+
+

‘नेपाली बास्केटबल पुरानै अवस्थामा फर्कन्छ’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन ३ गते २०:३४
स्व. लामा टेण्डीका बाबु लामा पासाङ शेर्पा (बीच) र दाइ नवाङ निमा लामा (बाँया) र नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीम सिंह गुरुङ (बायाबाट दोस्रो) प्रतियोगिताको उद्घाटन गर्ने क्रममा बल हस्तान्तरण गर्दै ।

३ फागुन, काठमाडौं । कुनै जमाना थियो नेपाली बास्केटबल भन्नेवित्तिकै लामा टेण्डी शेर्पाको नाम आउँथ्यो । उनी बास्केटबल संघको अध्यक्ष हुँदा नै नेपाली बास्केटबलले फक्रिने मौका पायो ।

तर उनी बिरामी परेसँगै सुस्ताएको नेपाली बास्केटबल क्षेत्र उनको निधनपछि शून्यकै स्थितिमा पुग्यो । नशाको समस्याका कारण दुई वर्ष थलिएका टेण्डीको गत मंसिरमा निधन भयो ।

पछिल्लो दुई वर्ष खेलकुद गतिविधि नहुनुमा कोरोना महामारी पनि कारण बन्यो, बास्केटबलमा पनि यसको असर देखियो । अब भने नेपाली बास्केटबल फेरि उठ्ने तरखरमा छ । त्यो पनि लामा टेण्डी शेर्पा स्मृति खुल्ला पुरुष तथा महिला बास्केटबलबाट ।

टेण्डी अध्यक्ष हुँदा उपाध्यक्ष रहेका भीमसिंह गुरुङ अहिले नेपाल बास्केटबल संघको कार्यवाहक अध्यक्ष छन् । टेण्डीले नै निधन हुनुअघि गुरुङलाई कार्यवाहक बनाएका थिए । त्यसैले अहिले गुरुङलाई टेण्डीले बनाएको बास्केटबलको लिगेसी फर्काउने, नेपाली बास्केटबललाई पुरानै लयमा फर्काउने चुनौती छ ।

टेण्डी बिरामी परेपछि नेपालमा बास्केटबलको खेल भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नै हो । आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा नेपालगन्जमा भएको थियो । यस्तै २०७६ मंसिरमा नेपालमै १३औं साग आयोजना भयो ।

जसमा नेपालको महिला टोलीले रजत र पुरुष टोलीले कास्य जितेको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डै चार वर्षपछि नेपालमा अर्को राष्ट्रिय स्तरको बास्केटबल हुन लागेको हो ।

कार्यवाहक अध्यक्ष गुरुङले टेण्डी बिरामी हुँदा नेपाली बास्केटबल निष्क्रिय भएको स्वीकार गर्दै त्यतिबेला आफूलाई पूरा जिम्मेवारीसाथ काम गर्ने अधिकार नभएको टिप्पणी गरे ।

‘पछिल्लो दुई वर्ष भन्दा बढी त कोरोनाले गर्दा बास्केटमात्र नभएर सबै खेललाई असर गर्‍यो । उहाँ (लामा टेण्डी शेर्पा ) बिरामी भएपछि संघ निष्क्रिय भएको हामी स्वीकार गर्छौँ । अध्यक्ष बिरामी हुनुभएकोले सबै उहाँको उपचारमा खटियौं, म पनि खटेँ । त्यो कारणले पनि बास्केटबल गतिविधि प्रभावित बन्यो’ उनले भने ।

अब ओलम्पिक कमिटीमा आवद्ध  संघहरुमध्ये सबैभन्दा धेरै गतिविधि गर्ने संघमा बास्केटबल संघ आउने कार्यवाहक अध्यक्ष गुरुङले दावी गरे । त्यसको सुरुवात यही लामा टेण्डी स्मृति बास्केटबलबाट सुरु भइसकेको गुरुङले बताए । ‘बास्केटबल पुरानै अवस्थामा जान्छ नै त्यो भन्दा माथि पनि जान्छ ढुक्क हुनुस्’ उनले दावी गरे ।

