+
+

ओमिक्रोन महाव्याधि : विश्व र नेपालमा यसको प्रभाव

डा. प्रवीण श्रेष्ठ डा. प्रवीण श्रेष्ठ
२०७८ माघ २० गते १२:५०

ओमिक्रोन भेरिएन्ट हालसम्म भेटिएका कोरोनाभाइरसका विभिन्न भेरिएन्टमध्ये सबैभन्दा छिटो र व्यापक सर्ने जीवाणु हो भन्ने कुरा स्पष्ट भइसकेको छ । ओमिक्रोन पत्ता लागेको दुई महीना नाघिसकेको छ र अझै पनि डब्ल्यूएचओ, सीडीसी लगायत धेरै सम्बन्धित निकायले यसको बारेमा अझै प्रशस्त ज्ञान र अनुभव नभइसकेको जनाउँदै आएका छन्। तर पनि यसका बारेमा केही तथ्य विस्तारै हाम्रोसामु आइरहेका छन्। ओमिक्रोन भेरिएन्ट हाल अमेरिका, युरोप र एशियामा व्यापक फैलिसकेको छ ।

सन् २०२१ नोभेम्बर २४ का दिन कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखियो भनी दक्षिण अफ्रिकाले डब्ल्युएचओलाई सूचित गरेको थियो। उक्त नयाँ भेरिएन्ट नोभेम्बर ११ मा बोच्वानामा र नोभेम्बर १४ मा दक्षिण अफ्रिकामा संकलन गरिएका स्वाब नमूनामा भेटिएका थिए। नोभेम्बर २५ मा बेलायतको स्वास्थ्य सुरक्षा निकायले नयाँ भेरिएन्टलाई बी.१.२.५२९ कोडिङ गरी भेरिएन्ट अन्डर मनिटरिङ घोषित गर्‍यो।

नोभेम्बर २६ मा विश्व स्वास्थ्य संगठनले उक्त नयाँ भेरिएन्टलाई ओमिक्रोन (बी.१.१.५२०) नामकरण गर्‍यो र भेरिएन्ट अफ कन्सर्न घोषित गर्‍यो। नोभेम्बर ३० मा अमेरिकाले पनि उक्त भेरिएन्टलाई भेरिएन्ट अफ कन्सर्न घोषित गर्‍यो।

ओमिक्रोन शब्दको कुनै विशेष अर्थ छैन तर यो एक ग्रीक अक्षर हो। विभिन्न जीवाणुहरूको नामकरण गर्दा वैज्ञानिक कोडिङ बाहेक जनसाधारणले सजिलै चिन्न सकोस् भनी अर्को नाम पनि राख्ने गरिन्छ। तर कहिलेकाहीं यस्ता नामहरूले केही अन्योल सिर्जना गरिदिन्छ। जस्तै, आजभन्दा एक शताब्दी अघि देखिएको प्यान्डेमिकको नाम स्प्यानिश फ्लू राखियो। झट्ट सुन्दा सो प्यान्डेमिक स्पेन देशबाट शुरु भएको हो कि भन्ने शंका सबैलाई लाग्दछ ।

वास्तवमा सो प्यान्डेमिक अमेरिकाबाट शुरु भई अमेरिकन आर्मीद्वारा युरोपमा फैलिएको थियो। तर उक्त जीवाणुको बारेमा विस्तृत अनुसन्धान गरी सोको जानकारी स्पेनले पत्ता लगाएको हुनाले सो जीवाणु र प्यान्डेमिकको नाम स्प्यानिश फ्लू राखियो। यसले केही अन्योल सृजना गरिदियो। यस्ता उदाहरण अनगिन्ती छन्।

त्यसैले त्यस्तो अन्योल नहोस् भनी विश्व स्वास्थ्य संगठनले अहिले ग्रीक अक्षरको प्रयोग गरी जीवाणुहरूको नामकरण गर्ने गरेको छ। उदाहरणका लागि अल्फा, बिटा, डेल्टा आदि कोरोना भेरिएन्टहरू ग्रीक अक्षर हुन् भने ओमिक्रोन ग्रीक वर्णमालाको पन्ध्रौं अक्षर हो।

हाल ओमिक्रोन अफ्रिका लगायत युरोप, उत्तर तथा दक्षिण अमेरिका, एशिया र अस्ट्रेलिया गरी सबै महादेशहरूमा फैलिसकेको छ। आवर वर्ल्ड इन डाटाले हालै निकालेको तथ्यांक अनुसार पछिल्लो समय विश्वका धेरै देशहरूमा ओमिक्रोन फैलिसकेको छ जस अनुसार जापान र सेनेगलमा १०० प्रतिशत, बेलायत, दक्षिण अफ्रिका र बोचवानामा ९९ प्रतिशत, अमेरिकामा ९८ प्रतिशत, अस्ट्रेलियामा ९७ प्रतिशत, इन्डोनेसियामा ९६ प्रतिशत, भारत, पाकिस्तान, बंगलादेश, स्पेन, कोलम्बिया आदि देशहरूमा ९४ प्रतिशत, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड , फ्रान्स, नर्वे , इटाली, क्यानाडा, मेक्सिको आदि देशहरूमा ९०-९२ प्रतिशत ओमिक्रोन संक्रमण देखिएको छ। त्यस्तै श्रीलंकामा ८७ प्रतिशत, माल्दिभ्समा ५६ प्रतिशत भेटिएको छ भने नेपालको स्पष्ट तथ्यांक नभेटिएको कुरा उल्लेख छ। माथि उल्लिखित बाहेक एशिया, युरोप र दक्षिण अमेरिकाका थुप्रै देशमा पनि ओमिक्रोन देखापरेको छ।

