+
+

परम्परा मिच्दै पर्यटनमन्त्रीले उड्डयन प्राधिकरणमा ल्याए महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते २१:३८

२० माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा वरिष्ठताका आधारमा महानिर्देशक बन्ने परम्परा तोडिएको छ । निर्देशक तहबाट एकैपटक प्रदीप अधिकारी संस्थाको नेतृत्वमा पुगेका छन् ।

प्राधिकरणमा सेवा थालेको १४ वर्षमै अधिकारीले सबैभन्दा माथिल्लो पदमा बाजी मारेका छन् । हाल ४२ वर्षका अधिकारी यसअघि खुला प्रतिस्पर्धाबाट आठौं तहबाट ११ औं तहमा नाम निकालेका थिए ।  उनी २०६४ सालमा सातौं तहको इन्जिनियरका रुपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्राधिकरणका उपमहानिर्देशकहरुलाई पन्छाएर अधिकारीलाई महानिर्देशक पदमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगेका थिए । अधिकारीभन्दा माथिल्लो तह (१२ औं)मा रहेका आधा दर्जन आकांक्षीलाई उछिन्दै महानिर्देशक बनेका अधिकारीले बिहीबार पदभार ग्रण गरेका छन् ।

 यो नियुक्तिले भविष्यमा राजनीति नगर्ने र नेताको घर-घरमा नपुग्ने वरिष्ठ, स्वच्छ छवीयुक्त, व्यवसायिक तथा योग्य व्यक्तिले संस्थाको महानिर्देशक बन्न नसक्ने अवस्था बनाइदिएको छ

प्राधिकरणमा यसअघि महानिर्देशक बनाउँदा वरिष्ठता मिचिएको थिएन । तर, कानूनले बाध्यकारी नगरेकाले मन्त्री आलले यसपटक अधिकारीलाई परम्परा तोडेरै महानिर्देशक बनाए ।

वरिष्ठता मिचेर नियुक्ति दिने कार्यले भविष्यमा संस्थाभित्र अस्थिरता र विवाद निम्तिने जोखिम बनाएको एक पूर्वमहानिर्देशक बताउँछन् । ‘कानुनले संस्थाभित्रका व्यक्तिलाई महानिर्देशकमा नियुक्त गर्न रोक्दैन, तर यसले भविष्यमा राजनीति नगर्ने र नेताको घर-घरमा नपुग्ने वरिष्ठ, स्वच्छ छवीयुक्त, व्यवसायिक तथा योग्य व्यक्तिले संस्थाको महानिर्देशक बन्न नसक्ने अवस्था बनाइदिएको छ,’ ती पूर्व महानिर्देशकले भने, ‘यो कोही मर्यो भन्दा पनि काल पल्किने चिन्ता भयो भन्ने उखान जस्तै हो ।’ यसले संस्थाभित्र राजनीतिले बढी प्रश्रय पाउने र संस्थाभित्र काम गर्नेभन्दा बढी नेताको दैलो चाहार्ने प्रवृत्ति बढाउने उनको चिन्ता छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ मा नेपाल सरकारको सेवा वा प्राधिकरणको सेवामा वहाल रहेका कुनै पनि कर्मचारीलाई महानिर्देशक पदमा नियुक्त गर्नसक्ने उल्लेख छ ।  महानिर्देशकको पदावधि चार वर्षको हुने र नेपाल सरकारले चाहेमा उनलाई पुनः नियुक्ति दिन सक्ने प्रावधान छ ।

तर,  परम्परा भत्किएकाले अब संस्थामा वरिष्ठताको कुनै मूल्य नहुने हो कि भन्ने चिन्ता प्राधिकरणभित्रै पनि छ । बिहीबार सथपग्रहण समारोहमा भने उपमहानिर्देशकहरुले नवनियुक्त महानिर्देशक अधिकारीलाई चुनौती र अवसर देखाएर समर्थन गरे । केहीले अब पूर्ण कार्यकाल काम गर्ने गरी महानिर्देशक आएकोले संस्थाले स्थायी नेतृत्व पाएको समेत बताए ।

अधिकारी यसअघिका महानिर्देशक राजकुमार क्षेत्री महानिर्देशक बन्नु अगाडि नै महानिर्देशकको होडमा थिए । त्यसबेला भने मन्त्री आलेले वरिष्ठताकै आधारमा क्षेत्रीलाई महानिर्देशक बनाएका थिए । क्षेत्री महानिर्देशक बनेपछि मन्त्रीसँग अधिकारीको सम्बन्ध चिसिएको थियो ।

कार्यकाल पूरा हुँदा पनि  क्षेत्री आफूले चार वर्ष काम गर्न पाउनुपर्ने भन्दै सर्वोच्च गएका थिए । नयाँ महानिर्देशक नियुक्तिपछि उनको मुद्दा निष्प्रभावी हुने महान्यायाधीवक्ताको रायका आधारमा पर्यटनमन्त्री आलेले प्राधिकरणमा अधिकारीलाई नेतृत्वमा ल्याएको स्रोतको भनाइ छ ।

नवनियुक्त महानिर्देशक अधिकारीमाथि सीमित ठेकदार कम्पनीसँग निकट रहेर काम गर्ने गरेको र  मिलेमतो गरेर उनीहरुलाई ठेक्का दिने गरेको आरोप लाग्ने गरेको छ

सिनियरले के भने ? 

