+
+

इलामको सुकिलुम्बामा फागुन ११ देखि तारा एअरले उडान सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १६:५०

३ फागुन, काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौंखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुई वटा नियमित उडान हुन लागेको हो ।

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि विसं २०७५ जेठ २१ गते तारा एअरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । ११ फागुनदेखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राका लागि हाल एकतर्फी भाडा ९ हजार रुपैयाँ कायम गरिएको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एअरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । इलामलाई प्रकृति र संस्कृतिको संगम रहेको  र पर्या-पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना पनि रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राका लागि सहज हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?