र राज्यमा व्यापक परिवर्तन ल्यायो ।

मधेशी समुदायमाथि राज्यले विभेद गरेको सत्य हो, तर त्यतिमात्रै समस्या होइन । अरू समस्याबारे कोही बोलेनन् । ती पक्षहरूमा टेकेर मधेशमा नयाँ शक्ति जन्मिन खोज्दैछ ।

माओवादी जनयुद्धले मधेशी समाजभित्रका वर्गीय, जातीय, लैंगिक सम्बन्धमा जबर्जस्त धक्का दियो । एउटा लाठी बोकेको प्रहरीलाई देखेपछि तर्सिने मधेशीहरूलाई माओवादी जनयुद्धले बन्दूक बोकेर प्रहरी चौकीमाथि आक्रमण गर्ने बनायो ।

त्यस्तै, मधेश विद्रोहले नेपाली राज्य, पहाडी समाज र मधेशी समाजबीचको सम्बन्धमा परिवर्तन ल्याइदियो । राज्यका संरचनाहरूमा थोरै भए पनि पुनर्संरचना भयो । संघीयता, आरक्षण, समानुपातिक निर्वाचन प्रणाली जस्ता कुराहरूले मधेशीहरूमा राज्यप्रतिको अपनत्वमा वृद्धि भयो । राज्यमा हिस्सेदारी खोज्ने क्रम बढयो ।

हिजो कांग्रेस, एमालेले जनआकांक्षा पूरा गर्न नसकेपछि माओवादी जनयुद्ध बलशाली भएको थियो । जनआकांक्षाको सवालमा माओवादी पनि कमजोर देखिएपछि मधेशमा फोरमको जन्म भयो । फोरमको पनि १०–१२ वर्ष परीक्षण भइसक्यो ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरूले मधेशी भएकै कारण हुने विभेद उजागर गरेर जनसमर्थन पाएका थिए । आम मानिसको व्यक्तिगत पीडाका पक्षहरू एजेण्डा बनेपछि मानिसहरू आन्दोलनमा जोडिन्छन् । नेतालाई पत्याउन थाल्छन् । त्यही कारण मधेश विद्रोह भएको थियो ।

आजको पुस्ता त्योभन्दा एक कदम अगाडि बढिसक्यो । २०६३ सालको दूधे बालक अहिले युवा वयमा पुग्न लाग्यो । उसलाई हिजो काठमाडौंमा वा पहाडको कुनै ठाउँमा कस्तो विभेद हुन्थ्यो भन्ने संस्मरण छैन वा कम छ । तर, पडाडी समाजभन्दा पछाडि परेको देख्दैछ । उसलाई आफ्नो समाजको रुपान्तरण चाहिएको छ । आफूलाई रोजगारी चाहिएको छ, जुन कुरा उपेन्द्रजी, महन्थजी वा राजेन्द्रजीको एजेण्डा बनेको छैन । उहाँहरूसँग सामाजिक रुपान्तरणको रोडम्याप छैन ।

महन्थ र राजेन्द्रजी त ३० वर्षदेखि सार्वजनिक जीवनमा हुनुहुन्छ । उपेन्द्रजी पनि १५ वर्षदेखि सार्वजनिक जीवनमा हुनुहुन्छ । उहाँहरू कति शुद्ध, कति अशुद्ध ? कति योग्य कति अयोग्य ? कति दिन सक्ने, कति नसक्ने ? सबैलाई थाहा भइसक्यो । अब उहाँहरूलाई सम्मान गर्न सक्छन्, तर अपेक्षा गर्दैनन् ।

उहाँहरूभन्दा सीके राउतको शैक्षिक पृष्ठभूमि, व्यक्तित्व, लगनशीलता र ‘त्याग’समेतको कारणले मधेशी समाजको एक तप्कामा नयाँ आशा जगाएको देख्न सकिन्छ । यसअघि विभेदविरुद्ध आन्दोलन गर्ने, निर्वाचन जित्ने र सत्तामा पुगेर राज्यको स्रोत दोहन मात्र गर्ने शैलीले भविष्यप्रतिको आशा खुम्चिंदै गएको थियो ।

काठमाडौंको सत्तासँग उठबस भएको बेला यादव, ठाकुर, महतोहरूको विद्रोही स्वर कमजोर हुन्छ । राउत त्यसै पनि चर्को बोल्ने मान्छे, त्यही स्वरका कारण उनलाई रुचाएको हो कि ?

