२५ माघ, काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ ।
तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल क्वालिफायरमा पुगेको छ ।
जहाँ पहिले धेरै टिमबीच प्रतिस्पर्धा हुन्थ्यो, कुनै एउटा खेलमा तलमाथि हुँदा पनि अर्कोमा रिकभर गर्ने अवसर हुन्थ्यो । अहिले पनि टिम त धेरै छ, तर खेल थोरै । त्यसैले एउटा खेल बिग्रियो भने पनि टी–२० विश्वकपको यात्रा खतरामा पर्न सक्छ ।
१६ टिम, दुई समूह
यस पटक ग्लोबल क्वालिफायरमा १६ टिम छन् । अघिल्लो प्रतियोगिताको पुछारमा रहेका चार टिम आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्यूगिनी छन् भने वरियतामा माथिल्लो क्रममा परेका नेपाल, यूएई, सिंगापुर र जिम्बाब्बे छन् । यस्तै रिजनल छनोटबाट युगाण्डा, अमेरिका, क्यानडा, बहराइन, हङकङ, फिलिपिन्स, जर्सी र जर्मनी ग्लोबल क्वालिफायरमा छन् ।
१६ टिमलाई दुई समूहमा छुट्याइएको छ र उत्कृष्ट २–२ टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल समूह एमा छ, जहाँ बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र यूएई पनि छन् ।
यो समूहमा रहेका ८ देशलाई पनि दुई समूहमा बाँडिएको छ । नेपाल रहेको समूहमा घरेलु टोली ओमान, क्यानडा र फिलिपिन्स छन् भने अर्को समूहमा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने टोलीले विश्वकपमा स्थान बनाउने छ ।
खेलहरु फेब्रुअरी १८ देखि २४ तारिख (६ देखि १२ फागुन) सम्म ओमानमा हुने तय भएको छ ।
चार खेल महत्वपूर्ण
ओमानमा नेपालले समूह चरणमा तीन खेल खेल्नेछ । समूहको शीर्ष दुईमा परे सेमिफाइनल पुग्ने छ । अर्थात समूह चरणका तीन र सेमिफाइनल गरी कूल ४ खेल नेपालका लागि महत्वपूर्ण छ । अरु टिमको हकमा पनि यही समीकरण लागु हुनेछ ।
झट्ट हेर्दा समूह चरणका तीन वा कम्तीमा दुई र सेमिफाइनल जित्ने हो भने नेपाल टी–२० विश्वकपमा पुग्छ । हेर्दा विश्वकपको यात्रा जति सहज लाग्छ, त्यत्तिकै चुनौतीपूर्ण पनि छ । फरक अवस्था के छ भने उत्कृष्ट टिम, अनि टी–२० मा राम्रो प्रदर्शन गरिरहेका टिमसँग नेपालले खेल्नुपर्छ । त्यसैले विश्वकप पुग्न हरेक खेलमा बलिङ, ब्याटिङ र फिल्डिङमा आफूलाई अब्बल सावित गर्नुपर्छ ।
नेपालले पहिलो खेल घरेलु टोली ओमानसँग ६ फागुन (१८ फेब्रुअरी) मा उसैको मैदानमा खेल्नेछ । यो खेल यसकारण पनि महत्वपूर्ण छ कि त्यही खेलले नेपालको यात्रा कहाँसम्म पुग्छ भन्ने केही हदसम्म निर्धारण गर्नेछ । नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पनि ओमानलाई हराउनुपर्ने टिम भनेका छन् ।
यदि पहिलो खेलमै ओमानलाई हराए नेपाली टोलीको मनोबल बढ्ने छ, बाँकी खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने सम्भावना बलियो हुन्छ ।
नेपालले दोस्रो खेल तुलनात्मक रुपमा कमजोर मानिएको फिलिपिन्ससँग ७ फागुन (१९ फेब्रुअरी) मा खेल्नेछ भने समूह चरणको अन्तिम खेल ९ फागुन (२१ फेब्रुअरी) मा क्यानडासँग खेल्नेछ ।
क्यानडा नेपालका मुख्य प्रशिक्षक पुबुदुको हालको देश हो । उनले क्यानडालाई आफ्नो प्रशिक्षणमा विश्वकप खेलाइसकेका छन् । क्यानडाको टोलीसँग उनी र नेपाली क्रिकेटरहरु पनि परिचित छन् ।
यो तीन खेलपछि नेपाल कम्तीमा दोस्रो स्थानमा रहे सेमिफाइनल पुग्नेछ र अर्को समूह (जहाँ आयरल्याण्ड, युएई, बहराइन र जर्मनी छन्) बाट आउने टोलीसँग सेमिफाइनल खेल्नेछ । जसमध्ये आयरल्याण्ड र युएई बलिया टिम मानिएको छ ।
त्यसरी हेर्दा नेपाल सेमिफाइनलमा पुगेको अवस्थामा पनि जस्तो विपक्षी आएपनि जित्नैपर्ने हुन्छ ।
