+
+

एमसीसी विरोधी प्रदर्शनमा जे देखियो

उमेरले ६५ बर्ष पार गरिसकेका उनी सडकमा नारा जुलुस गरिरहेका छन् । एमसीसीबारे धेरै थाहा छैन उनलाई । उनले सुनेको यत्ति हो, ‘एमसीसी राष्ट्रघाती छ ।’

अंगद सिंह अंगद सिंह
२०७८ फागुन ४ गते २१:१२
बाँयाबाट क्रमश: श्रीराम क्षेत्री, रामबहादुर सापकोटा, रामकृपाल राय यादव, रविना श्रेष्ठ र मीरा विष्ट ।

४ फागुन, काठमाडौं । बुधबार मध्यान्ह बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । सटरहरु बन्द भए, माइतीघर– तीनकुने सडकमा यातायात नै बन्द गरिए । एकातिर सुरक्षा दस्ता, अर्कोतर्फ प्रदर्शनकारी ।

माइतीघरतर्फबाट आएका प्रदर्शनकारीले एभरेस्ट होटल नजिक प्रहरीले राखेको घेरा तोड्न बारम्बार प्रयास गरे । प्रहरी घेरा तोड्न नदिन प्रयासमा रह्यो । प्रहरी र प्रदर्शनकारीबीच दिनभर घम्साघम्सी चल्यो ।

प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि पानीको फोहरा हान्यो, प्रदर्शनकारीले पानीका बोतल, ढुङ्गा, इट्टा हाने । प्रहरीले अश्रुग्याँस हानेपछि भागदौड नै चल्यो ।

प्रतिनिधिसभामा अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गर्ने तयारी रहेको खबर पाएपछि अरु दिनको तुलनामा बुधबार सडकमा धेरै समूह देखिए ।

विप्लव नेतृत्वको नेकपासहित पाँच दलले बन्द नै आह्वान गरेको थियो भने माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेपाल मजदुर किसान पार्टीका भ्राृत संगठनहरुले पनि विरोध प्रदर्शन गरे ।

बुधबार मध्यान्हबाट प्रदर्शनकारीको भीड विस्तारै बाक्लिदै गयो । त्यही बाक्लिएको भीडमा मिसिए सर्लाही हरिपुर नगरपालिका हरैया–४ का रामकृपाल राय यादव ।

सेताम्मे कपाल, घाटीमा सेतो गम्छा, दौरा र धोती बेरेका छन् । उनी एमसीसीको विरोधमा आयोजित प्रदर्शनमा सहभागी हुन बुधबार बिहान मात्रै काठमाडौ आएका हुन् । उनकै शब्दमा एमसीसी राष्ट्रघाती भएकाले विरोध गर्न आएका हुन् ।

उमेरले ६५ बर्ष पार गरिसकेका उनी सडकमा नारा जुलुस गरिरहेका छन् । एमसीसीबारे धेरै थाहा छैन उनलाई । उनले सुनेको यत्ति हो, ‘एमसीसी राष्ट्रघाती छ ।’

‘एमसीसी लागु भए अमेरिकी सेना नेपाल आउँछ, नेपाल पराधीन हुन्छ’ यादव भन्छन्, ‘एमसीसी आए हाम्रा छोरीचेली असुरक्षित हुन्छन् ।’

राप्रपा सर्लाहीका वरिष्ठ उपाध्यक्ष समेत रहेका यादव, निरञ्जन मैनाली र सियाराम यादवसँगै एमसीसीको विरोध कार्यक्रममा सहभागी हुन पार्टीको आग्रहमा काठमाडौं आएका हुन् ।

आफ्नै खर्चमा काठमाडौं आएका उनी केही दिन काठमाडौंमै बस्ने छन् । ‘नेताले पैसा भनेपछि देशै बाँकी नराख्ने भए । पैसाका लागि देश बेच्न पाइँदैन,’ उनी भन्छन्, ‘नेपाल स्वच्छ देश हो, हामीलाई कसैको अधिनमा राख्न पाइँदैन ।’

प्यूठानका ७८ वर्षीय रामबहादुर सापकोटा पनि एमसीसीको विरोध कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वर आए । हुन त उनी श्रीमतीका उपचार गराउन काठमाडौं आएका थिए । तर बिरामी श्रीमतीलाई कोठामा छाडेर प्रदर्शनमा सहभागी हुन सामाखुसीबाट १० बजे बानेश्वर आइपुगे ।

