+
+

ए डिभिजन लिग : उपाधिमा मछिन्द्रको एक्लो दाबेदारी, रेलिगेसन होड रोमाञ्चक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन २ गते ९:५६

२ फागुन, काठमाडौं । झण्डै एक महिनाको ब्रेकपछि फेरि सुरु भएको  शहीद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेलहरू आइतबार सकिएपछि उपाधि होडमा मछिन्द्र एफसी एक्लो दाबेदारको रुपमा देखा परेको छ ।

साविक विजेता मछिन्द्रले तीन चरणको खेल बाँकी हुँदा दोस्रो स्थानको मनाङमाथि ६ अंकको अग्रता कायम गरेको छ भने हेड टु हेडमा पनि मछिन्द्र नै अघि छ ।

अर्कोतर्फ पुछारको फ्रेण्ड्स क्लबले सिजनको पहिलो जित निकाल्दै कम्तीमा पनि एक चरणका लागि रेलिगेसन क्षेत्र छाड्न सफल भएको छ । यसले फ्रेण्ड्सलाई ठूलो राहत मिलेको छ भने रेलिगेसन ब्याटल झन् रोमाञ्चक बनाएको छ । फ्रेण्ड्ससँग हारेको ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब अहिले रेलिगेसन जोनमा छन् ।

दशौं चरणको खेलपछि साविक विजेता मछिन्द्रसँगै साविक उपविजेता त्रिभुवन आर्मी एफसीले अपराजित यात्रा कायम राखेको छ ।

मछिन्द्रको दाबेदारी

मछिन्द्र ८ जित र २ बराबरीपछि २६ अंक जोडेर शीर्ष स्थानमा छ । मनाङ भने २० अंक जोडेर दोस्रो स्थानमा छ ।

दशौं चरणमा विमल घर्ती मगर चम्किएपछि मछिन्द्रले च्यासल युथ क्लालई २-० ले हरायो । मनिष डाँगीको चोटले यो खेलको नतिजालाई नै छायामा पार्‍यो । केट्या यानिकसँग ठोक्किएर मैदानमा लडेका मनिषले ६ मिनेटपछि होस आएको थियो ।

मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले भने लिगमा लगातार ९ खेलमा क्लिनसिट राखे । उनले गोल नखाएको समय ८४६ मिनेट पुगिसकेको छ ।

मछिन्द्रसँग पराजित च्यासल भने जम्मा पाँच अंक जोडेर लिगको पुछारमा छ र रेलिगेसनको दबाबमा छ ।

दोस्रो स्थानको मनाङ थ्रीस्टारसँग बराबरीमा रोकिंदा मछिन्द्रलाई फाइदा पुगेको हो । मछिन्द्रले अब सातदोबाटो युथ क्लब, थ्रीस्टार एपीएफसँग खेल्न बाँकी छ । तीनमध्ये एक जितले पनि मछिन्द्रलाई उपाधि रक्षा गर्न पर्याप्त हुनेछ । मनाङले अब एपीएफ, एनआरटी र आर्मीसँग खेल्न बाँकी छ ।

उपाधि होडमा मछिन्द्र एक्लो दाबेदारकै रुपमा अघि देखिएको छ । तेस्रो स्थानको आर्मी पनि जावालखेलसँग बराबरी खेलेपछि मछिन्द्रलाई चुनौती दिने क्लब कमजोर बने ।

अब ११औं चरणमै लिग च्याम्पियनको टुङ्गो लाग्न सक्नेछ । बुधबार हुने खेलमा नवप्रवेशी सातदोबाटोलाई हराएमा मछिन्द्रले दुई खेल अगावै लिग उपाधि पक्का गर्नेछ ।

रोमाञ्चक रेलिगेसन ब्याटल

उपाधि होडमा धेरै प्रतिस्पर्धा नभए पनि रेलिगेसन ब्याटल भने रोमाञ्चक बन्दै गएको छ । यस पटक दुई टिम रेलिगेसनमा पर्ने भएकोले पनि अझ रोमाञ्चक बनेको हो ।

लिगकै सर्वाधिक गोल भएको खेलमा फ्रेण्ड्सले ब्रिगेडलाई ५-२ ले पराजित गर्दै सिजनको पहिलो जित निकाल्यो । यो जित कति महत्वपूर्ण रह्यो भने फ्रेण्ड्सले एकै जितपछि ब्रिगेडलाई र च्यासललाई पछि पार्दै रेलिगेसन जोन छाड्यो । समान ६ अंक भए पनि ब्रिगेडसँग फ्रेण्ड्स हेड टु हेडमै अघि छ ।

तालिका फ्रेण्ड्स, ब्रिगेड र च्यासल अन्तिम तीन स्थानमा छ । त्यो भन्दा अघि रहेको जावलाखेल ९ अंकसहित ११औं स्थानमा छ । जावलाखेल रेलिगेसन जोनबाट तीन अंक मात्र माथि छ । त्यसअघि एपीएफ ११ अंकसहित नवौं र नेपाल पुलिस १० अंकसहित १०औं स्थानमा छन् ।

