+
+
पुस्तक समीक्षा :

वियोगको पीडा ओकल्ने ‘रुइबा’

काजीराम गौतम काजीराम गौतम
२०७८ फागुन १ गते १३:२५

झट्ट हेर्दा अनौठो नाम लाग्ने ‘रुइबा’ उपन्यासको नाम कुनै विदेशी भाषाको शब्द टप्प टिपेर राखिएको होइन रहेछ । दिमागमा उक्त शब्दको अर्थ यसो पो हो कि भनेर अनुमान गर्नुभन्दा एक पाठकलाई उक्त पुस्तक किनेरै पढ्न मनलाग्नु कुनै अनौठो भएन ।

पुस्तक हातमा परेपछि आवरण पृष्ठको श्याम पृष्ठभूमिमा एउटी नारीको चित्र र रुइबा उपन्यासका सर्जक चेतनाथ आचार्यको नाम देख्न पाइन्छ । आचार्य सञ्चार क्षेत्रमा एक लामो दूरी तय गरेका व्यक्ति हुन् । हाल पैंचिगस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवामा कार्यरत आचार्यकृत रुइबा उनको सम्भवत: पहिलो उपन्यास हो । सञ्चार क्षेत्रको लेखनमा एक सिद्धहस्त व्यक्ति साहित्य लेखनमा फड्को हान्दा त्यहाँ पक्कै गज्जबको कन्टेन्ट हुनुपर्छ भन्ने सहज अनुमान गर्न सकिन्छ । उपन्यासको नाम स्वयं र सर्जकको प्रयासले जोसुकैलाई यो पुस्तक पढ्न प्रेरित गर्छ । २६२ पृष्ठमा समेटिएको रुइबा फिनिक्स बुक्सले प्रकाशन गरेको हो भने यसको आवरण राजन काफ्लेले तयार पारेका हुन् ।

रुइबा उपन्यासभित्रको कुनै पात्रको नाम होइन । बरू उपन्यासभित्रकी मुख्य पात्रको रुपमा रहेकी र प्रारब्धले ठगिएकी, उनै न्याउली जसको मृत्युपछि पनि माइतीकै अधिकार रहेको उनको अस्थि माइतीलाई जिम्मा लगाउने वा माइतीको उपस्थितिमा सेलाउने चलन हो ।

स्थानीय तामाङ भाषामा ल्हापसाङकर्पो भनिने गणेश हिमाल र त्यसैको दक्षिणतर्फ रहेको रुबी उपत्यकाबीच पर्ने धादिङको पाबाङ गाउँ रूइबाकी न्याउलीको जन्मथलो हो । तामाङ जातिका मानिसहरूमा व्याप्त संस्कारअनुसार छोरीको विवाह गरेर ज्वाइँलाई दिएपनि छोरीको थर र उसको हड्डीमा भने माइतीकै अधिकार रहन्छ । तर प्रारब्धले आजीवन कारावासको सजाय भोग्न बाध्य न्याउली आफ्नो हाडमाथिको माइतीको अधिकार प्राप्त गर्लान् कि नगर्लान् भनेर विरह गाउँछिन् ।

‘आफू विदेशको जेलमा आजीवन कारावासको सजाय पाएर बसेकी हुनाले आफ्नो रुइबामाथि कसले दाबी गर्ला, मेरो माइतीले कि मेरो देशले ?’ भन्ने वाक्यांशको शब्द रुइबा नै यो उपन्यासको नाम हुन पुगेको छ र न्याउली कसरी जेल बस्न बाध्य भइन् भन्ने नै उपन्यासको प्लट वा कथावस्तु हो ।

उपन्यासमार्फत तामाङ जातिको धर्म संस्कृति र परम्पराको सजीव चित्रण गर्दै त्यस भाषाको टेवामा साहित्यिक योगदान समेत गरेको छ रुइबाले । त्यस्तै देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था र असमानताका कारण दशौं वा सयौं न्याउली ‘स्याओन्याओ’ बन्नुपर्ने अवस्थालाई यसले उजागर गरेको छ ।

