
३ फागुन, काठमाडौं । फागुन १३ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचार तीव्र पारिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा र निर्माता तथा निर्देशक सुदर्शन थापा दौडधुप गरिरहेका छन् ।
अधिकांश कलाकारहरु चलचित्र रिलिजपछि मात्र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न हलमा पुग्ने गर्छन् । तर यो चलचित्रका कलाकार भने चलचित्र रिलिजको दुई साताअघि नै हल-हलमा पुगिरहेका छन् ।
२७ दिन लामो बन्दका कारण शून्य बनेका हलहरु फागुन १ गतेदेखि चलमलाउन थालेका छन् । सुदर्शन, पूजा र पल हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् भने हलका कर्मचारी, म्यानेजरसँग पनि भेटघाट गरिरहेका छन् ।
उनीहरु काठमाडौंका मुख्य हलहरु क्यूएफएक्स सिभिल मल, छायाँ सेन्टर, बिग मुभिज, एफक्यूब लगायतका हलमा पुगेका हुन् ।
कोरोना संक्रमणको तेस्रो लहरपछि प्रदर्शन हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ पहिलो चलचित्र हो ।
निर्देशक सुदर्शन थापाले भने, ‘हामी हलहरुको अवस्था के छ, दर्शकले चलचित्रको विषयमा के भन्नुहुन्छ भनेर बुझ्न हलमा पुगेका हौं । चलचित्र निक्कै नै मेहनतका साथ बनाएकाले पनि दर्शकको ठूलो संख्या हलसम्म पुग्नुहुन्छ भन्नेमा विश्वास छ ।’
सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रका गीत हिट भइसकेका छन् ।
प्रतिक्रिया 4