+
+

नेपालमै उत्पादित क्यान्सर रोगविरुद्धको औषधि बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:५६

३ फागुन, काठमाडौं । नेपालमै पहिलो पटक उत्पादन भएको क्यान्सर रोगविरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको कम्पनीका निर्देशक शैलेश वैद्यले जानकारी दिए ।

क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको वैद्यको दाबी छ ।

‘नेपालभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भइसकेको छ’ निर्देशक वैद्यले भने ।

टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याव (एसपीएएल)सँग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्ट्यान्डर्ड र नेपालको प्रविधि हस्तान्तरण सम्बन्धी ऐन अनुसार नै सञ्चालनमा ल्याएका हौं,’ वैद्यले भने, ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधी ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुनेछ ।’

औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधि ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम हुने उनले बताए ।

वैद्यका अनुसार टिजिगले अहिले विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी वैद्यले जानकारी दिए। उनले अहिले बजारमा जाने उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए । इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने उनको योजना छ ।

कार्यकारी निर्देशक वैद्यले टिजिग फार्मामा औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधी ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम हुने गरेको बताए ।

एसपीएएल (डब्लुएचओ जीएमपी, इयुजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने गरेकाले औषधिको गुणस्तर नियन्त्रण, नियमनमा बलियो आधार बसेको उनको भनाइ छ ।

स्वदेशमा उत्पादित औषधिको मूल्य केही न केही सस्तो हुने भन्दै उनले टिजिग फार्माबाट उत्पादन हुने एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने बताए ।

‘हामीले अहिले उत्पादन गरेका औषधि यस अघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ । उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौं । अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ । औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?