
१ फागुन, बुटवल । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्दै आइतबार रुपन्देहीमा नेकपा एकीकृत समाजवादीका भातृ संगठनले प्रदर्शन गरेका छन् ।
बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, ‘एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताए ।
उनले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए ।
युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्न उठेकाले त्यसबारे सहमति नगरिकन संसदमा लैजानै नहुने बताए ।
प्रतिक्रिया 4