
१८ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन् । आलेले मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकमा यस्तो जानकारी गराएको एक सञ्चालक समिति सदस्यले बताए ।
उड्डयन प्राधिकरण अन्तरगत राष्ट्रिय गौरबको आयोजना निर्देशकमा रुपमा रहेका अधिकारी नियुक्तिबारे मन्त्रिपरिषद्को मंगलबार सार्वजनिक भएको निर्णयहरूमा भने उल्लेख छैन । एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा यसबारे प्रस्ताव नै आएको थिएन । आलेले के आधारमा अधिकारी महानिर्देशक नियुक्त भएको बताएका हुन् भन्ने स्पष्ट छैन ।
महानिर्देशक बनेका भनिएका चितवन स्थायी ठेगाना भएका अधिकारी ४२ वर्षका छन् । उनी २०६४ सालमा प्राधिकरणमा सातौं तहमा इन्जिनियरका रुपमा सेवा प्रवेश गरेका थिए । २०७४ सालमा आठौं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्न सफल भएका थिए ।
यसअघि राजकुमार क्षेत्री महानिर्देशक नियुक्त हुँदा उनी पनि दावेदारका रुपमा थिए । हाल ११ औं तहका अधिकारी महानिर्देशक बन्दा प्राधिकरणका १२औं तहमा ६ जना उपहमानिर्देशकहरु छन् । अब अधिकारी नै महानिर्देशक बनेको मन्त्री आलले सञ्चालक समिति बैठकमा जानकारी दिएका छन् ।
यो प्राधिकरणको इतिहासमा पहिलोपटक वरिष्ठता मिचेर दिएको नियुक्ति हुनेछ ।
प्रतिक्रिया 4