+
+

भारतमा कोरोनाको तेस्रो लहर ओरालो लाग्दै, दिल्लीका शैक्षिक संस्था आजदेखि खुले

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ११:४८

२४ माघ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लाग्न थालेको छ । तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्यासमेत घटेर ११ लाख ८ हजार ९३८ पुगेको छ ।

भारतमा कोभिड संक्रमितको संख्या घट्न थालेसँगै प्रतिबन्धात्मक नियम खुकुलो पार्न थालिएको छ । आज सोमबारदेखि सरकारी कार्यालय पूर्ण रुपमा खुल्ने भएका छन् । तर कार्यालय आउने सबै कर्मचारीले कोभिडसम्बन्धी प्रोटोकल पालना गर्नुपर्ने मन्त्री जितेन्द्र सिंहले बताएका छन् ।

त्यस्तै, आजदेखि राजधानी दिल्ली, उत्तर प्रदेश र बिहानमा शैक्षिक संस्था खुला गरिन थालिएको छ । दिल्लीमा सोमबारबाट ९ देखि १२ कक्षाको पढाइ सुरु हुने छ । तर नर्सरीदेखि ८ कक्षासम्मको पढाइ भने फेब्रुअरी १४ बाट सुचारु हुने छ ।

विद्यालय तथा कलेजमा भौतिक कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम, अनिवार्य मास्क प्रयोग तथा स्यानिटाइजरको प्रयोग जस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने छ ।

यसबाहेक, दिल्लीमा लगाइएको रात्रिकालीन कर्फ्युको अवधि १ घण्टाले घटाइएको छ । रात्रिकालीन कर्फ्यु राति १० बजेको साटो ११ बजेदेखि बिहान पाँच बजेसम्म कायम रहने छ । साथै, कार्यालयहरू सतप्रतिशत क्षमतामा खुला गर्न सकिने र कारमा एक्लै सवार गर्ने व्यक्तिले मास्क लगाउनु पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?