+
+

मुख्यमन्त्री भट्टको चार वर्ष : के भयो ? के भएन ?

रामहरि ओझा रामहरि ओझा
२०७८ फागुन ५ गते १२:०३

५ फागुन, डोटी । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको चार वर्ष पूरा भयो । २०७४ साल फागुन ५ गते उनले पदभार ग्रहण गरेका थिए ।

मुख्यमन्त्रीको हैसियतले उनले चार वर्षको अवधीमा बाचा त धेरै गरे तर पूरा गर्नेतर्फ भने सक्रिय देखिएनन् । उनले गरेका धेरैजसो वाचा पूरा भएका छैनन् ।

उनको पालामा देखिने गरी केही काम चाहिं भएका छन् । २०३८ सालदेखि निर्माणाधीन सहजपुर-बोगटान-दिपायल सडकको गत बर्षमात्रै ट्रयाक जोडिएको छ । यस्तै प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडको मुख्य प्रवेश मार्ग डोटीको सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रेको काम करीब-करीब अन्तिम चरणमा पुगेको छ । राजपुर-वायल सडक कालोपत्रे हुने क्रममा रहेको छ भने जोरायल सडकमा पनि कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

तर उनले बाँडेका धेरै सपना अझै अलपत्र अवस्थामा छन् । शपथ ग्रहणकै दिन उनले रोजगारी सिर्जना गर्ने भन्दै सुदूरपश्चिमवासी अब रोजगारीकै लागि भारत जानु नपर्ने बताएका थिए । तर चार वर्षपछि पनि महामारीको समेत परवाह नगरी पेट पाल्नका लागि भारत जाने युवाहरुको संख्यामा कमी आएको छैन ।

निर्वाचनताका मुख्यमन्त्री भट्टले प्रदेश राजधानी डोटी बनाउन भूमिका खेल्ने बाचा गरेका थिए । प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछि पनि प्रदेश राजधानी डोटी हुनुपर्ने मागसहित भएको आन्दोलनका क्रममा प्रदर्शनकारीसँगै साविकको क्षेत्रीय प्रशासन कार्यालय, राजपुर डोटीको गेटमा धर्ना बसेका थिए । तर, उनी आफैं मुख्यमन्त्री हुँदा कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय पारित गरे ।

राजधानीको निर्णय भइसकेपछि उनले एक बर्षभित्रै राजधानीका लागि संरचना बन्ने दावी गरेका थिए । हालसम्म पनि राजधानी तोकिएको ठाउँमा संरचना बनेको छैन । राजधानी तोकिएको ठाउँ जंगल भएकाले उक्त जग्गाको स्वामित्व समेत प्रदेश सरकारले पाउन सकेको छैन । संविधानत अब उनको पदावधी जम्माजम्मी एक वर्ष छ । उनको कार्यकालमा राजधानी गोदावरी सर्ने सम्भावना देखिंदैन ।

आफू मुख्यमन्त्री भइसकेपछि भट्टले सर्वसाधारणका गुनासा सुन्ने र तत्काल सम्बोधन गर्ने भन्दै ‘हेलो सीएम’ कार्यक्रम सञ्चालन गरे । तर, उक्त कार्यक्रममा आएका गुनासाहरु सम्बोधन भएनन् । गुनासा सम्वोधन नै नहुने भएपछि गुनासा आउन पनि छोडे ।

खुटिया-बीपीनगर-दिपायल द्रुतमार्ग छिटो बनाउने मुख्यमन्त्री भट्टको अर्को बाचा थियो । २०७५ साल कार्तिकमा द्रुतमार्गको अनुगमन गर्दै उनले २०७६ जेठभित्र आफू दु्रतमार्गबाटै दिपायल पुग्ने दावी गरेका थिए । तर २०७८ साल फागुन लाग्दा समेत दु्रतमार्गको ट्र्याक कहिले खुल्छ भन्ने पनि निश्चित छैन ।

मुख्यमन्त्री भट्टले कृषि उत्पादनमा सुदूरपश्चिमलाई देशकै एक नं. प्रदेश बनाउने बाचा गरेका थिए । यो बाचा अहिले पनि दोहोर्‍याउन छाडेका छैनन् । उनी केरा उत्पादनमा प्रदेश आत्मनिर्भर भएको दावी गर्छन् । तर प्रदेश कृषि मन्त्रालयकै कर्मचारीहरु उनको दाबीलाई गलत भएको बताउँछन् । प्रदेशभित्रको केरा उत्पादनले माग धान्न नसकेको एक कर्मचारीले बताए ।

भट्टले मुख्यमन्त्री भएकै दिन भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने बाचा गरेका थिए । तर उनको भनाइ एकातिर गराई अर्कैतिर भयो । स्वयं मुख्यमन्त्रीको सचिवायलका सदस्यहरुले भ्रष्टाचार गरेको, योजनाहरुमा कमिसन खाएको, प्रदेश मन्त्रालयबाट बाँडिने योजनाहरुमा मोलमोलाई हुने गरेका समाचारहरु पटक पटक बाहिर आउँदा समेत उनले वास्ता गरेका छैनन् । प्रदेश मन्त्रालय र मातहतकै कार्यालयहरुले पनि योजनाहरुको सार्वजनिक परीक्षण, कार्यालयको सामाजिक परीक्षण र सेवा प्रवाहको बिषयमा सार्वजनिक सुनुवाईसमेत गर्ने गरेका छैनन् ।

जिल्ला अस्पतालहरुलाई मानवीय र भौतिक स्रोत साधनले सम्पन्न बनाउने भन्ने मुख्यमन्त्रीको बाचा पनि बाचामै सीमित रह्यो । प्रदेश मातहतका जिल्ला अस्पतालहरुमा दरवन्दी अनुसारका चिकित्सकहरु आउन सकेनन् ।

यद्यपि भौतिक संरचनाहरु ठुल्ठूला बन्दैछन् तर उपकरणका नाममा जिल्ला अस्पतालसँग एम्बुलेन्स समेत छैन । मुख्यमन्त्री भट्टले प्रदेश बस सञ्चालन गर्ने पनि बाचा गरेका थिए । उनले त्यसका लागि पहिलो वर्ष वजेट समेत बिनियोजन गराए तर कार्यान्वयन हुन सकेन ।

दिपायलमा राजधानी नभए पनि प्रदेशस्तरका निर्देशनालय र अन्य कार्यालयहरु दिपायलमै राख्ने बाचा गर्दै आएका मुख्यमन्त्री भट्टले बाचा पूरा गर्नका लागि निर्देशनालयका साइनबोर्ड तर निर्देशनालय नामका मात्रै भए ।

डोटी जिल्लालाई शैक्षिक हब बनाउने भन्दै गरिएको भट्टको बाचाले पनि आकार लिइसकेको छैन । यद्यपि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले डोटीमा स्नातक तहको आंगिक क्याम्पसका लागि स्वीकृति प्रदान गरेको छ । उक्त क्याम्पसका लागि दिपायल सिलगढी नगरपालिकाले एक सय ३० रोपनी जमिन खरीद गरी क्याम्पसलाई हस्तान्तरण समेत गरेको छ । शैक्षिक हब नै हुने गरी अन्य काम भने भएको देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?