+
+
च्याम्पियन्स लिग :

बार्सिलोना छैन, इंग्लिस टोलीले क्लिन स्वीप गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते २०:४४

३ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबल २०२२ को नकआउट चरणका खेलहरु मंगलबार राति सुरु हुँदैछ । प्रतियोगितामा यसबर्ष केही फरक हुनेछ ।

केही अनुभवी, केही नयाँ टोली अनि धेरै खेलाडीको लागि नयाँ अनुभव हुनेछ च्याम्पियन्स लिग नकआउट चरणका खेलहरु ।

१८ बर्षपछि बार्सिलोना हुने छैन

च्याम्पियन्स लिगको नकआउट चरणमा यो पटक बार्सिलोना हुने छैन, जुन १८ बर्षमा पहिलो पटक हो ।

कतिपयले क्याटलान क्लबको अनुपस्थितिलाई ‘फुटबलको शक्तिबाट बार्सिलोनाको राजीनामा’ समेत भनेका छन् । समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित हुँदै नकआउट चरणमा पुग्न नसकेपछि स्पेनिस समाचारपत्र एएसले बार्सिलोना फुटबलको शक्तिबाट हट्यो भनेको थियो ।

बार्सिलोना अब फुटबल क्लबहरुको महासंग्राम मानिने च्याम्पियन्स लिगको साटो युरोपा लिग खेल्नेछ, जसमा उसको प्रतिस्पर्धा इटालियन क्लब नापोलीसँग गर्नेछ ।

यसअघि २००४ मा सेल्टिकसँग पराजित भएपछि बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाट वञ्चित भएको थियो । यो पटक बार्सिलोना नकआउट चरणमा नहुनु अनौठो लाग्नसक्छ, तर थप ‘बेइज्जती’बाट बचेको पनि मान्न सकिन्छ ।

पछिल्लो तीन सिजनको खेलले त्यही भन्छ । अघिल्लो सिजन क्वार्टर फाइनलमा बार्यन म्युनिखसँग ८–२ को हार व्यहोरेको बार्सिलोना त्यसअघि २०१८ को क्वार्टरफाइनलमा रोमा र २०१९ को सेमिफाइनलमा लिभरपुलविरुद्ध पहिलो लेगमा तीन गोलको अग्रता लिएर पनि अघि बढ्न चुकेको थियो ।

इंग्लिस क्लबको क्लिन स्वीप ?

पछिल्लो पाँच सिजनमध्ये चौथो पटक नकआउट चरणमा चार इंग्लिस क्लब छन् । यो पटक चार इंग्लिस क्लब छन्, म्यान्चेस्टर सिटी, चेल्सी, लिभरपुल र म्यान्चेस्टर युनाइटेड ।

नकआउट चरणमा रहेका चारमध्ये तीन इंग्लिस क्लबलाई उपाधिको दावेदार मानिएको छ । म्यानचेष्टर सिटीले स्पोटिङ लिस्बेन, चेल्सीले लिले, म्यानचेष्टर युनाइटेडले एथ्लेटिको मड्रिड र लिभरपुलले इल्टर मिलानसँग खेल्नुपर्ने छ ।

चारै इंग्लिस क्लबका प्रतिद्वन्द्वी घरेलु लिग च्याम्पियन हुन् । यद्यपि सबै यो सिजन घरेलु लिगको शीर्ष स्थानमा छैन ।

गत सिजन चेल्सीले म्यानचेष्टर सिटीलाई हराएर उपाधि जितेको थियो । यो वर्ष पनि दोहोरिएला ? पेप ग्वार्डिओलाले मेस्सी र बार्सिलोना बिना च्याम्पियन्सको उपाधि उचाल्न पाउला ? यो प्रश्नको उत्तर भोलिका दिनहरुले दिनेछ ।

फरक टोलीको गज्जब भिडन्त

यस पटकको च्याम्पियन्स लिगको नकआउट चरणमा गजबको समिश्रण देख्न पाइने छ । किनकी अन्तिम १६ मा पुगेका टोलीहरु फरक फरक आठ लिगबाट आएका हुन् ।

युरोपको शीर्ष पाँच लिगभन्दा बाहिरबाट आएका टोली पनि छन् साल्जबर्ग, अयाक्स, बेन्फिका र स्पोर्टिङ लिस्बन । साल्जबर्ग त पहिलो पटक नकआउट चरणमा पुगेको छ ।

आयाक्स लिगमा यो सिजन धेरै गोल गर्ने दोस्रो टोली हो । त्यसैले यो सिजन लिगमा नयाँ टप स्कोरर आउन सक्ने सम्भावना पनि छ । आयाक्सका सेबास्टियन हालरले समूह चरणको ६ खेलमा १० गोल गरिसकेका छन् भने लिइपजिगका कुङ्कुले सात गोल गरेका छन् ।

‘रि–ड्र’ले कसलाई फाइदा भयो ?