अब हुने खेलबाट रेलिगेसन ब्याटल कस्तो हुन्छ थाहा हुनेछ । अब फ्रेण्ड्सले जावालखेलसँग खेल्नेछ भने ब्रिगेड र च्यासलबीच खेल हुनेछ । त्यसपछि फ्रेण्ड्स च्यासलबीचको खेल १२औं चरणमा हुनेछ । यो तीन खेल नै रेलिगेसनका लागि निर्णायक बन्न सक्छ ।

पहिलो जितपछि फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले अब रेलिगेसनबाट बच्न अब २ खेल जित्नै पर्ने बताएका थिए । फ्रेण्ड्सको अन्तिम चरणको खेल हिमालयन शेर्पासँग छ ।

संकटासँग पछिल्लो खेल बराबरी भएपछि एपीएफका प्रशिक्षक कुमार थापाले पनि रेलिगेसनको चिन्ता नटरेको प्रतिक्रिया दिएका थिए ।

एपीएफको ११ अंक रहे पनि अब खेल्न बाँकी रहेको टिम बलियो रहेकोले पनि चिन्ता देखिएको हुन सक्छ । एपीएफले अब मनाङ, पुलिस र मछिन्द्रसँग खेल्न बाँकी छ । १० अंक मात्र रहेको पुलिसले पनि एपीएफबाहेक थ्रीस्टार र एनआरटीसँग खेल्न बाँकी छ ।

अब लिगमा छिटो-छिटो खेल हुने भएकोले पनि नतिजालाई असर गर्न सक्छ । दशौं चरणपछि क्लबहरूलाई एक दिनको मात्र ब्रेक हुनेछ । मंगलबारदेखि नै ११औं चरणका खेल सुरु हुनेछ ।

गोल्डेन बुट होडमा २ खेलाडी

उपाधि र रेलिगेसन बाहेक यस सिजन अर्को एउटा अवार्डका लागि प्रतिस्पर्धा तीव्र छ । त्यो टिम नभएको व्यक्तिगत अवार्डका लागि हो । यस पटक अखिल नेपाल फुटबल संघ एन्फाले सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कारसहित ‘हाइएस्ट स्कोरर’को अवार्ड दिँदैछ ।

त्यसमा दुई खेलाडी संयुक्त रुपमा शीर्ष स्थानमा छ ।

मछिन्द्रका सुनिल बलले च्यासलविरुद्धको गोलपछि सर्वाधिक ६ गोल गर्नेमा आफूलाई पनि सामेल गराएका छन् । मनाङका ओलावाले आफिजले पनि ६ गोल गरेका छन् ।

लिगको सुरुवातदेखि नै सुनिलले मछिन्द्रको लागि निर्णायक गोल गर्दै आएका छन् ।

यस्तै सर्वाधिक गोलकर्ताको होडमा सातदोबाटोमा अजयी मार्टिन्स पनि छन् । मार्टिन्सको नाममा ५ गोल छ ।

यस सिजन दुई ह्याट्रिक भएको थियो । र ती ह्याट्रिक गर्ने खेलाडी पनि ओलावाले र मार्टिन्स नै हुन् ।

अब तीन खेल मात्र बाँकी रहँदा यी तीन खेलाडीलाई गोल थप्दै सर्वाधिक गोलकर्ता बन्ने अवसर छ ।

दशौं चरणको खेलको नतिजा

फ्रेण्ड्स क्लब ५-२ ब्रिगेड ब्वाइज क्लब

त्रिभुवन आर्मी एफसी १-१ जावलाखेल युथ क्लब

मछिन्द्र एफसी २-० च्यासल युथ क्लब

मनाङ मर्स्याङ्दी क्लब १-१ थ्रीस्टार

नेपाल पुलिस क्लब ०-१ सातदोबाटो युथ क्लब

एनबरटी ०-० हिमालयन शेर्पा

एपीएफ एफसी ०-० संकटा क्लब

दशौं चरणको खेलको गोलकर्ता

सुशील शाह (२ गोल), फ्रेण्ड्स

जमाउल एन्थोनी फ्रान्कोइस (२ गोल), फ्रेण्ड्स

श्याम बाबु क्याप्छकी, फ्रेण्ड्स

ड्याडी जुनियर, ब्रिगेड

अनिल गुरुङ, ब्रिगेड

ओङ्गोना जुनियर,  जावलाखेल

सुमन अर्याल, आर्मी

विमल घर्तीमगर, मछिन्द्र

सुनिल बल, मछिन्द्र

आकाश बुढा मगर, सातदोबाटो

दयानन्द एलाङबाङ, मनाङ मर्स्याङ्दी

ऋतिक कुमार खड्का, थ्रीस्टार

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?