+
+

अमेरिका छिर्न नदिएको झोंकमा आप्रवासीहरूले मुख सिलाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १४:५९

४ फागुन, काठमाडौं । अमेरिका जाने सपना बोकेर मेक्सिकोको दक्षिणी सिमानामा आएका केही आप्रवासीहरूले सियो र धागोले ओठ सिलाएर मुख बन्द गरेका छन् ।

मेक्सिकोका अधिकारीले अमेरिका छिर्न नदिएको विरोध स्वरुप एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेका हुन् । रोइटर्स समाचार माध्यमले सार्वजनिक गरेका तस्बिरमा अमेरिकी सिमानातर्फ जान नदिएपछि निराश बनेका आप्रवासीले सियो र प्लास्टिकको धागोले दुवै ओठ सिलाएर मुख बन्द गरेको देख्न सकिन्छ ।

समाचारअनुसार मध्य तथा दक्षिण अमेरिकी मुलुकबाट आएका आप्रवासीले मुख सिलाउन एकअर्कालाई सघाएका थिए । कुनै कागजातविनै मेक्सिको छिरेका उनीहरूले पिउनका लागि सानो ठाउँ छोडेर मुख सिलाएको र ओठबाट बगेको रगत रक्सीले पखालेका थिए ।

‘आप्रवासीले विरोध स्वरुप मिलेर आफ्नो ओठ सिलाइरहेका छन्’, विरोध प्रदर्शनमा सहभागी अभियन्ता इरिनियो म्युजिकाले भने, ‘राष्ट्रिय आप्रवासन संस्थानले आप्रवासीहरू पनि मानव हुन् भनेर बुझ्ने र उनीहरूको रगत बगिरहेको देख्ने आशा गरेका छौं ।’

त्यस्तै, केही आप्रवासीले ग्वाटेमालासँग जोडिएको टापाचुला शहरमा सन्तान बोकेरै प्रदर्शन गरेको समाचारमा उल्लेख छ । उक्त शहरमा केही महिनायता सीमा पारका लागि चाहिने कागजात कुरेर हजारौं आप्रवासी जम्मा हुन थालेका छन् ।

‘मेरी छोरीका लागि यो कुरा गरिरहेकी छु’, भेनेजुएलाबाट आएकी योर्गेलिस रिभेराले भनिन्, ‘छोरीले केही घण्टायता केही पनि खाएकी छैन र अधिकारीहरूबाट कुनै हल नहुने देखिन्छ ।’ झण्डै डेढ महिनादेखि मेक्सिकोको आप्रवसान संस्थानको जवाफ कुरिरहेकी उनले आफूहरू कैदी जस्तै बनेको पनि बताइन् ।

तर, मेक्सिकोको आप्रवासन संस्थानले आप्रवासीको अवस्थालाई ध्यान दिइरहेको भन्दै बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको बताएको छ ।

पछिल्ला केही वर्षदेखि हिंसा र गरिबी छल्दै मेक्सिको आउने आप्रवासीको संख्या निकै बढेको पाइन्छ । त्यहाँ गत वर्ष शरण खोज्दै पेश गरिने निवेदनमा ८७ प्रतिशत वृद्धि भएको थियो । शरण खोज्दै निवेदन दिनेमध्ये अधिकांश हैटी र होन्डुरसका मानिस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?