यसपटक नकआउट चरणका लागि दुई पटक ‘ड्र’ गर्नुपर्‍यो । किनकी सुरुको ड्र त्रुटिपूर्ण रह्यो । कुन टोलीले कोसँग खेल्न मिल्छ भन्ने मिलाउने क्रममा प्राविधिक त्रुटि भएको थियो । त्यसपछि सबै ड्र रद्द गरेर अर्को पटक गरियो ।

यसक्रममा केही टोलीले अघिल्लो ड्रको तुलनामा सहज प्रतिद्वन्द्वी पाएको देखिन्छ । जस्तो, म्यानचेष्टर युनाइटेडले सुरुमा पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रतिद्वन्द्वी पाएको थियो । त्यसो भएको भए रोनाल्डो भर्सेस मेस्सी हुने थियो ।

तर दोस्रो पटक गरिएको ड्रमा युनाइटेडले एथ्लेटिको मड्रिड प्रतिद्वन्द्वी पायो, जुन ला लिगको शीर्ष चारमा छैन । पीएसजीले भने रियल मड्रिड प्रतिद्वन्द्वी पायो, जुन उसका लागि म्यानचेष्टर युनाइटेडको तुलनामा बलियो मानिन्छ ।

लिभरपुलले सल्जबर्गको सट्टा सिरी ए च्याम्पियन तथा लिग लिडर इन्टर मिलान प्रतिद्वन्द्वी पायो । म्याचेष्टर सिटीले भियारियलको साटो लिस्बोन प्रतिद्वन्द्वी पाउँदा चेल्सीले दुबै पटक लिले पाएको छ । बार्यन म्युनिखले एल्थेटिको मड्रिडको साटो साल्जबर्ग प्रतिद्वन्द्वी पायो भने रियल मड्रिडले बेन्फिाकाको साटो पीएसजी ।

‘रि–ड्र’ ले कुन क्लबलाई फाइदा होला भन्ने भने खेल पछि मात्र थाहा हुनेछ ।

‘अवे गोल’को अवधारणा खारेज

द युनियन अफ युरोपियन फुटबल एशोसिएसन (युईएफए)ले अवे गोलको अवधारणा खारेज गरेसँगै च्यम्पियन्स लिगको नकआउट चरण अझ आकर्षक बनेको छ ।

होम एण्ड अवेका आधारमा हुने नकआउट चरणमा बराबरी गोल हुँदा अवे गोल निर्णायक हुन्थ्यो । तर अब दुबै लेगपछि गोल बराबरी भए अतिरिक्त समय र पेनाल्टी हुनेछ । यो नियमले नकआउट चरणका खेलको गतिशीलतामा पक्कै प्रभाव पार्ने छ ।

मेस्सीले पिएसजीलाई उपाधि दिलाउलान् ?

पीएसजीले पहिलो पटक लियोनल मेस्सीलाई अनुबन्ध गर्दा पीएसजीको उद्देश्य लिग वानको उपाधि रक्षा गर्ने होइन च्याम्यिन्स लिगको उपाधि जित्ने थियो । किनकी कतारी लगानी रहेको यो क्लबले खेलाडीहरुलाई धनवर्षा गर्दा पनि च्याम्यिन्स लिग जित्न सकेको छैन ।

२०२० मा उपाधि नजिक पुगेको पीएसजी फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको थियो ।

यो पटक पीएसजीसँग विश्व फुटबलकै उत्कृष्ट तीन फवार्ड छन्, मेस्सी, नेइमार र केलियन एम्बाप्पे । आगामी जुनमा फ्रि ट्रान्सर्फरमा स्पेनिस क्लब जान खतरा हुँदाहुँदै पीएसजीले एम्बापेलाई १३७ मिलियन पाउन्डमा किन्ने रियल म्याड्रिडको प्रस्ताव समेत अस्वीकार गरेको छ । पीएसजीले च्याम्पियन्स लिग उपाधिका लागि एम्बाप्पेलाई नबेचेको हुनसक्ने कतिपयको विश्लेषण छ ।

मेस्सीले पनि २०१५ पछि च्याम्पियन्स लिग जितेका छैनन् । ३५ वर्षका उनले धेरै सिजन खेल्ने सम्भावना नभएकाले यो सिजन च्याम्यिन्स लिगको आश गरेका छन् । बार्सिलोना छाडेर यसबर्ष पिएसजीमा आवद्ध भएका उनको यो सपना साकार हुन सक्ला कि नसक्ला त्यो भने भोलिका दिनमा थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?