अधिकारीको नियुक्तिमा उनका सिनियरहरुले खुलेर विारेध गरेका छैनन् । उनीहरुले नयाँ महानिर्देशकसँग हातेमालो गर्दै अगाडि बढ्ने भन्दै उनको कार्यकालमा संस्थाले आफ्नो छवि अझ उज्जवल बनाउने विश्वास व्यक्त गरेका छन् । तर, उनीहरुले खबरदारी भने गरेका छन् ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक भोला गुरागाईले भने, ‘चूनौतीको चाङमा तपाईं महानिर्देशक बन्नु भएको छ, यसलाई चिर्न सफल हुनुहोस् ।’

अधिकारी नियुक्त हुनुअघि निमित्त महानिर्देशक बनेका प्रेमनाथ ठाकुरले संस्थाले स्थायी खालको नेतृत्व पाएको र पूर्ण साथ र सहयोग हुने बताएका छन् । ‘संस्थालाई नमूना र उत्कृष्ट बनाउनु होला,’उनले भने ।

अर्का उपमहानिर्देशक देवचन्द्रलाल कर्णले नेतृत्वलाई शतप्रतिशत सहयोग गर्ने प्राधिकरणको परम्परा भएको भन्दै त्यसलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अर्का उपमहानिर्देशक हंशराज पाण्डेले सबै कर्मचारीबाट साथ र सहयोग पाउने भन्दै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कर्मचारी यूनियनहरुले समेत अधिकारीको नियुक्तिबाट संस्थाले लामो अवधिदेखिको गतिरोध तोड्ने विश्वास व्यक्त गरे । ‘युवा नेतृत्वबाट संस्थाले अझ बढी गतिशिलताको अपेक्षा गरेको छ,’ बिहीबार कर्मचारी यूनियनहरुको तर्फबाट पदभार ग्रहण कार्यक्रममा सम्बोधन गरेका श्रवण कुमार यादवले भने, ‘तर, गलत काम भयो भने हाम्रो खबरदारी भने जारी रहने छ ।’

नवनियुक्त महानिर्देशक अधिकारीले वरिष्ठ कर्मचारीको अनुभव र युवाको जोशको समिश्रणबाट सक्षम संस्था बनाउने प्रतिवद्धता व्यक्त गरे । आफू छोटो समयमा नेतृत्वमा पुगेपनि स्वभाविक प्रक्रियाबाट पुगेको भन्दै यो जोश र हौसला संस्थाको प्रगतिका लागि उपयोग गर्ने उल्लेख गरे ।

आरोप र चूनौती

छोटो समयमा प्राधिकरणको नेतृत्वमा पुगेका अधिकारी संस्थाभित्रका विवादरहित पात्र हैनन् । खासगरी शक्तिकेन्द्रलाई रिझाउन सक्ने चतुर खुबीका कारण सहजै महानिर्देशक बनेको उनका पूर्वसहकर्मीहरु बताउँछन् ।

उनीमाथि सीमित ठेकदार कम्पनीसँग निकट रहेर काम गर्ने गरेको र  मिलेमतो गरेर उनीहरुलाई ठेक्का दिने गरेको आरोप लाग्ने गरेको छ । तर, उनले त्यसलाई अस्वीकार गर्ने गरेका छन् ।

उनी हालका पर्यटन सचिव महेश्वर न्यौपाने निकट मानिन्छन् । पहिले मन्त्री आलेसँग सम्बन्ध चिसिएपनि उनले न्यौपानेकै सहयोगमा सुधारेर महानिर्देशक पद हात पारेको मन्त्रालय स्रोत बताउँछ ।

अधिकारीले प्राधिकरणमा अधिकांश समय आयोजनाहरुमा काम गरेका छन् । यसमध्ये निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थललाई उनले केन्द्रमा रहेर राष्ट्रिय गौरवको आयोजना हेर्ने गरी जिम्मेवारी पाएका थिए । तर, उनले हेरिरहेका आयोजनाहरु अधिकांश ढिलासुस्तीको शिकार भएका छन् ।

निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सञ्चालनको वातावरण बनाउनु उनको लागि मूख्य चूनौती हुनेछ । साढे दुई दशकदेखि चर्चामा सिमित निजगढ विमानस्थल निर्माणको मोडालिटी बनाएर त्यसलाई कार्यान्वयन योग्य बनाउने चुनौती पनि उनको काँधमा छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट निकट भविष्यमा हुने सेफ्टी अडिटमा नेपाललाई पास गराउनुका साथै यूरोपेली युनियनको कालोसूचीबाट समेत हटाउनु पर्ने जिम्मेवारी पनि उनीमाथि नै हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने गरी संसदमा गएको प्रस्तावमा अहिले पनि कर्मचारीको चरम विरोध छ । यसमा कर्मचारीलाई मनाउन पनि उनको लागि सहज छैन ।

अधिकारी पनि आफू चुनौती स्वीकारेर प्राधिकरणको नेतृत्वमा आएको स्वीकार्छन् । चुनौतीलाई चिर्दै आफू अगाडी बढ्ने उनको प्रतिवद्धता छ ।

विमानस्थलहरुको निर्माणमा आफूले अहोरात्र खटिएको भन्दै अब त्यसको सफल व्यवसायिक सञ्चालनमा ध्यान दिने उनी बताउँछन् ।

मुलुकको दीर्घकालिन विकासको ढोका खोल्न निजगढ विमानस्थल अत्यावश्यक रहेको भन्दै सो योजनालाई अगाडि बढाउने उनको प्रतिवद्धता छ ।

प्राधिकरण मातहत रहेका जग्गाको उपयोगबाट अतिरिक्त आम्दानी गर्नुपर्ने  भएकाले नतिजा देखिने गरी काम गर्ने उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?