उपेन्द्र, महन्थ र राजेन्द्रजीसँग संघीयता, आरक्षण, निर्वाचन चाहिन्छ । निर्वाचन प्रणालीमा सुधार, नागरिकताको समस्या समाधान हुनुपर्छ भन्ने एजेण्डाहरू थिए । त्यसलाई ‘सेल’ पनि गर्नुभयो, एकहदसम्म प्राप्त पनि गर्नुभयो । तीनवटा चुनावमा ‘क्यास’ गर्नुभयो । चुनाव जितेर स्रोतसाधन हातमा आएपछि सामाजिक रुपान्तरण गर्नुपर्ने थियो, तर उहाँहरूसँग त्यस्तो कुनै रोडम्याप नै देखिएन ।

बरु उहाँहरूको कार्यकर्तामा काँग्रेस–एमालेमा जस्तै अहंकार र दलाल प्रवृत्ति झागिंदै गयो । सिके राउतले यहींनेर राजनीतिक रुपान्तरणको उपलब्धिमा टेकेर सामाजिक रुपान्तरणको मुद्दा उठाएका छन् । कृषिमा आधारित समाजको दैनिक कष्टको मुद्दा उठाएका छन् । २०६९ सालमा राजनीतिमा आएका उनी केपी ओलीसँग सहमति गरेर शैली बदलेको दुई वर्षमा नेपाली राष्ट्रिय राजनीतिको केन्द्रकै सेरोफेरोमा छन् ।

तपाईंको मतलब, २०६४ सालको चुनावबाट उपेन्द्र यादव उदाए जस्तै आगामी निर्वाचनबाट सीके राउत मधेशमा एउटा शक्तिका रुपमा स्थापित हुँदैछन् भन्ने हो ?

अहिले नै त्यो भन्ने अवस्था छैन । तराई कांग्रेसदेखि फोरम, तमलोपा, सदभावनासम्मले राजनीतिक रुपान्तरणकै मुद्दा उठाए, तर समाजको आर्थिक–सामाजिक रुपान्तरणको राजनीति कसैले गरेनन् । उनीहरूसँग त्यो दृष्टिकोण नै भएन ।

मधेशी समुदायमाथि राज्यले विभेद गरेको सत्य हो, तर त्यति मात्रै समस्या होइन । अरू समस्याबारे कोही बोलेनन् । ती पक्षहरूमा टेकेर मधेशमा नयाँ शक्ति जन्मिन खोज्दैछ । त्यो नयाँ शक्तिले चुनाव जित्न अरू ‘फ्याक्टर’हरू महत्त्वपूर्ण हुन्छन् । २०६४ जस्तो आन्दोलनमय परिस्थिति अहिले छैन । सामान्य अवस्थामा नयाँ पार्टीले पहिलो चुनावमा आफ्नो परिचय स्थापित गराउँछ, दोस्रोमा अरूको लागि हाँक बन्छ र तेस्रो निर्वाचनमा जित्ने अवस्थामा पुग्छ ।

सीके राउत ४०–४२ वर्षका भए होलान्, अझै ३० वर्ष सक्रिय राजनीति गर्न सक्छन् । उनले अहिलेकै चुनावमा एकदम राम्रो ‘राइज’ गर्छन् भन्ने मलाई लाग्दैन । उनले पनि त्यस्तो सोचेको छैनन् होला । १५ वर्षयता मधेशमा उदाएको पुस्ताको प्रतिनिधित्व गर्न खोज्दैछन् उनी ।