बास्केटबल गतिविधिलाई निरन्तरता दिने र राष्ट्रिय टिममा पनि नयाँ खेलाडीहरु ल्याउँदै बलियो टिम बनाउने गुरुङ नेतृत्वको लक्ष्य छ । नेपाल बास्केटबल संघले आगामी वैशाखमा फ्रेन्चाइज लिग गर्ने तयारीसमेत गरेको छ ।

‘नेपालको सबैभन्दा ठूलो र नेपाल बास्केटबल संघको ऐतिहासिक फ्रेन्चाइज लिगको वार्मअप प्रतियोगिताको रुपमा पनि यो प्रतियोगिता गर्दैछौँ । यसबाट हामी धेरै खेलाडी छान्छौँ । आउँदो फ्रेन्चाइज लिग कुन प्याटर्नमा जाने भनेर पनि यसले निर्देशन गर्छ’ कार्यवाहक अध्यक्ष गुरुङले भने ।

फ्रेन्चाइज लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने नेबाले यसअघि नै घोषणा गरिसकेको छ । जसमा विदेशी खेलाडी समेत हुनेछन् । गुरुङले अब देशैभरि बास्केटबल गतिविधि गर्दै खेलाडी खोजी गरेर राष्ट्रिय टिममा फेरबदल गर्ने बताएका छन् ।

यसअघि राष्ट्रिय टिमका खेलाडीले संघले आयोजना गरेको बाहेक अन्य प्रतियोगिता खेल्न नपाएको गुनासो गरेका थिए । तर गुरुङले अब भने संघसंग आवद्ध भएर आयोजना भएको प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरुले पनि खेल्न पाउने बताए । ‘अब खेलाडीहरु र्‍याङ्किङ सिस्टम राख्छौँ ए र बी क्याटेगोरी हुन्छ । र्‍याङकिङ भएका र संघसंग आवद्ध खेलाडीले प्रतियोगिता खेल्दा त्यो संघसंग आवद्ध हुनुपर्ने छ । संघले मान्यता दिएको मात्र खेलोस् भन्ने हो सिस्टममा बसोस् भन्ने हो’ उनले भने ।

लामा टेण्डीले आफू नेतृत्वमा हुँदा फ्रेन्चाइज लिग गर्ने तयारी गरेका थिए । जसलाई उनले पूरा गर्न पाएनन् । अब नयाँ नेतृत्वले त्यो सपना पूरा गर्ने र त्यसको सुरुवात भइसकेको कावा अध्यक्ष गुरुङले बताए ।

‘उहाँको सबैभन्दा ठूलो सपना नेपालमा फ्रेन्चाइज लिग गर्ने त्यो पूरा हुँदैछ’ गुरुङले भने । त्यस्तै शेर्पाले बास्केटबल संघको आफ्नै अन्तर्राष्ट्रिय कभर्डहल बनाउने योजना पनि बनाएका थिए । ‘त्यो पनि भेन्यूका लागि उपयुक्त स्थान भेटेका छौँ मेरै कार्यकालमा बनाउने योजना छ’ गुरुङले भने ।

यस्तै टेण्डीले देखेको अर्को सपना थियो गिनिज बुकमा नाम लेखाउने । ‘उहाँको तेस्रो सपना हो संसारको उच्च स्थानमा बास्केटबल आयोजना गरेर नेपाली बास्केटबलले गिनिज बुकमा नाम लेखाउने’ गुरुङले भने, ‘त्यसका लागि सम्बन्धित निकायसंग कुरा गर्दैछौँ । प्राविधिक कुराहरु के छ हामी योजना बनाउँदैछौँ । निकट भविष्यमा नै यो काम पनि गर्नेछौँ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?