+
+

पशुपति क्षेत्रका फूल पसल र अस्थायी टहरा १५ दिनभित्र हटाइने

रासस रासस
२०७८ माघ २१ गते १८:१५

२१ माघ, काठमाडौं। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूल पसल एवं अस्थायी टहरा १५ दिनभित्र हटाउने भएको छ ।

कोषले सार्वजनिक सूचना प्रकाशन गरेर १५ दिनभित्र फूल पसल एवं अस्थायी टहरा हटाउन आह्वान गरेको हो ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूल पसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । जसका कारण विश्वका विभिन्न भागबाट आउने तीर्थयात्री एवं पर्यटकका माध्यमबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुनसकेको छैन।

भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकमासमेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ। पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सूचित गरेको छ ।

पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोलाप्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिए ।

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उनले सुनाए । पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफा सुग्घरस्थलका रुपमा विकास गर्न लागेको हो।

पशुपति क्षेत्रलाई प्रदूषणमुक्त बनाउन गत असोज महिनाको पहिलो शनिबारदेखि स्वच्छ पशुपति अभियान सुरु गरिएको छ । अभियानमा कलाकार एवं स्थानीयवासीको सहभागिता जुट्ने गरेको छ ।

स्थायी संरचनामा कोषको सार्वजनिक खरिद महाशाखासँग समन्वय गरेर पसल सञ्चालनका लागि गोलाप्रथाबाट छानिएकाले सामान सारेर व्यवसाय गर्न सक्नेछन्। हाल गोलाप्रथाबाट नछानिनेका लागि आवश्यकता र औचित्यका आधारमा पसल उपलब्ध गराउँदै जाने योजना बनाइएको कोषले जनाएको छ।

कोषले जारी गरेको सूचना अनुसार १५ दिनभित्र पसल नसार्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने भएको छ । १५ दिनभित्र नहटाइने पसल एवं सामान कोषले आफै हटाउने तयारी गरेको छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सम्बन्धित पसल सञ्चालकले नै लिनुपर्ने छ ।

कोषले घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवं टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

यसअघि पनि कोषले यस्तो सूचना प्रकाशन गरेकामा कोरोना महामारी फैलिएका कारण कार्यान्वयन हुनसकेको थिएन । यसपटक भने कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले गत हप्ता पशुपति क्षेत्रको अवलोकन गरी व्यवस्थित गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएकाले कार्यान्वयन हुन लागेको हो ।

पशुपति क्षेत्रमा यसअघि गोलाप्रथाबाट १९९ जनालाई फूलपसल राख्ने अनुमति दिइएको थियो । पछि केही व्यवसायी थपिएपछि हाल त्यहाँ करिब २५० फूलपसल छन् । फूलपसल व्यवस्थित गर्न कोषले ६४ वटा पसल राख्न मिल्ने गरी स्थायी भवन निर्माण गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यो भवनमा गोलाप्रथाबाट ६४ पसल छान्ने तयारी कोषले गरेको छ ।

व्यवस्थित गर्ने क्रममा बाँकीलाई भने नयाँ संरचना निर्माण हुँदा अवसर दिने नीति कोषले लिएको छ । कोषले विसं २०५८ मा पशुपति क्षेत्रबाट विस्थापित भएकाका लागि उपहार पसल सञ्चालनका लागि पनि स्थायी संरचना निर्माण गरेको थियो ।

पशुपति क्षेत्रलाई खुला गर्ने क्रममा जग्गा अधिग्रहण गरेको परिवारलाई उपहार पसल चलाउन प्राथमिकताका साथ राखिएको थियो । उपहार पसलका रुपमा २६ वटा पसल सञ्चालनमा छन् । भत्केका घरका सटरमा पसल चलाउनेलाई पनि उपहार पसल चलाउन प्राथमिकताका साथ राखेको कोषले जनाइएको छ ।

पशुपति क्षेत्रमा सुधार अभियानलाई निरन्तरता दिने तयारीसमेत गरिएको छ । यस क्षेत्रका जीर्ण भवन, पाटी पौवालाई सुधार गरेर अघि बढाइने तयारी भएको छ ।भक्तजनलाई पशुपति क्षेत्रमा जाऔँ-औँ लाग्ने गरी व्यवस्थित गर्न लागिएको सदस्य सचिव थापाले सुनाए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?