+
+

बेनामे प्रदेशको चार वर्ष : ३ मुख्यमन्त्री, २९ मन्त्री

हरि अधिकारी हरि अधिकारी
२०७८ फागुन ४ गते ७:०४

४ फागुन, विराटनगर । प्रदेश १ सरकार स्थापना भएको चार वर्ष पूरा भएको छ । यो अवधीमा तीन जना मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन नेकपा एमाले संसदीय दलका नेता शेरधन राईले २०७४ साल फागुन ३ गते पदभार ग्रहण गरेका थिए । दुई तिहाइ बहुमतसहित तीन वर्ष सरकारको नेतृत्व गरेका राईले गत भदौं १० गते राजीनामा दिएपछि एमाले नेता भीम आचार्य मुख्यमन्त्री बने ।

मुस्किलले दुई महिना सरकार चलाएका आचार्यले कात्तिक १५ गते राजीनामा दिए । आचार्यको राजीनामापछि पाँच दलीय गठबन्धनको तर्फबाट कात्तिक १६ गते एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री छन् ।

चार वर्षको अवधिमा फेरिएका तीन मुख्यमन्त्रीले तत्कालीन नेकपा एमालेबाट चुनाव जितेका थिए । माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपा हुँदै एमाले विभाजन हुँदा नेकपा एससंसदीय दलका नेता राजेन्द्र राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका छन् ।

प्रदेशको पहिलो मुख्यमन्त्री राईले तीन वर्षसम्म सार्वजनिक रुपमा दिवस मनाए । चौथो वर्षमा भने प्रदेश सरकारले औपचारिक कार्यक्रम गरेन । सार्वजनिक कार्यक्रम नगरे पनि स्थापना दिवसको अवसरमा छलफल गरेको प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले बताए ।

तीन मुख्यमन्त्री, २९ मन्त्री

पाँच वर्षे आयु रहेको प्रदेश संसदको चौथो वर्षसम्म प्रदेश १ ले तीन जना मुख्यमन्त्री र २९ जना मन्त्री पाएको छ । मुख्यमन्त्रीसहित १३ मन्त्री र एक राज्यमन्त्री वर्तमान सरकारमा छन् ।

यसअघिको सरकारमा एमालेबाट दुई जना जना मुख्यमन्त्री र १६ जना मन्त्री बनेका थिए । पहिलो सरकारमा माओवादी केन्द्रबाट दुई जना सहभागी थिए । वर्तमान सरकारमा माओवादी केन्द्रबाट तीन जना सहभागी छन् ।

चार वर्षमा एमाले नेतृत्वको दुईवटा सरकार गठन हुँदा एमाले सांसद जीवन घिमिरे, हिक्मत कार्की, जगदिश कुशियत,रामबहादुर राना,तुलसी न्यौपाने, अम्बीरबाबु गुरुङ, उषाकला राई, बलबहादुर साम्सोहाङ, लछुमन तिवारी, हिराकुमार थापा मन्त्री बने । लिलाबल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी, कला घले, राजकुमार ओझा, जसमाया गजमेर राज्यमन्त्री बनेका थिए ।

एमाले कोटामा गैर सांसद टङ्क आङ्बुहाङ पनि मन्त्री बने । तत्कालीन माओवादी केन्द्रका नेता आङ्बुहाङले एमाले प्रवेश गर्दै मन्त्री बनेपछि माओवादीले उनलाई पदमुक्त गरेको थियो । पदमुक्त गरेपछि उनी गैरसांसदको रुपमा मन्त्री बनेका थिए ।

माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो, रामकुमार राई, झलकबहादुर मगर वर्तमान सरकारमा मन्त्री छन् । आङ्बो शेरधन राईको कार्यकालमा पनि मन्त्री थिए । राई नेतृत्वको सरकारमा विजय विश्वास पनि माओवादीबाट सरकारमा सहभागी बनेका थिए ।

