+
+

टेलिकमले मनायो १८औं वार्षिकोत्सव, सेवाग्राही दुई करोडभन्दा बढी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १४:०५

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा शनिबार विशेष समारोहको आयोजना गरेर कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्बोधन गरेका थिए । मन्त्री कार्कीले राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका थिए ।

मन्त्री कार्कीले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्‍याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताए । कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उनले यसतर्फ विशेष ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए ।

कोभिड–१९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पुर्‍याएको योगदानप्रति मन्त्री कार्कीले धन्यवाद दिएका थिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराए । कम्पनीका सेवाहरु दिगो र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसक्ने हुनुपर्नेमा जोड दिए ।

उनले यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताए । उनले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक सुरुवात गरेको जानकारी दिइन् ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा रु. २९४ मा २० जीबी डाटा १० दिनसम्म, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म र रु. ६९ मा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबीपीएस डाटा प्रयोग गर्न सकिने योजना ल्याएको छ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ । वार्षिकोत्सवको दिन २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक/एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उनले जानकारी दिइन् ।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक प्रदान गरिएको थियो । साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।

सेवाग्राही दुई करोडभन्दा बढी

१८ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकोमा, २०७८ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार दुई करोड २७ लाख नाघिसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल मुलुकको करिब ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

कोरोना महामारीबाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आव २०७७/७८ मा कम्पनीको कुल आय ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीको खुद मुनाफा ७ अर्व १३ करोड रुपैयाँ भएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ, जुन गत आवको पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले बृद्धि भएको छ ।

मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आव २०७७ /७८ मा इनकम ट्याक्स, भ्यालु एडेड ट्याक्स, टेलिकम सर्भिस चार्ज, अनरसिप ट्याक्स, कस्टम ड्युटी, आरटीडीएफ, डिभिडेन्ड, प्रोपर्टी र भेहिकल ट्याक्स लगायतका कर तथा गैह्रकर गरी कम्पनीले रु २७ अर्व ७३ करोड रकम योगदान गरेको थियो भने यस आवमा समेत उक्त योगदान बढ्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

फाइबर बिछ्याउने कार्य द्रुत गतिमा

मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ ।

सो क्षेत्रमा हालसम्म १ हजार १ सय १२ किमी (५९.१६ प्रतिशत) कार्य सम्पन्न भएको, २६ स्थानमा उच्च क्षमताको डीडब्ल्यूडीएम प्रणाली जडान भई २४ स्थानमा संचालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सम्पन्न भइसकेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । उक्त क्षेत्रमा हालसम्म १०० किमी फाइबर विस्तार भएको, २२ स्थानमा डीडब्ल्यूडीएम प्रणाली जडान भई १६ स्थानमा सञ्चालनमा ल्याउने कार्य जारी रहेको र कोर राउटर जडान कार्य समेत सुरु भएको छ ।

यस पूर्वाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्वपूर्ण योगदान दिने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?