+
+

१३ वर्षमा बाघको संख्या दोब्बर

पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ गरी जम्‍मा २३५ वटा बाघ भेटिएका हुन् ।

सुवास पण्डित सुवास पण्डित
२०७८ फागुन ४ गते २०:१०

४ फागुन, चितवन। देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ गणनाको काम सकिएको छ । बाघ गणनाको प्रारम्भिक चरणका तथ्याङ्कले संरक्षणकर्मीहरु निकै खुसी देखिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट बाघ गणनाको सुरुवात गरेको थियो । बाघ पाइने पाँचवटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाएर गणना गरिएको हो ।

बाघको संख्या १२ वर्षको अवधिमा दोब्बर बनाउने लक्ष्यसहित नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरेको प्रतिवद्धता र संकल्पलाई पूरा गरेर अझै त्योभन्दा पनि राम्रो संख्यामा बाघ पुगेको संरक्षणकर्मीहरुको भनाइ छ ।

सन् २००९ मा गरिएको बाघ गणनामा नेपालमा रहेको बाघको संख्या १२१ लाई आधार मानेर सन् २०२२ मा दोब्बर बनाउने प्रतिवद्धता नेपालले अन्तराष्ट्रिय समुदाय समक्ष गरेको थियो । नेपालले तोकिएको लक्ष्य सन् २०१८ मा नै पूरा गरिसकेको थियो । त्यसबेला नेपालमा २३५ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

पछिल्लो गणना अनुसार पनि नेपालमा २३५ वटा नै बाघ भेटिएको तथ्या‌ंक छ । जसअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ गरी जम्‍मा २३५ वटा बाघ भेटिएका छन् । यो संख्या सन् २००९ यताको झण्डै दोब्बर हो ।

चितवन, पर्सा, बर्दिया राष्ट्रिय निकुञ्जसहित राष्ट्रिय वन क्षेत्रमा गरिएको बाघ गणनाको प्रारम्भिक अवस्था हेर्दा बाघको उपस्थिती निकै राम्रो र सुखद् रहेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए । अहिले गणना भैसकेका ठाँउहरुको बाघको संख्याको तथ्याङ्क इन्ट्री गर्ने, दोहोरिएको संख्यालाई हटाउने लगायतका कामहरु भैरहेका छन् ।

बाघको शरीरमा रहेका पाटा, प्रत्येक बाघलाई दिइएको आइडीको आधारमा क्यामेरामा ट्याक गरिएका तस्वीरहरुलाई नियालेर गणनाको एकिन तथ्यांक निकाल्ने गरिन्छ ।

गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दूरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको तथ्याङ्क  सार्वजनिक गरिन्छ । साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गर्ने योजना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको छ ।

अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाको क्रम जारी छ । यो सकिएपछि सबैतिरको तथ्याङ्कलाई एकीकृत गरेर सार्वजनिक गरिने कोषका प्रमुख लामिछानेले बताए ।

बाघ संरक्षणमा सफल भएबापत नै नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम् टाइगर रिजर्भले त डब्लूडब्लूएफ इन्टरनेसनलको ‘टी एक्स टु अवार्ड’ समेत पाउने भएका छन्।

पछिल्लो समयमा बाघको बासस्थान बढाइएको कारणले बाघको संख्या बढेको संरक्षणकर्मीहरु बताउँछन् । बर्दिया निकुञ्जसँगै बाँके निकुञ्ज स्थापना र पर्सा निकुञ्जलाई विस्तार गरिएको छ।

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको संख्या १९८ थियो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१ रहेको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?