+
+

सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

जनक विष्ट जनक विष्ट
२०७८ माघ २३ गते १६:११

२३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो ।

प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएपनि मिर्गौला, मधुमेह र फोक्सोमा पानी भरिने समस्याका कारण ती महिलालाई बचाउन सकिएन ।

सेती प्रादेशिक अस्पतालमै ४ माघमा गोदावरी नगरपालिका–४ का ७५ वर्षीय पुरुषको उपाचारकै क्रममा मृत्यु भयो । कोरोनाविरुद्धको खोप नलगाएका ती पुरुष २३ पुसमा अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र संक्रमण पनि भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसको तीन दिनपछि प्रादेशिक अस्पतालमै अर्का कोरोना संक्रमितको मृत्यु भयो । २६ पुसमा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालकाअनुसार उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । मिर्गौला, मुटुसम्बन्धी समस्या भएका ती पुरुष निमोनियाका बिरामी थिए ।

कोरोना संक्रमणका कारण वृद्धवृद्धा मात्रै होइनन् युवाहरुको पनि मृत्यु भएको अस्पतालको तथ्यांकले देखाउँछ । तर उनीहरु मध्ये अधिकांश खोप नलगाएका र कुनै न कुनै खालको दीर्घरोगी भएका मानिसहरु बढी छन् ।

१६ माघमा अस्पतालमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भयो । ती पुरुषले पनि खोप लगाएका थिएनन् । उनी नसा र टाउकोसम्बन्धी रोगले ग्रसित थिए ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठकाअनुसार कोरोना भाइरसको तेस्रो लहर अर्थात ओमिक्रोन भेरियन्ट फैलिएयता अस्पतालमा उपचारका लागि पुगेका १० जना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरु मध्ये ७ जना दीर्घरोगी र कोरोनाविरुद्धको कुनै पनि खोपको मात्रा नलगाएका संक्रमित छन् भने दुई जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । मृत्यु भएका एक जना संक्रमितले भने खोपको दुवै मात्रा लगाएका व्यक्ति रहेको श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार कोभिशिल्ड खोपको दुवै मात्रा लगाएकी धनगढी उपमहानगरपालिका–३ बस्ने ७४ वर्षीया संक्रमित महिलाको केही दिन अघि मात्र उपचारका क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वास सम्बन्धी बिरामी भएकी ती महिलाको मुटुमा समस्या थियो भने क्षयरोग(टीबी) पनि भएको थियो । कोरोना भाइरसको तेस्रो लहरमा धेरै मानिस संक्रमित भएपनि मृत्युदर कम हुनुमा खोपको प्रभाव भएको चिकित्सकहरु बताउँछन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड विभाग प्रमुख समेत रहेका फिजिसियन डाक्टर शेरबहादुर कमर भन्छन्,‘कोरोनाविरुद्धको खोप लगाएका मानिसहरुमा संक्रमण भएपनि बृद्धि विकास हुन नपाउने भएकाले जटिल स्वास्थ्य समस्या भएको देखिँदैन ।’

डाक्टर कमरले दीर्घ रोगीहरुलाई कोरोनाविरुद्धको खोप लगाउँदा थप स्वास्थ्य समस्या सिर्जना हुन्छ भन्ने गलत बुझाइले धेरै मानिसले खोप नलगाएको पाइएको बताउँदै त्यसैको परिणाम संक्रमितको मृत्यु भइरहेको जनाए । खोपले कोरोना संक्रमण नरोक्ने तर संक्रमण भएपछि जटिल अवस्थामा जान रोक्ने भएकाले छुटेका सबैलाई खोप लगाउनुपर्ने सुझाव उनको छ ।

‘कोरोना पनि एक प्रकारको सरुवा रोग भएको कुरा तपाईं हामी सबैलाई थाहा भइसकेको छ । यसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नैपर्छ,’ डाक्टर कमरले भने, ‘भ्याक्सिनले कोरोना संक्रमणबाट हुने जटिलतालाई रोक्न, शरीरमा भाइरस प्रवेश गरेपछि बृद्धि विकास हुन दिँदैन । त्यसैले सबैले अनिवार्य रुपमा खोप लगाउन आवश्यक छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?