रेमिट्यान्समा हुर्केको यो पुस्ता हिजोको भन्दा खुला समाजमा छ, जो फराकिलो सोचका साथ परिणाममा विश्वास गर्छ । केही नपाएर वा नसकेर राजनीतिमा लाग्ने, नेताको वरिपरि घुमिरहने र अन्ततः दलाली गर्न थाल्ने भन्दा आफूले गरिरहेको कामबाट परिबार चलाउने, समाजको रुपान्तरणका लागि राजनीति गर्ने तप्का राउतको साथमा रहेको अनुभूति हुन्छ ।

लाठी–भाटा बोकेर हिंड्ने, अरूलाई निषेध मार्फत भयको राजनीति गर्न खोजेको देखिन्छ नि ?

यसको सामाजिक–राजनीतिक कारण छ । समाजमा असन्तुष्टि छ । असन्तुष्टि नभएको भए समाज आन्दोलित हुनै सक्दैन । मधेशी समाज आन्दोलित समाज हो । मधेशी समाज ‘इमोसनल्ली चार्ज्ड’ छ । त्यसैले १० वर्षमा तीनवटा आन्दोलन भयो । त्यो ‘इमोसन’लाई सीके राउतले पनि ‘क्यास’ गर्न खोजेका छन् ।

जब राजनीति खण्डित हुन्छ र समाज ‘इमोसनल्ली चार्ज’ हुन्छ, सबै पार्टीका नेताहरू यो वा त्यो नाममा ‘र्‍याडिकल’ हुन बाध्य बन्छन् । नयाँ ‘फोर्स’ले त झन् र्‍याडिकल कुरा गर्छ । गरेन भने कसले पत्याउँछ र !

अर्को आर्थिक कारण छ । पछिल्लो पाँच वर्षमा प्रदेश र स्थानीय सरकारमा भएको बजेटको दुरुपयोगले निर्वाचित स्थानीय नेताहरूमा अहंकार र दवंगीपना बढाएको छ । उनीहरू कसैबाट डराउनै छाडेको देखिँदैछ । तपाइँ–मधेशका कुनै गाउँमा जानुस्, नेता हुन् कि कर्मचारी, एकै खालको उद्दण्डता देख्नुहुन्छ । उनीहरूमा भय पैदा गर्न भाटा बोकेर ज्ञापनपत्र दिने बाटो सीके राउतले पक्रिएको जस्तो लाग्छ ।

त्यसो भए, राउतले सामाजिक रुपान्तरणको मुद्दा उठाएर ढिलोचाँडो मधेशमा जसपा र लोसपाको स्थान लिन्छन् ?

मधेश आन्दोलनमै पनि ‘गियर चेन्ज’ जरुरी थियो । हिजो विभेदविरुद्ध विद्रोह र राजनीतिक रुपान्तरणका लागि आन्दोलन जरुरी थियो । त्यो गर्नुभयो, तर सत्तामा आएपछि एजेण्डामा ‘गियर चेन्ज’ जरुरी छ ।

जातीय समस्या छ, लैंगिक समस्या छ । शिक्षा र कृषिको सम्बन्धमा समस्या छ । यी समाजिक–आर्थिक सवाल कुनै पार्टीले बोकेनन् । यसलाई सीके राउतले क्यास गर्न खोज्दैछन् । यो उनको नयाँपन हो । यो फर्मुलाले काम गर्‍यो भने उनी मधेशमा नयाँ फोर्स बन्न सक्छन् ।