न्याउलीको जीवन अज्ञानता तथा आर्थिक विपन्नताका कारण विभिन्न अवरोहबाट गुज्रिएकाले उपन्यासले आमनेपाली चेलीहरूको अवस्थालाई पनि प्रतिबिम्बित गरेको छ ।

आत्मपरक शैलीमा लेखिएको रुइबामा यसकी मुख्य पात्र न्याउली उपन्यासको विषयवस्तुलाई क्रमश: ‘फ्ल्यासब्याक’का रूपमा प्रस्तुत गर्छिन् । उपन्यासभित्रको सेटिङमा पहिलो स्थान पाबाङ हो । त्यहाँ उनी जन्मदेखि हुर्किबढी गरेको, आफ्ना बाबुआमाबाट जातिगत र सामाजिक रहनसहन तथा नैतिकता र आदर्श अनि धार्मिक आस्थाजस्ता कुरा सिकेर एउटी नेपाली चेलीले जिउने गरेको जीवनको केही अंश त्यही व्यतीत गरेकी छन् ।

यस क्रममा सर्जकले स्थानीय लवजको बोली र स्थानीय संस्कारलाई दुरुस्त उतारेर न्याउलीको जीवनमा कलात्मक तवरबाट उनिदिएका छन्। त्यसैको परिणाम हो, न्याउली आफूलाई दु:ख दिनेका विरुद्ध पनि नराम्रो सोच्दिनन् । दुःख पर्दा छ्योर्तेनमा पाती चढाउने र आस्थाको ल्हापसाङकर्पोलाई भाक्ने सामाजिक परिवेशका कुराहरू जीवन भोगाइका क्रममा आएपनि जीवनको कल्पना र यथार्थका लागि ती चीजहरू न्याउलीका जीवनमा दिगम्बर जस्तै निर्लज्ज उभिएका छन् ।

ती धरोहरमाथि यति धेरै आस्था बोकेकी न्याउलीले जीवन जीउने क्रममा सफलताका आरोह नभई असफलताका अवरोह नै अवरोह पार गर्नुपर्दा ती धरोहरहरूप्रति के ठान्छे होला भन्ने कहिल्यै बुझेनन् ।

सानो परिवारलाई सुखका साथ पाल्ने कल्पना सजाउन यार्सागुम्बा टिप्न गएका आपा (बाबु) भीरबाट खसेर मरणासन्न अवस्थामा घर ल्याइनु, लट्टे झाँक्री र लामाले जडिबुटी र झारफुक गरेर पनि उनको प्राण रक्षा गर्न नसक्नु र आपालाई दुर्सागाङमा लगेर आगो लगाउनु परेको घटनाले जीवनको दुष्चक्रको सुरुवातको प्रतीकात्मकता झल्काउँछ ।

आपाको मृत्युपछि आफ्नै आस्याङ (मामा)को छोरा दोर्जेसँग विवाह हुन्छ न्याउलीको । निरक्षर न्याउलीलाई आफू दुई जिउकी भएको समेत थाहा हुन्न । अज्ञानमै उनी आमा हुन्छिन्, विना योजना । दोर्जे आफ्ना पौरखका पाखुराले परिवार पाल्न तम्सिन्छ, तर उसको प्रयास सिसिफसको नियति जस्तो बन्छ। अर्थात्, बिहान बेलुकाको छाक टार्नमै सीमित ।

काजीराम गौतम

दोर्जेको पौरखले सिर्जेको अभावको भोजन मीठो मान्नुपर्ने बाहेक न्याउलीलाई आफूले पेटभरि खाएर वक्षस्थलबाट बग्ने मातृ वात्सल्यरूपी दूधको घुट्कोले दोर्जेको भोक शान्त पार्ने शक्ति थिएन उनमा । त्यसैले ‘मो धेरै किरा खोजेर पैसा कमाउँछा र तिमेरलाई सुख्खा दिन्छा’ भन्ने आपालाई दुर्सागाङमा लगेर पोल्न लगाउने न्याउलीको नियतिलाई ल्हापसाङकर्पोले अर्को दुस्साहसपूर्ण कार्य गर्न उक्साउँछ । मतलब,  ऋणको चपेटामा परेको दोर्जेलाई सेते दलालले गाउँबाट सदाका लागि अन्यत्र हुत्याइदिने कुचेष्टा गर्छ ।