नेकपा एसबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे मन्त्री छन् । नेपाली  कांग्रेसबाट केदार कार्की, हिमाल कार्की, प्रकाशप्रताप हाङ्गाम, शेखरचन्द्र थापा रओमप्रकाश सरावगी मन्त्री छन् ।

दलहरूले सत्ता स्वार्थका लागि सरकार ढाल्ने रबनाउने काम गरिरहँदा आलोचना भइरहेको छ । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठ चार वर्षमा बनेका तीन वटै सरकार पूर्ण रुपमा असफल भएको बताउछन् । सरकार जोगाउन राजनीतिक मूल्य मान्यताभन्दा बाहिर रहेर अनैतिक कामगरेको बताउँदै उनले तीन वटै सरकार असफल भएको बताएका हुन् ।

‘विगतदेखि वर्तमानसम्म सरकार असफल रहे, भ्रष्टाचारमा लिप्त भए’ उनले भने, ‘सत्ता जोगाउन नेताहरू अनैतिक खेलमा लिप्त भए, अर्थपूर्ण योजना सञ्चालन गर्न सकेनन् ।’

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई पछिल्लो कार्यशैलीले प्रदेश सरकारप्रति जनतामा नैरास्यता पैदा गरेको बताउँछन् । आफूले छरितो मन्त्रिमण्डल निर्माण गरी काम गरेको बताउँदै उनले मन्त्रालय विभाजन गर्दा अतिरिक्त आर्थिक भार थपिएको बताए ।

तीन वर्षमा १३२ उपलब्ध, एक वर्ष अलमलमा

२०७७ फागुन ३ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सार्वजनिक कार्यक्रम गर्दै तीन वर्षको काम समेटिएको हाते पुस्तिका सार्वजनिक गरे । सरकारको कार्यक्रमलाई तत्कालिन नेकपाको प्रचण्ड-माधव समूहले बहिस्कार गर्‍यो ।

२०७७ पुस ५ यता विकसित भएका राजनीतिक घटनाक्रमले गर्दा एक वर्ष काम नभएको माओवादी केन्द्रका एक सांसदले बताए ।

पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे नयाँ संरचना र नयाँ अभ्यास गर्दा चार वर्षमा उपलब्धि राम्रो भएको बताउँछन् । ‘संघीय र स्थानीय तहको संरचना पुरानै थियो’ उनी भन्छन्, ‘प्रदेशको संरचना र अभ्यास नयाँ हो, नयाँ अभ्यासमा राम्रा काम भएका छन् ।’

पछिल्लो समय भने नैरास्यता बढाएको उनको तर्क छ । ‘राजनीतिक स्थिरता हुँदासम्म कामले गति लिएको थियो’ उनले भने,’ अस्थिरता सुरु भएपछि त्यसको असर प्रदेश संरचनामा पर्‍यो ।’

गत वर्ष शेधन राईले सार्वजनिक गरेको पुस्तिकामा महत्वपूर्ण १३२ उपलब्धि हासिल गरेको उल्लेख थियो । जसमा ४९वटा ऐन,२४ वटा नियमावली, १० वटा निर्देशिका, २८ वटा कार्यविधि बनेको उल्लेख छ ।

‘प्रदेश सरकार स्थापना भएको चार वर्ष भयो, यो अवधिमा जनताले अनुभूति गर्ने गरी विकासको कम भएको छ’ प्रदेशका पहिलो मुख्यमन्त्री राई भन्छन्,’ म सन्तुष्ट नै छु, तर पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमले नैरास्यता पैदा गरेको छ ।’

शून्यबाट सुरु भएको प्रदेश १ ले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको उनको तर्क छ । ‘गाउँ-गाउँमा सडक पुल निर्माण भएका छन्’ उनले भने, ‘धेरै सकारात्मक उपलब्धिहरू भएका छन् ।’

आफ्नो कार्यकालमा प्रदेशको नामांकन हुन नसकेको बताउँदै उनले शून्यबाट सुरु भएको प्रदेशले छोटो समयमा सकारात्मक काम गरेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?