३ फागुन, काठमाडौं । नेपाली फुटबलमा एउटा सम्भावित दुर्घटना टरेको छ । यसअघि कहिले भोग्न नपरेको घटना शनिबार शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मच्छिन्द्र एफसी र च्यासल युथ क्लबबीचको खेलमा भयो ।
मछिन्द्रका मनिष डाँगी खेलका दौरान घाइते भए । तर उनको चोट अन्य खेलाडीको जस्तो थिएन । ६५औं मिनेटमा च्यासलका केट्चा यानिकले बल प्हार गर्न लाग्दा मनिषको टाउकोको पछाडि भागमा लागेको थियो । मैदानमा ढलेका उनको टाउको भइँमा जोतियो । चिकित्सकहरुका अनुसार टाउकोमा चोट लागेका उनको उपचारमा केही क्षण मात्र ढिला भएको भएको भए पनि जीवन तलमाथि हुनसक्ने खतरा थियो । किनकी उनी करिव ४ मिनेट होसमै थिएनन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको मेडिकल टिम, मच्छिन्द्रका फिजियो सुरज भुसाल लगायत टिमले मैदानमै प्रारम्भिक उपचार गरेपछि मनिष होसमा आए, तर उनले केही थाहा पाएनन् । सर्ट टर्म मेमोरी लस भएको थियो ।
उनलाई एम्बुलेन्समा राखेर ब्लू क्रस अस्पतालमा लगिएका उनको ईसीजी र ईको परीक्षणको रिपोर्ट सामान्य थियो । दायाँ कानमाथि एक सेन्टिमिटर चोट लागेको थियो, जहाँ दुईवटा टाँका लगाइएको छ । ४८ घण्टाको मेडिकल अब्जरभेसनमा उनको स्वास्थ्य अवस्था सामान्य भएपछि मंगलबार दिउँसो अस्पतालबाट डिस्चार्ज भए । जुन नेपाली फुटबल र मनिषको लागि पनि सुखद हो ।
कहिले मैदान फर्किन्छन् ?
तर तत्काल मैदान भने फर्किने सम्भावना कम छ । लिग लिडर मछिन्द्रले तीन खेल मात्र खेल्न बाँकी छ । मनिषलाई अझै केही समय आराम चाहिने भएकाले बाँकी खेल नखेल्ने सम्भावना बढी छ । गत मे मा इराकविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यू गरेका मनिषले गोल गरेका थिए । ए डिभिजन लिग पनि उनमा डेब्यू नै हो ।
एन्फा मेडिकल डिपार्टमेन्टकी फिजियो नविना श्रेष्ठका अनुसार एक हप्तापछि मनिषलाई सबै घटना याद छ वा छैन ? भन्ने परीक्षण हुनेछ । त्यसपछि कहिले मैदान फर्किने भन्ने टुंगो लाग्नेछ ।
सिकाएको पाठ
मनिषको चोट, त्यसले ल्याएको संकट, उपचार अनी डिस्चार्ज हुँदासम्म धेरै कुरा भएका छन् । मनिषको सुरुको उपचारमा संलग्न टिमले गरेको कामको सबैले प्रशंसा गरेका छन् भने एन्फाको आलोचना । मनिष घाइते हुँदा मछिन्द्रका फिजियो सुरज भुसाल सुरुमै मैदान गए ।
त्यसपछि एन्फा मेडिकल डिपार्टमेन्टकी फिजियो नविना श्रेष्ठसहित पुगेका थिए । मछिन्द्रकै प्रशिक्षक प्रवेश कटुवालले पनि एन्फाको मेडिकल टिमको विषयमा आलोचना गरेका थिए ।
एन्फाले मनिषको चोटको दुई दिनपछि यसबारे जानकारी गराउन सोमबार पत्रकार सम्मेलन राखेको थियो, तर भएन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीको गाइडलाइन अनुसार मेडिकल टिम राखिएको र ४ मेडिकलसम्बन्धी व्यक्ति सधै रहने गरेको बताए । उनको दाबी छ, ‘हामीले खेलाडीको सेफ्टी र सेक्युरिटीमा महत्व दिएका छौँ । खेलाडीको स्वास्थ्यको अवस्थामा एन्फा चुकेको छैन ।’
टेन्डर प्रक्रियामार्फत ‘इशारा’ नामक कम्पनीले डाक्टर उपलब्ध गराएको उनले बताए । तर शनिबार घटना भएको बेला इशाराका डा. रोशन खतिवडा भने मैदानमा थिएनन् । उनी एन्फा मेडिकल डिपार्टमेन्टकी फिजियो नविनालाई जानकारी गराएर बाथरुम गएका बेला घटना भएको एन्फाको तर्क छ ।
यसबारे इशारासँग स्पष्टीकरण सोधेको र बुधबारसम्म रिपोर्ट बुझाउन भनेको बताए ।
फिजियो नविनाले पनि आफूलाई जानकारी गराएर गएको भन्दै भनिन्, ‘त्यो बेला डक्टर हुनुपर्ने थियो । उहाँ भएको भए सायद हामी आत्तिदैथ्यौं होला । सहज अवस्था हुन्थ्यो ।’ तर आफूहरु पाँच जना मेडिकल सहयोगी मैदानमा पुगेको उनले बताइन् । भन्छिन्, नराम्रो व्यवस्थापन भन्ने् खबरहरु आए, त्यसले दुःख लागेको छ ।’
एन्फाका महासचिव तुलाधरले आफ्नो मेडिकल टिममा विश्वस्त रहेको र उनीहरु मनिषको स्वास्थ्यको विषयमा सफल भएको समेत बताए ।
‘हाम्रो मेडिकल टिमले खेलाडीको उपचार गरेर सम्भव गरेका छन् । उनीहरु सफल भएको हामीलाई लागेको छ,’ तुलाधरले भने, ‘कतै गल्ती भए आउने दिनमा सुधार गर्छौं ।’ तर यो घटनाले मेडिकल टिमलाई अझ सुस्त बनाउनुपर्ने पाठ भने नेपाली फुटबलका साथै खेलकुदलाई नै ठूलो पाठ सिकाएको छ ।
 
                    










 २०७८ फागुन  ३ गते २१:४१
                        २०७८ फागुन  ३ गते २१:४१                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4