एमसीसी यही हो भनेर भन्न सक्दैनन्, तर राष्ट्रहितमा छैन भन्ने सुनेका छन् । ‘एमसीसी राष्ट्रका हितमा छैन सुनेर आएको हुँ,’ सापकोटा भन्छन्, ‘जनताले ऋण लिन्नौं भन्दा पनि लादेर दिइरहेको छ, यसका पछाडि केही कारण त पक्कै छ होला ।’

बुधबार बानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्रको भातृ संगठनले प्रदर्शन गरेको थियो । वैचारिक हिसाबले माओवादी समर्थन रहेका उनी त्यसमा सहभागी भए ।

ललितपुर सातदोबाटोकी ६४ वर्षीया मीरा विष्ट पनि एमसीसीको विरोधकै लागि बानेश्वर आइपुगेकी छन् ।

हिँड्दा उनलाई सास फुलेर आउँछ, तर एमसीसी राष्ट्रको हितमा नभएकाले विरोधमा सहभागी हुन आएको बताउँछिन् । उनले पनि एमसीसीबारे पढेकी छैनन्, अरुको मुखबाट भने धेरै सुनेकी छिन् ।

हरेकले एमसीसी ठीक होइन, अमेरिकाले एमसीसीमार्फत नेपाललाई आफ्नो कब्जामा पारेर स्वार्थ अनुकुल चलाउने काम गरिरहेको सुनेकी उनी भन्छन्, ‘एमसीसी राष्ट्रको हितमा छैन, नेताले पैसाका लागि जे पनि गर्ने भए । हामी नेतालाई सजग गराउन आएका हौं ।’

उनी राप्रपाको महिला संगठनकी ललितपुर अध्यक्ष पनि हुन् । उनी भन्छिन्, ‘एमसीसी लागु भयो भने अमेरिकी सेना नेपाल आउने सुनेकी छु, नेपालमा अमेरिकाको सेना चाहिँदैन । हामी कुनै हालतमा पनि एमसीसी पास हुन दिन्नौं ।’

प्रदर्शनमा सहभागी हुन आएकामध्ये एक हुन् श्रीराम क्षेत्री । ‘६३ वर्षको उमेरमा प्रदर्शन, आन्दोलनमा आउन कसलाई रहर हुन्छ र ?’ सुकेधाराबाट आएका उनी भन्छन्, ‘सबैले पार्टीका लागि मात्रै काम गर्दैनन्, म देशको माया लागेर आएको हुँ ।’

उनी नेपाल सरकारका सेवा निवृत्त अधिकृत हुन् । नेताको काम गराई देखेर दिक्क भएका छन् उनी । नेपालका कुनै पनि सरकारले राष्ट्रहितमा काम नगरेको भन्दै उनी हरेक सरकारको पालामा भ्रष्टाचार, बेथिती र मनपरी बढेको गुनासो गर्छन् ।

एमसीसी पनि आफूले अध्ययन गर्दा नेपालको हितमा नभएको पाएको उनी सुनाउँछन् । ‘एमसीसीले नेपाललाई गुलाम बनाउँदै छ, एमसीसी लागु भएपछि अमेरिकाको नियम कानुन मान्नुपर्छ । नेताले हामीलाई परनिर्भर बनाउन खोजे,’ उनी सुनाउँछन् ।

नेताहरुले पारित गर्न लायक छ छैन भनेर एमसीसीबारे अध्ययन गर्नुपर्ने र राष्ट्र हितलाई सर्वोपरी ठानेर काम गर्नुपर्ने उनको तर्क छ । ‘म सदाचारिता र प्रणालीका लागि विरोधमा सहभागी भएको हुँ,’ क्षेत्री भन्छन्, ‘हामीमध्ये धेरै जना पार्टीका लागि नभई देशका लागि सोच्छौं र विरोधमा सहभागी हुन्छौं ।’

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ जान खोजिरहेका छन् । प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको छ । झडपमा केही घाइते भएका छन् । भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा र लाठी प्रयोग गरिरहेको छ ।

प्रदर्शनमा भेटिएकी वाईसीएलको सूर्यविनायक नगरपालिका, भक्तपुरकी कोषाध्यक्ष रविना श्रेष्ठ पनि एमसीसी पास भए अमेरिकी सेना आएर नेपालीलाई दास बनाउने बताउँछिन् ।

‘अमेरिका नेपाललाई माध्यम बनाएर चीनलाई कमजोर पार्न लागिरहेको छ,’ भन्छिन्, ‘एमसीसी नेपाल हितमा भए पास गर्न धम्की नै दिँदैनथ्यो ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?