दोर्जे आफ्नो सम्पत्ति बन्धकी राखेर धन कमाउँला भनी मलेसिया उड्छ तर फिर्नै नसक्ने गरी । हो, जब आफ्नैले उँभो लाग्न दिंदैनन् भने अरूले त झन् के दिन्थे ? मलेसियाले दोर्जेलाई त्यसै गर्‍यो । धेरै नेपालीहरू भाग्यमा कोरिएर आएको दुःख मेटाउन विदेश जाँदा उनीहरुको जीवनको इहलीला उतै मेटिन्छ,  दोर्जेको दुर्दशा त्यस्तै भयो । विजयको रक्तिम रङ्गको रगत उसले मलेसियामा पराजयमा छादयो । अस्थि ल्याउन धेरै खर्च लाग्ने भएकोले उतै विसर्जन गरियो उसलाई र सीमाधुर (लासको प्रतिमूर्ति) बनाएर घेवा गरियो यता। उसका सारा सपनाहरूले लासले मातृभूमिको माटो नपाएझैं  टेक्ने ठाउँ पाएनन् ।

‘दोर्जेको आमा, गरिपलाई सर्खारले पैसा क्यान दिन्थ्यो ?’ छोराको लास नआएपनि दुःखका आँसु केही पैसासँग साटिन्छ कि भन्ने आङीलाई लागेको थियो । तर वास्तविक गरिबको आँसुको मूल्य हुँदैन भन्ने उपन्यासले उजागर गरेको छ । दोर्जे मरीकन जन्मेकी सोममाया समेतलाई आमा हुनुको कर्तव्य पूरा गर्न न्याउली आफ्नो जन्मथलो पाबाङकोको काख र आमाको साथमा मंगलेलाई छोडेर कामको खोजीमा गाउँकै ज्योज्योसँग काठमाण्डू लाग्छिन् ।

चस्मालाई फुकेर ज्याकेटले पुछ्दै काठमाडौंमा पैसा त फालाफाल् भन्ने ज्योज्यो न्याउलीको भाग्य चस्मा पुछेझैं पुछ्ने दाउमा हुन्छ । उसले कंक्रिटको सहरभित्र न्याउलीलाई धकेलेर उनको ६ महिनाको पारिश्रमिक लिएर हिंड्छ । आत्मा कंक्रिटजस्तो नपग्लिनेगरी ढलान भएकी असत् विमला साहुनी, पाप कृत्यको संकेत स्वरूप गालामा कोठी भएको व्यक्ति, दया र करूणाका प्रतिमूर्ति जस्ता लाग्ने देवी र दया जस्ता अधमहरू काठमाडौंको नारकीय खाल्टो भर्ने काममा अरूलाई पनि धकेल्छन्, यो कुरा उपन्यासले न्याउलीमार्फत पाठकलाई सम्झाएको छ ।

जति नै दुःख परेपनि रत्तिभर नडगमगाउने न्याउलीका लागि विकास भाइ र गोङ्गबुका साहुसाहुनी आस्थाको छ्योर्तेनमा ढुङ्गा थप्न उभिएकै हुन्छन् । यसबाट लेखकले सधैं अधम र कुत्सित मनसायकाहरूकै राज चल्दैन र नैतिकता अनि दयाभाव सकिएको छैन भन्ने चित्रण गरेका छन् ।