अर्को चुनावमा उपेन्द्रजी यही रुपमा रहनुहुन्छ जस्तो लाग्दैन । स्थानीय तहमा गठबन्धन नगर्दा २५ वटा मेयर जितेको थियो । तत्कालीन राजपासँग गठबन्धन गर्दा प्रदेशमा ३० र प्रतिनिधिसभामा १६ वटा सिट जित्यो । अब इलेक्ट्रोरल प्रतिस्पर्धा बेग्लै हुनेभयो । त्यस हिसाबले हेर्दा जसपा होस् वा लोसपा, प्रतिनिधिसभामा १० सिट जिते भने त्यो धेरै हुन्छ ।

उपेन्द्र यादव मधेशमा सीके राउत र केन्द्रमा डा. बाबुराम भट्टराईहरूको दोहोरो मारमा पर्ने देखिन्छन् नि ?

डा. भट्टराईहरूबाट खासै मारमा हुनुहुन्छ जस्तो लाग्दैन । अहिले भट्टराईका मानिसहरूले दुइटा प्रश्न उठाएका छन्– एउटा, मन्त्रिपरिषदमा नाम पठाउँदा एकलौटी गरियो र अर्को, यो पार्टीलाई समावेशी बनाउन खस आर्य र जनजातिलाई पनि राख्नुपर्छ ।

पहिलो कुरा, उपेन्द्रजीले मन्त्रिपरिषद्‍मा ज–जसलाई पठाउनुभयो, मलाई लाग्छ त्यो सही थियो । किनभने उहाँले कुन सन्दर्भमा नाम पठाउनुभयो भन्ने हेर्नुपर्छ । एउटा सन्दर्भ के थियो भने उहाँको समाजवादी पार्टीको एउटा ठूलो समूह विद्रोहमा उत्रिएको थियो, जसको नेतृत्व रेणु यादवले गर्नुभएको थियो । त्यसलाई टेकेर केपी ओलीले पार्टी विभाजन गर्नुभएको थियो । त्यो असन्तुष्ट समूहलाई उहाँले सम्बोधन गर्नुपर्ने थियो । रेणु महिला पनि भएकाले उहाँ उपयुक्त पात्र हुनुभयो ।

अर्को, राजपाको एउटा समूहले पार्टीको आधिकारिकता विवादमा उपेन्द्रजीलाई साथ दिएको थियो । त्यसबाट पनि कसैलाई पठाउनुपर्थ्यो । त्यसमा महेन्द्र राय यादव सबभन्दा सिनियर हुनुभयो । त्यसरी उपन्द्रजीले सर्लाहीमा महन्थ ठाकुर र राजेन्द्र महतोको बीचमा राजनीति पनि गर्नुभएको छ ।

तेस्रो, पार्टीलाई जनजाति आधार क्षेत्रमा विस्तार गर्नुपर्छ भनेर अशोक राई समूहसँग एकता गर्नुभएको थियो । त्यो खेमाबाट काठमाडौंका राजेन्द्र श्रेष्ठलाई पठाउनुभयो । उपेन्द्रजी लेखपढको सवालमा श्रेष्ठमाथि निर्भर पनि हुनुहुन्छ । त्यस हिसाबले पनि त्यो नराम्रो भएन ।

चौथो, चुनावमा राम्रो मत पाएको बारा, पर्सा र रौतहटबाट एकजनालाई पठाउनुपर्ने थियो । त्यसमा प्रदीप यादवलाई छाडेर रामसहायप्रसाद यादवलाई छनोट गर्नुभयो, जो लामो समयदेखि उहाँसँग हुनुहुन्छ । उपेन्द्रजीसँग जे–जे विकल्पहरू थियो, त्यसमा उहाँको छनोट उपयुक्त लाग्छ ।

पार्टीमा एकलौटी गर्‍यो भन्ने आरोप लगाउनेहरूले सबभन्दा पहिला उपेन्द्रजीको ‘पोलिटिकल मेट्रिक्स’ बुझ्नुपर्छ । उहाँले कसैलाई खुसामद गरेर मेरो पार्टीमा आइदेऊ, तिमी ठूलो नेता हो, विद्वान हो भनेर भनेको छैन । कोही मिल्न आयो भने नाइँनास्ति पनि गर्नुभएको छैन ।

