News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमई खल्तीका प्रयोगकर्ताले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ।
- खल्तीमार्फत १०० रूपैयाँभन्दा बढीको डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा समावेश हुनेछन्।
- दैनिक विजेताले कर कट्टीपछि १ लाख तथा प्रत्येक १५ दिनमा एक बम्पर विजेताले १० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
२१ साउन, काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आईएमई खल्ती लिमिटेड (खल्ती) का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने भएका छन्।
खल्तीले आफ्ना प्रयोगकर्ताका लागि उक्त कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाएको जनाएको छ। यसअन्तर्गत खल्तीमार्फत १०० वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा समावेश हुनेछन्।
कार्यक्रमअनुसार हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख प्राप्त गर्नेछन् भने हरेक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख पुरस्कार पाउनेछन्।
खल्तीका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्नेछ। त्यसपछि उपहार कुपन स्वतः सिर्जना हुनेछ, जसलाई प्रयोगकर्ताले खल्ती एपबाट नै हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। विजेतालाई मोबाइल र इमेलमार्फत जानकारी गराइनेछ भने खल्तीमार्फत सहभागी भएका विजेतालाई कम्पनीले पनि आफ्नै माध्यमबाट सूचना उपलब्ध गराउने जनाएको छ।
खल्तीका अनुसार सरकारको यस अभियानमा सहकार्य गर्दै बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्ने, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउने तथा कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। यसले औपचारिक अर्थतन्त्रको विस्तार र राष्ट्रिय राजस्व प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आईएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाउँदा उत्साहित रहेको बताए।
प्रतिक्रिया 4