छोरी साहुनीको कुटाइबाट बिरामी पर्दा मन लगाएर हेर्न नपाउनु र साहुनीका निकृष्ट वचन वाणबाट भेदित हुनुले महिलाबाट महिला पीडित हुने हाम्रो सामाजिक नियति र छोरी बाल मन्दिरमा जिम्मा लगाई आफू मरेको कागजमा सहीछाप गरेर हिंडेपछि विभिन्न अवस्थामा आफू पुरुषबाट हुने महिला हिंसाको समेत सिकार हुनुपरेको र तिनै पीडक छद्मभेषीहरु महिला हित र उत्थानका लागि आवाज उठाएर हिंडेको न्याउलीले आफ्नै आँखाले देख्नु समग्र राजनीतिक र सामाजिक प्रवृत्ति उपरको व्यङ्ग्यात्मक यथार्थ चित्रण हो रुइबा ।

न्याउली काठमाडौंमा अभावमा रुमल्लिएका बेला आमालाई छोडेको मंगले र बालमन्दिरमा छोडिएकी सोममायालाई फेरि अँगाल्न पो जालिन् कि भन्ने द्विविधा पाठकमा अवश्य रहन्छ । तर उनी अज्ञानवस गलत विकल्प छान्न पुग्छिन् ट्रयाजिक नोबेलको  मुख्य पात्र जस्तो । यहाँ लाग्छ, उनी हेमिङ्वेको ‘दी ओल्ड म्यान एन्ड द सी’भित्रको ‘म्यान क्यान बि डिस्ट्रोएड बट नट डिफिटेट’ भन्ने मूल भनाइको समीपमा उभिएकी छन् । किनकि, उनले जीवनमा पटकपटक पराजय भोगिसकेकी छन्, अब उनमा पराजित हुन केही बाँकी छैन बरू मात्र बाँकी छ भने त्यो आफ्नै विनाशको बाटो ।

काम गर्ने ठाउँमा उनलाई भेट्न आउने विनोद दाइले  देखाएको दूरको उज्यालोसम्म बत्तीमा किरा झुम्मिन गएजस्तो झुम्मिन पुग्छिन्। शरीरभरि लागू पदार्थ बोकेर त्यही शरीरमा पलाएका आशाका नयाँ मुजुरा हुर्काउन पैसा कमाउने दाउमा लागूपदार्थ ओसार्ने तस्करको चङ्गुलमा पर्छिन् ।

मदन दाइका साथमा उनी आफ्नो संवेदनशील अङ्गमा समेत लागूपदार्थ बोकेर चीनको छङ्तु उड्छिन् । तर न्याउलीका पँखेटा चीनका कानुनले उड्नै नसक्ने गरी छप्काइदिन्छ। उनलाई चीनको अदालतले लागूपदार्थको ओसारपसार गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाउँछ । उनीसँगै गएका मदन चाहिं मृत्युदण्ड पाउँछन् ।

न्याउली निरक्षर भएकाले तत्काल मृत्युको मुखबाट त उम्किन्छिन्, तर मृत्युको बाटो हेरेर बस्नुपर्ने हुन्छ । यो परिणतिबाट रुइबाका सर्जकले स्थितिको रूपान्तरणलाई गज्जबले प्रस्तुत गरेका छन् । अज्ञान र निरक्षरता निभेको बत्ती जस्तै हो, तर यहाँ न्याउलीको अज्ञानताले उनको जीवनको बत्तीमा तेल सकिएपनि सलेदो जलेर मधुरो प्रकाश दिइरहेको आभास हुन्छ । तसर्थ, यहाँ स्रष्टा साक्षरता विरुद्ध अँध्यारो वा निरक्षरता विरुद्ध मन्द उज्यालोको ‘लिटेररी जक्स्टापोजिसन’बीच पाठकलाई एकैछिन उभ्याएर सोच्न बाध्य बनाउँछन् ।

जेलमा परेपछि प्रारब्धले न्याउलीलाई ‘स्याओन्याओ’ (उनको चिनियाँ नाम) बनाउँछ र उनीमाथि मजाक गर्छ । जति छिटो मृत्यु भयो, उति छिटो जेलबाट मुक्ति मिल्ने स्याओन्याओलाई जेलमा जन्मदिनको अवसरमा दीर्घायुको कामना गरिन्छ ।