वर्तमान ओमिक्रोन लहर पछिल्लो समय दैनिक संक्रमण संख्या र संक्रमण दरको हिसाबले स्थिर अवस्था अथवा प्लेटु फेजमा पुगेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। तर दैनिक मृत्युमा केही वृद्धि देखिनु कोरोना जोखिमको सूचक हुन सक्दछ।

हालसम्म अमेरिकाले कोरोनाको जम्मा दुई वटा भेरिएन्टलाई मात्रै भेरिएन्ट अफ कन्सर्नमा सूचीकरण गरेको छ- डेल्टा र ओमिक्रोन । ओमिक्रोनको कुरा गर्दा हालसम्मको अध्ययनले ओमिक्रोन भेरिएन्ट डेल्टा या अन्य भेरिएन्टभन्दा लक्षण, रोगको कडापन र उपचारको नतिजाको हिसाबले विशेष रूपले भिन्न छ भन्ने पुष्टि भएको छैन ।

हालसम्मको अध्ययनले हाल विश्वमा उपलब्ध कोरोना भ्याक्सिन ओमिक्रोनको विरुद्ध पनि प्रभावकारी हुने देखिएको छ र हाल प्रयोग भइराखेका उपचारका सामग्री, औषधि र विधि नै ओमिक्रोनको उपचारको लागि उपयुक्त देखिएका छन् ।

त्यस्तै हाल प्रयोग भइराखेको कोरोना संक्रमण पत्ता लगाउने विधि, पीसीआरबाट नै ओमिक्रोन पनि पत्ता लगाउन सकिने कुरा पनि हालसम्मको अध्ययनले देखाएको छ। त्यस्तै हालसम्मको प्रारम्भिक अध्ययनले पहिला कुनै अन्य कोरोना भेरिएन्टले संक्रमण भइसकेको व्यक्तिलाई ओमिक्रोनको पुनः संक्रमण हुनसक्ने सम्भावना धेरै भएको देखाएको छ। ओमिक्रोनले अन्य उमेर समूहभन्दा नवजवान युवाहरूलाई बढी संक्रमण हुनसक्ने देखिएको छ तर त्यस्ता संक्रमण कडा नभई हलुका लक्षणको हुने देखिएको छ।

माथि उल्लेख गरिए जस्तै विश्वमा हाल देखिएको ओमिक्रोनको पछिल्लो लहरमा दैनिक कोरोना संक्रमण संख्या ३७ लाखभन्दा धेरै भएको छ जुन अघिल्लो लहरहरूमा अधिकतम ९ लाख जति मात्रै पुगेको थियो। त्यति मात्रै नभई सबैजसो भूभागहरूमा पछिल्लो लहर हालसम्मकै सबैभन्दा ठूलो लहरको रूपमा देखिएको छ । तीमध्ये सबैभन्दा धेरै प्रभावित क्षेत्रहरू अमेरिका, युरोप र अष्ट्रेलिया रहे। त्यसको अनुपातमा हाल विश्वको दैनिक कोरोना मृत्यु करीब ११ हजार मात्रै पुगेको छ जुन अघिल्ला लहरहरूमा अधिकतम साढे १७ हजारसम्म पुगेको थियो।

यसरी ओमिक्रोनले पछिल्लो समय विश्वलाई आतंकित गर्ने क्रममा दक्षिणएशिया र नेपाललाई पनि छोडेको छैन। दक्षिणएशियाको पछिल्लो प्रवृत्ति चित्र नं. १ मा देखाइएको छ जसले पछिल्लो समय २०२१ डिसेम्बरको अन्तिम सातादेखि २०२२ जनवरीसम्म जम्मा ४१ दिनको दैनिक नयाँ कोरोना संक्रमण र मृत्यु देखाएको छ।

दक्षिणएशियामा डिसेम्बरको अन्त्यसम्म दैनिक नयाँ संक्रमण अति न्यून थियो भने जनवरीको शुरुआतदेखि तीव्र वृद्धि हुँदै गई अन्तिम सातातिरबाट फेरि विस्तारै घट्दै गएको देखिन्छ। तसर्थ फेब्रुअरीमा दक्षिणएशियाको वर्तमान लहर क्रमशः घट्दै जाने अनुमान लगाउन सकिन्छ। तर त्यसको विपरीत दक्षिणएशियामा पछिल्लो समय कोरोना मृत्यु भने बढ्दै गएको देखिन्छ जसले ओमिक्रोन डेल्टाको दाँजोमा केही नरम भएतापनि कोरोनाको आतंक कायमै छ भन्ने देखाउँछ।