नेपाली टिम राम्रो प्रदर्शन गर्ने विश्वासमा छ । टिममा सबभन्दा सिनियर खेलाडीका रुपमा रहेका शरद भेषावकर नेपाल फेरि विश्वकपमा पुग्ने विश्वास राख्छन् । तर त्यसका लागि त्यो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताउँछन् ।
क्वालिफायरअघि नेपालले आफ्नो समूहमा रहेको ओमान र अर्को समूहको दुई बलियो टोली युएई र आयरल्याण्ड सम्मिलित टी–२० सिरिज खेल्ने छ, जुन शुक्रबारदेखि सुरु भएको छ । यो सिरिजमा नेपालले आफ्नो बलियो र कमजोर पक्ष थाहा पाउने अवसर पाउनेछ नै, विपक्षी टिमको अवस्थाबारे पनि जान्न सक्नेछ ।
नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु यो सिरिजलाई राम्रो टिम बनाउने अवसर मान्छन् । नेपाली सिनियर टिममा पहिलो पटक स्थान बनाएका दुई युवा खेलाडी लोकश बम र विवेक यादवले यही सिरिजमा डेब्युको अवसर पाउन सक्छन् ।
दुवै खेलाडीबाट नेपालले आशा राखेको छ भने उनीहरु पनि अवसरको खोजीमा छन् । चार देशीय सिरिजमा नेपालले पहिलो खेल शुक्रबार ओमानसँग खेल्नेछ । शनिबार यूएई र सोमबार आयरल्याण्डसँग खेल्नेछ ।
विश्वकपमा छनोट हुन सक्छ नेपाल
ओमानमा हुने टी–२० सिरिज युवा लेग स्पीनर सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो खेल हुनेछ । सिरिज र टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि सन्दीपको नेतृत्वमा १७ सदस्यीय नेपाली टोली तयार छ । यसअघि १६ सदस्यीय टोलीमा अन्तिम समयमा सागर ढकाल थपिएका छन् ।
पहिलो पटक सिनियर टोलीको कप्तानी गर्नुअघि सन्दीपले नेपाल टी–२० विश्वकपमा छनोट हुने सम्भावना रहेको बताएका छन् । ‘इमान्दार भएर भन्दा विश्वकपमा छनोट हुने सम्भावना छ’ सन्दीपले सञ्चारकर्मीसँग भनेका छन्, ‘पछिल्ला केही वर्षहरुमा नेपालले जसरी क्रिकेट खेलिराखेको छ, राम्रो गरिरहेको छ । व्यक्तिगत प्रदर्शन पनि राम्रो छ, प्रतियोगिताहरुमा पनि राम्रो छ ।’
२०१४ मा विश्वकपमा छनोट हुँदाको अवस्थालाई फिर्ता ल्याउने चाह सबैमा रहेको भन्दै उनले आफू र टिमले पारस खड्काले बनाएको त्यो बेलाको लिगेसीलाई अगाडि बढाउनुपर्ने बताए ।
सन् २०१४ मा नेपाल पहिलो पटक विश्वकप पुग्दा पारस कप्तान थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसके, तर त्यो बेला विश्वकप खेलेको टिमका ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, जितेन्द्र मुखिया र प्रदिप ऐरी अहिले पनि टिममा छन् । शरद र ज्ञानेन्द्र सिनियर खेलाडीको रुपमा छन् । त्यसबेला नेपाली टोलीको प्रशिक्षक रहेका पुवुदु नै अहिले पुनः फर्किएका छन् ।
दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आएका पुबुदुले पनि नेपाललाई फेरि विश्वकप पु¥याउने लक्ष्य राखेका छन् । केही चुनौतीका बावजुद नेपाली तयारी योजना अनुसार भएको र विश्वकप पुग्नेमा विश्वस्त रहेको पुबुदुले सुनाए ।
‘मौसम र कोभिडले गर्दा केही चुनौती भयो, तर अहिले त्यो चरण पार भइसक्यो । जे योजना बनाएको थिएँ, त्यो पाएको छु । राम्रो तयारी भएको छ,’ पुबुदुले सञ्चारकर्मीसँग भनेका छन्, ‘एउटै चुनौती भनेको हामी त्यस्तो ठाउँमा खेल्दैछौं, जहाँ हरेक दिन गर्मी हुन्छ । हामीले यहाँ चिसोमा तयारी ग¥यौं ।’
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम र सागर ढकाल ।
 
                    










 २०७८ माघ  २५ गते १९:५०
                        २०७८ माघ  २५ गते १९:५०                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4