
ब्याक्टेरियाबाट हुने संक्रमण रोकथाम र उपचारमा प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । एन्टिबायोटिकले ब्याक्टेरियालाई नाश गर्ने वा वृद्धिलाई रोक्ने काम गर्छ । तर बिरामीको उपचारमा प्रयोग गरिंदै आएका एन्टिबायोटिकहरू भने निष्प्रभावी हुन थालेका छन्। अर्थात् ब्याक्टेरिया बलिया हुँदै गएर एन्टिबायोटिकलाई पचाउँदै गएका छन् । चिकित्सा विज्ञानले २१औं शताब्दीमा सामना गर्नुपरेको मुख्य चुनौती भनेको एन्टिबायोटिक उपचार निष्प्रभावी हुनुलाई मानिएको छ ।
एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रूपमा देखा परेका छन् । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियालाई भविष्यमा हामी माथि आइपर्ने दश प्रमुख स्वास्थ्य समस्या मध्ये एक मानेको छ । यस क्षेत्रका विज्ञहरूले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विश्वव्यापी संकटलाई ‘लुकेको महामारी’ को संज्ञा दिएका छन् ।
विश्व प्रसिद्ध मेडिकल जर्नल ‘द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा सन् २००९ मा प्रकाशित ‘एन्टिबायोटिक रेसिस्टेन्ट बग्स इन द ट्वान्टी फस्ट सेन्चुरीः अ क्लिनिकल सुपर च्यालेन्ज’ नामको लेखमा सिजार एरियस र बारबरा मुरेले लेखेका छन्, ‘सन् १९४२ को मार्चमा अमेरिकाको एउटा अस्पतालमा स्ट्रेप्टोकोकल सेप्सिसबाट मरणासन्न भई ढलिरहेकी ३३ वर्षे महिलालाई पेनिसिलिन नामको भर्खरै पत्ता लागेको एन्टिबायोटिकले स्वस्थ बनाएको थियो र उनी ९० वर्षसम्म बाँचेकी थिइन् ।
६० वर्षपछि अमेरिकाको सान फ्रान्सिस्कोको ७० वर्षे पुरुषलाई भ्याँकोमाइसिन एन्टिबायोटिक प्रतिरोधी एन्टेरोकोकस फिसियम नामको ब्याक्टेरियाको संक्रमण भएपछि त्यस्तो संक्रमणका लागि उपलब्ध विश्वकै उत्कृष्ट एन्टिबायोटिकले पनि काम गरेन र उनी संक्रमण लिएरै मरे ।’ एरियस र मुरे थप लेख्छन्, ‘पूरा वृत्ताकारमा घुमिसकेपछि हामी अब एन्टिबायोटिक आविष्कार हुनुभन्दा अघिको अवस्थामा पुग्दैछौं ।’ यदि त्यसो भयो भने सामान्य चोटपटकको घाउबाटै संक्रमण भएर मानिसको ज्यान जानेछ ।
अहिले एकातिर नयाँ प्रकारका एन्टिबायोटिक पत्ता लाग्ने क्रम निकै नै सुस्त भएको छ भने अर्कोतिर ब्याक्टेरियामा प्रतिरोधी क्षमता विकास हुने र फैलिने दर भने तीव्र हुँदै गएको छ । नयाँ प्रकारका एन्टिबायोटिकहरू बन्ने प्रक्रिया सुस्त वा बन्द हुने अनि ब्याक्टेरियाहरूले चाहिं उपलब्ध सबैजसो एन्टिबायोटिकहरू विरुद्ध प्रतिरोध क्षमता विकास गर्दै जाने क्रमले अहिले नै केही वर्षअघिसम्म सजिलै निर्मूल हुने संक्रमणहरू निर्मूल गर्न असम्भव भएको छ । केही वर्षमै यो समस्याले उग्र रूप लिंदैछ । त्यसो भएको अवस्थामा अति सामान्य मानिएका संक्रमणहरूले पनि मानिसको ज्यान लिनेछन् ।
निमोनिया, मूत्रप्रणालीको संक्रमण जस्ता सामान्य संक्रमण पनि प्राणघातक हुनसक्छन् । टाइफाइड र क्षयरोग जस्ता विगतका घातक तर हाल सजिलै उपचार हुँदै आएका रोगहरू फेरि असाध्य रोगमा गनिने छन् र टाइफाइडको एउटै महामारीले हजारौं मानिसलाई मार्न सक्नेछ ।
साथै एन्टिबायोटिक प्रयोगमा पूर्णतः निर्भर हुनुपर्ने सर्जरी, अंग प्रत्यारोपण र क्यान्सर केमोथेरापी जस्ता उपचारहरू (जसले विगतमा असम्भव लाग्ने रोगहरूको उपचार अहिले सम्भव छ) पूरै काम नलाग्ने भएर जानेछन् ।
एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छन् । एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाले संक्रमण गरेमा सामान्य अवस्थामा भन्दा कडा एन्टिबायोटिक आवश्यक पर्ने, लामो समय अस्पताल बस्नुपर्ने र मृत्युदर पनि बढी हुने गर्छ ।
एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको उपचारमा प्रयोग हुनसक्ने पछिल्लो समय विकसित एन्टिबायोटिक अत्यन्त महँगो छन् र ती केही धनी देशमा मात्र उपलब्ध छन् । अनि महँगो औषधिहरू अधिकांश बिरामीको पहुँच बाहिर हुने गर्छन् । एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाले संक्रमण गराएमा अरू सामान्य ब्याक्टेरियाले भन्दा तीन गुणा बढी मानिसको ज्यान लिन्छ ।