मजाकको पनि एउटा हद हुन्छ नि ? तर स्याओन्याओ आफ्नो विरुद्ध नराम्रो भन्नेलाई पनि नमीठो भन्दिनन्, जुन उनकी आमाले उनलाई सिकाएको संस्कार हो । विश्वकै लामो र जब्बर पर्खाल भएको देशको कानुन उस्तै जब्बर हुन्छ र उनलाई चौघेरामा हालेर कपटी हाँसो हाँसेको जेलको पर्खाल पनि उस्तै जब्बर ।

स्याओन्याओले चीनको जेलमा चीन, चिनियाँ र त्यहाँको संस्कृति समेत सिक्छिन्, तर त्यसको जीवनमा के उपयोग ?  यो त खाली हेमिङ्वेको उपन्यास ‘ओल्ड म्यान एन्ड द सी’मा त्यसको मुख्य पात्र बुढो मान्छेले मासुका लागि माछा मार्न गएपनि कैयौं दिनको प्रयासबाट विशालकाय माछा समाते पनि त्यसको कंकाल मात्र समुद्र किनारमा आइपुगेको दु:खद् घटना जस्तै हो । बुढाले उपयोगहीन कंकाल ल्याएर आत्मरतिमा रमाएभन्दा केही बढी छैन स्याओन्याओको जीवनमा ती कुराको महत्व ।

उपन्यासमा छोरी जन्माएर हुर्काउनै नसक्ने अभागी आमा न्याउली मात्र होइनन् । आइफोन किन्न आफ्नो नवजात शिशु अनलाइनबाट बेच्ने अपराधमा जेल परेकी चिनियाँ युवतीले न्याउलीलाई झस्काएकी छन् भने बालमन्दिरमा छोडिएकी आफ्नी परित्यक्त छोरी कुनै विदेशी महिलाले लगेर हुर्काएको घटनाले आमाको वात्सल्य प्रेम कुनै न कुनै रूपमा धर्तीमा अवतरित हुन्छ र आमा देवी जस्तै बहुरूपी हुन्छिन् भन्ने देखाउन रुइबाका सर्जक सफल छन् ।

उपन्यासमार्फत तामाङ जातिको धर्म संस्कृति र परम्पराको सजीव चित्रण गर्दै त्यस भाषाको टेवामा साहित्यिक योगदान समेत गरेको छ रुइबाले । त्यस्तै देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था र असमानताका कारण दशौं वा सयौं न्याउली ‘स्याओन्याओ’ बन्नुपर्ने अवस्थालाई यसले उजागर गरेको छ ।

स्थानीय तामाङ लबजले पात्रमा जीवन्तता थपेको छ । जातिगत पछौटेपन र अज्ञान जीवनलाई उपहार गर्ने अन्तर्निहित तत्व बनेका छन् । कथाको क्लाइमेक्समा लगेर पाठकको ध्यानलाई तितरबितर पार्दै फलागमतर्फ लगेर पाठकलाई अप्सन छान्ने मौका नै नदिई अथवा छानेपनि भएमध्येको घातक अप्सन छान्न बाध्य बनाउने  सर्जकको शैली बडो जब्बर छ ।

सम्पूर्ण उपन्यासभरि आमालाई न्याउली अनि मंगले र सोममायालाई आफ्नी आमाका बारेमा जानकारी दिने सेतुजाल कतैपनि लेखकले नबुन्नुले उनी ती अबोध बालकहरूप्रति न्याउली जस्तै निठुरी छन् कि भन्ने आशंका पैदा हुन्छ । त्यस्तै देश समेत आफ्ना नागरिकको अवस्था बुझ्न कुनै परदेशी अन्खासी महिलाको सूचनामा भर पर्नुपर्ने र वर्षौंपछि मात्र सजग हुनुले दोर्जेले मर्ने बेलामा देशको माटो पाएन भनेर चिन्तित हुनुपर्ने भाव मनमा कतिञ्जेल गुञ्जाएर राख्न सकिन्छ ? रुइबाका सर्जकले जवाफ दिनु पर्छ…..।

(गौतम मोरङको कानेपोखरीस्थित जनकल्याण माविका विज्ञान शिक्षक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?