+
+

सहकारीको एक करोड ९० लाख हिनामिना गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १९:१७

४ फागुन, विराटनगर। मोरङको एक सहकारीको एक करोड ९० लाखभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका–४ कर्सियामा रहेको नमुना सहकारी संस्थाको एक करोड ९० लाख रूपैयाँ घोटाला आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनपालथान-४ का ६० वर्षीय सविलाल राजवंशी र धनपालथान–६ का ५५ वर्षीय राजकुमार राजवंशी छन् ।

सबिलाल लेखापाल र राजकुमार सह-लेखापाल हुन् । २०३५ सालमा स्थापना भएको सहकारीमा उनीहरु झण्डै २० वर्षयता कार्यरत रहेको अध्यक्ष गुलावचन्द मण्डलले जानकारी दिए ।

सहकारीले दिएको किटानी जाहेरीका प्रहरीले दुबैजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

सहकारीमा पाँच सय १० जना शेयर सदस्य छन् । सहकारीको अध्यक्ष गुलावचन्द धनपालथान-३ का वडाध्यक्ष पनि हुन् । लामो समयदेखि कार्यरत रहेका कर्मचारीले घोटला गरेको देखिएको उनले बताए । ठूलो रकम हिनाहिना भएको बताउँदै उनले बचतकर्ताको बचत फिर्ताका लागि सहकारीको सम्पती बिक्री गर्ने तयारी भइरहेको जानकारी दिए ।

सरकारीका नाममा मिलसमेत सञ्चालनमा थियो । सहकारीले सनपाटको खरिदबिक्री र बालुवा तथा गिट्टी ढुवानीको काम पनि गर्दै आएको छ । मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवं बिक्रीका क्रममा हिनामिना भएको बताइएको छ ।

‘सहकारीको सबै कारोबार उहाँहरुको जिम्मामा थियो,’ अध्यक्ष मण्डलले भने,‘ हिसाब नदेखाएपछि घोटलाको विषय बाहिर आयो ।’

लेखा परीक्षण प्रतिवेदनले लेखापाल सविलालले एक करोड ११ लाख ६२ हजार र सह-लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ हिनामिना गरेको देखिएको सहकारीले जनाएको छ ।

रकम घोटालाको विषय बाहिरिएपछि लेखापाल सविलालले राजीनामा दिएका थिए । तर उनको राजीनामा स्वीकृत भइसकेको छैन । उनी सहकारीका शेयर सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?