विश्व प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा केही दिन अघि प्रकाशित अध्ययनको नतिजा अनुसार सन् २०१९ मा विश्वभर १२ लाखभन्दा बढी मानिसको ज्यान एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमणबाट गएको थियो ।
यो संख्या मलेरिया वा एड्सबाट बर्सेनि हुने मृत्युको भन्दा बढी हो । सन् २०१९ मा एड्सबाट ८ लाख ६० हजार र मलेरियाबाट ६ लाख ४० हजारको मृत्यु भएको थियो ।
एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाबारे अहिलेसम्मकै विस्तृत भनिएको उक्त अध्ययनमा २०४ देशलाई समावेश गरिएको थियो । उक्त अध्ययनको नतिजा अनुसार एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाबाट अफ्रिका र एशियाका गरिब मुलुकका नागरिकहरू बढी प्रभावित छन् ।
अफ्रिका तथा दक्षिणएशियामा प्रत्येक १० हजारमा २४ जनाको मृत्यु एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको कारणबाट भएको थियो भने विकसित देशमा प्रत्येक १० हजारमा १३ जनाको मात्र मृत्यु भएको थियो ।
ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास हुनु प्राकृतिक कुरा हो । तर अनियन्त्रित रूपमा भएको एन्टिबायोटिकको प्रयोगले गर्दा प्रतिरोधी क्षमता विकास हुने गतिलाई तीव्र बनाएको छ ।
रोग पत्ता नलागी जथाभावी एन्टिबायोटिकको सेवन गर्नु, एन्टिबायोटिकको पूरा मात्रा नखानु, डाक्टरको प्रेस्क्रिप्सन विना किनबेच हुनु, अयोग्य व्यक्तिले फार्मेसी चलाउनु जस्ता समस्याले एन्टिबायोटिकको दुरुपयोग भइरहेको छ । कृषि तथा पशुपालनमा अनियन्त्रित रूपमा हुने गरेको एन्टिबायोटिकको प्रयोगले पनि एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विकास हुनको लागि टेवा दिएको छ ।
अहिलेको कोभिड-१९ महामारीले पनि एन्टिबायोटिकको दुरुपयोगलाई बढाएको छ । एउटा अध्ययनले कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका ८ प्रतिशतलाई मात्र एन्टिबायोटिकको आवश्यकता देखाए पनि ७५ प्रतिशत बिरामीले एन्टिबायोटिक लिएको देखाएको थियो। साथै महामारीमा धेरै मानिसले प्रेस्क्रिप्सन विना नै एन्टिबायोटिक किन्छन् । यसले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संकटलाई थप तीव्र बनाइरहेको छ।
रोकथामका उपाय
एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको महामारीलाई रोक्न के-के गर्नुपर्छ ? यो प्रश्नको उत्तर सहज छैन । यद्यपि, केही सावधानी र सचेतनाले यसलाई न्यूनीकरण गर्न भने सकिन्छ ।
डाक्टरको प्रेस्क्रिप्सन विना फार्मेसीबाट सीधै एन्टिबायोटिक किन्न नमिल्ने व्यवस्था गर्नुपर्छ । अस्पतालहरूले पनि एन्टिबायोटिकको अनावश्यक प्रेस्क्रिप्सन घटाउनुपर्छ । गरिब देशहरूमा प्रयोगशालाको क्षमता वृद्धि गर्नुपर्छ। स्वास्थ्यकर्मीहरूलाई पनि एन्टिबायोटिकको प्रयोग सम्बन्धमा नियमित शिक्षा दिनुपर्छ । एन्टिबायोटिकको प्रयोग बारे जनचेतना फैलाउनुपर्छ ।
बिरामी परेपछि डाक्टरको सल्लाहपछि मात्र औषधि खानुपर्छ, कुन औषधि कसरी खाने, कति दिनसम्म खाने सबै कुराको ख्याल राख्नुपर्छ । योग्य व्यक्तिलाई मात्र फार्मेसी सञ्चालनको लागि अनुमति दिनुपर्छ ।
भाइरसको संक्रमणमा एन्टिबायोटिकको प्रयोगलाई रोक लगाउनु पनि समाधानको अर्को महत्वपूर्ण उपाय हुनसक्छ । स्ट्रेप्टोकोकस न्युमोनी, इन्फ्लुएन्जा र रोटा भाइरसको भ्याक्सिन लगाउन प्रोत्साहन गर्नुपर्छ ।
सफा पानी, सरसफाइको अभाव, अपर्याप्त संक्रमण रोकथाम र नियन्त्रणका उपायले ब्याक्टेरिया र अन्य सूक्ष्मजीवहरू फैलनलाई बढावा दिन्छन् । त्यसैले अस्पताल र समुदायमा संक्रमण रोकथाम र नियन्त्रणका उपायहरू कडाइका साथ लागु गर्नुपर्छ । यसका साथै भ्याक्सिन र नयाँ एन्टिबायोटिक विकास गर्नको लागि लगानी बढाउनुपर्छ ।
(लेखक नेप्लिज फार्मिङ इन्ष्टिच्युटका अनुसन्धान अधिकृत हुन् ।)
प्रतिक्रिया 4