
२६ माघ, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पनि विदेशी मुद्राको सञ्चिति घटेको छ । केही महिना यता लगातार ओरालो लाग्ने क्रममा देखिएको विदेशी मुद्राको सञ्चिति पुस मसान्तसम्म आइपुगदा पनि घट्ने क्रम निरन्तर देखिएको हो ।
पुस मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले बताएको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति घटेर पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १०१५ अर्ब ५९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई १५० अर्ब २१ करोड कायम भएको छ । २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया 4