
काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआर मार्फत सेवा प्रयोग गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताए । सापकोटाले खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ बिनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताए । उनले फोन पेसँगको यो सहकार्य नयाँ यात्राको शुरुआत भएकाले फोन पेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने बताए । खड्काले फोन पेसँगको सम्झौता पछि खल्तीका २० लाख ग्राहकहरुले फोनपेको क्युआर मार्फत भुक्तानी गर्न पाउने बताए ।
प्रतिक्रिया 4