दोस्रो, प्रदेश संरचना बनेपछि उपेन्द्रजीले राम्रोसँग के बुझ्नुभएको छ भने अब मेरो पार्टीको जनाधार मधेश प्रदेश हो । त्यसैले विराटनगरबाट सप्तरी आउनुभयो । अब प्रदेश–१ र लुम्बिनी उहाँको दोस्रो, तेस्रो प्राथमिकतामा मात्र पर्छ ।

तेस्रो, उपेन्द्रजी कमिटीमा बहुमत र कार्यकारी शक्तिमा कुनै सम्झौता गर्नुहुन्न भन्नेमा प्रष्ट हुनुहुन्छ । मधेशी जनअधिकार फोरमदेखि आजसम्म उहाँ प्रष्ट हुनुहुन्छ – यसमा कुनै सम्झौता हुन्न । उहाँ सहअध्यक्ष दिनसक्नुहुन्छ, वरिष्ठ नेता दिनसक्नुहुन्छ, संघीय परिषद् अध्यक्ष दिन सक्नुहुन्छ, तर कार्यकारी अधिकारमा कुनै सम्झौता गर्नुहुन्न ।

उपेन्द्रजीलाई के पनि थाहा छ भने नेपालमा खसआर्य समुदायले आगामी २० वर्षसम्म पनि मधेशीलाई नेता मान्दैन । बाहुन क्षेत्रीले भोट दिइहाल्छन् र यो पार्टी राष्ट्रिय पार्टी बनिहाल्छ भन्नेमा उहाँलाई शंका छ ।

डा. भट्टराईले पहिला मानका खातिर संघीय परिषद् अध्यक्ष माग्नुभयो । उहाँका लागि विधान संशोधन गरेर त्यो व्यवस्था गरियो । अहिले कार्यकारी अध्यक्षमा दाबी गर्नुभएको छ, जुन उपेन्द्रजीले दिनुहुन्छ जस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने जसपाभित्र उपेन्द्रजी होइन, यो विवाद उठाउने समूह चाहिं समस्यामा पर्नसक्छ ।

मधेश प्रदेशमा बाहिरबाट कांग्रेस, भित्रबाट जसपाको दबाव हुने, पार्टी भित्रकै गैरमधेशी नेताहरूको विश्वास नजित्ने हो भने त उपेन्द्रजी झन् संकटमा पर्नु होला नि ?

ठीक हो । इलेक्ट्रोरल पोलिटिक्समा कांग्रेसको पावर पोलिटिक्सले रोल गर्छ, जनमत पार्टीको र्‍याडिकल पोलिटक्सले पनि रोल गर्छ । त्यसैले उपेन्द्रजीको कल्पनामा धेरै ठूलो पार्टीको नेता हुने पनि छैन जस्तो लाग्छ ।

सीमान्तकृत राजनीति गर्नेहरूका आफ्नै सुखदुःख पनि हुन्छन् । नेपालमा सीमान्तकृतहरूको जुन आन्दोलन अगाडि बढेको छ, यो दुनियाँमा नौलो होइन । त्यही भारतमा अगाडा र पिछडाका नाममा अनेक राजनीति भएका छन् । मधेशको राजनीतिलाई तपाईं उत्तरप्रदेश र बिहारको राजनीतिभन्दा धेरै पर लगेर हेर्न सक्नुहुन्न ।

त्यसैले, उपेन्द्रजीको कल्पनामा पार्टी ठूलो होस् वा सानो कार्यकारी शक्ति आफूमा निहित हुनुपर्छ । ५–१० सिट जितेर केन्द्रीय सत्तामा ‘एडजस्ट’ भइराख्नुपर्छ । त्यसभन्दा बाहेक सोच छ जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?