स्मरण रहोस् २०२१को मे महीनामा डेल्टा लहर आएको बेला दक्षिणएशियामा मात्रै हालसम्मकै सबैभन्दा उच्च दैनिक संक्रमण ४ लाख ३६ हजारभन्दा धेरै पुगेको थियो भने मृत्यु त्यसै लहरको बेला एकै दिन ६ हजार ६०० भन्दा धेरै भएको थियो।

त्यस्तै नेपालको पछिल्लो प्रवृत्ति चित्र नं. २ मा देखाइएको छ। यसले पछिल्लो समय २०२१ डिसेम्बरको अन्तिम सातादेखि २०२२ जनवरीसम्म जम्मा ४१ दिनको दैनिक पीसीआर परीक्षण र संक्रमण दर (पोजिटिभिटी) देखाएको छ।

नेपालमा पनि डिसेम्बरको अन्त्यसम्म दैनिक परीक्षणको तुलनामा संक्रमण दर अति न्यून थियो भने जनवरीको शुरुआतदेखि संक्रमण दर पनि तीव्र वृद्धि हुँदै गई अन्तिम सातातिरबाट फेरि विस्तारै घट्दै गएको देखिन्छ ।

तसर्थ नेपालमा पनि फेब्रुअरीमा वर्तमान लहर क्रमश: घट्दै जाने अनुमान लगाउन सकिन्छ। चित्रमा देखाइए जस्तै नेपालको कोरोना प्यान्डेमिकको इतिहासमा सबैभन्दा उच्च संक्रमण दर यही जनवरी २२ का दिन ५६.७८ प्रतिशतसम्म पुगेको थियो। यसभन्दा अघि २०२१ को मे महीना अर्थात् २०७८ वैशाख महीनामा संक्रमण दर ५०.३६ प्रतिशतसम्म पुगेको थियो।

त्यस्तै पछिल्लो ओमिक्रोन लहरको बेला दैनिक नयाँ संक्रमण र मृत्युको हिसाबले २०२१ डिसेम्बरमा शान्त रहेको नेपाल २०२२ जनवरीको दोस्रो सातादेखि तीव्र बन्दै गयो। नेपालको पछिल्लो प्रवृत्ति चित्र नं.३ मा देखाइएको छ। यसले पछिल्लो समय २०२१ डिसेम्बरको अन्तिम सातादेखि २०२२ जनवरीसम्म जम्मा ४१ दिनको दैनिक नयाँ कोरोना संक्रमण र मृत्यु देखाएको छ।

नेपालमा डिसेम्बरको अन्त्यसम्म दैनिक नयाँ संक्रमण अति न्यून थियो भने जनवरीको दोस्रो सातादेखि तीव्र वृद्धि हुँदै गई जनवरीको अन्तिम सातातिरबाट फेरि विस्तारै घट्दै गएको देखिन्छ। तर त्यतिबेला दैनिक परीक्षण पनि केही कम गरिंदै लागिएको थियो।

परीक्षण कम गरेपछि दैनिक संक्रमण संख्या र संक्रमण दर पनि कम हुनु स्वाभाविकै थियो। नेपालको कोरोना प्यान्डेमिकको इतिहासमा सबैभन्दा उच्च दैनिक संक्रमण यही जनवरी २० का दिन १० हजार ५२ सम्म पुगेको थियो। यसभन्दा अघि २०२१ को मे महीना अर्थात् २०७८ वैशाख महीनामा दैनिक संक्रमण ९ हजार ४८३ सम्म पुगेको थियो। तर त्यसको विपरीत पछिल्लो समय नेपालमा पनि कोरोना मृत्यु भने चित्रमा देखाइए जस्तै बढ्दै गएको देखिन्छ।

स्मरणरहोस्, २०२१ को मे महीनामा डेल्टा लहर आएको बेला नेपालमा हालसम्मकै सबैभन्दा उच्च दैनिक मृत्यु एकै दिन २४६ भएको थियो भने हाल एकै दिन अधिकतम ३२ पुगेको छ।

संक्षेपमा, वर्तमान ओमिक्रोन लहर पछिल्लो समय दैनिक संक्रमण संख्या र संक्रमण दरको हिसाबले स्थिर अवस्था अथवा प्लेटु फेजमा पुगेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। तर दैनिक मृत्युमा केही वृद्धि देखिनु कोरोना जोखिमको सूचक हुन सक्दछ। प्रशस्त परीक्षण गरी लुकेर बसेका संक्रमित पत्ता लगाई यथासम्भव सावधानी अपनाउनु नै बुद्धिमत्तापूर्ण कुरा हुनेछ।

(लेखक कन्सल्टेन्ट न्यूरोसर्जन हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?