+
+

कोरोना महामारीमा मौलाएको ‘लाइभ दोहोरी’, उच्छृङ्खलता पनि बढ्दै

सुशील नेपाल सुशील नेपाल
२०७८ फागुन ५ गते १६:०३

५ फागुन, काठमाडौं । पछिल्लो समय युट्युबमा ‘लाइभ दोहोरी’को बाढी नै आएको छ । दिनैपिच्छे नयाँ-नयाँ लाइभ दोहोरी युट्युबमा सार्वजनिक भइरहेका छन् । ती लाइभ दोहोरी हेर्ने दर्शकको संख्या पनि उल्लेख्य हुने गरेको छ । थुप्रै लाइभ दोहोरी युट्युब ट्रेन्डिङमा समेत आउने गरेका छन् ।

युट्युबमा लाइभ दोहोरीको माहोल सुरु भएको केही वर्ष भएपनि पछिल्ला दुई वर्षयता एकदमै मौलाएको कलाकारहरु बताउँछन् । लाइभ दोहोरीबाटै ख्याति कमाएका गायक रविन लामिछानेले कोरोना महामारीयता लाइभ दोहोरी ह्वात्तै बढेर गएको बताए । उनले अनलाइनखबरसँग भने, ‘आज (बुधबार) मात्रै दुईवटा स्टुडियोमा दोहोरी गाएँ । अझै दुईवटा स्टुडियोमा पुगेर गाउनुपर्ने छ ।’

व्यावसायिक रुपमा लाइभ दोहोरी गाउने अधिकांश गायक-गायिका हिजोआज हरेक दिनजसो व्यस्त रहने उनी बताउँछन् ।

लाइभ दोहोरीबाट निकै चर्चित भएकी गायिका हुन् टीका सानु । हिजोआज हरेक दिनजसो उनको व्यस्तता लाइभ दोहोरी गाउनमै हुने गरेको छ । ‘कहिलेकाहीं ५/६ वटा पनि गाउँछु,’ उनले भनिन्, ‘आज (बिहीबार) पनि चारवटा लाइभ दोहोरी गाउनुछ । स्टुडियोमा पनि जानुछ ।’ उनी पनि कोरोना महामारीयता लाइभ दोहोरीको माहोल ह्वात्तै बढेको बताउँछिन् ।

अहिले मूलधारका थुप्रै लोकदोहोरी गायक-गायिका समेत लाइभ दोहोरीमा आकर्षित छन् । लाइभ दोहोरीमा पूर्ण रुपमा निर्भर हुने गायक-गायिका नै एक सयभन्दा बढी रहेको प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष समेत रहेका दोहोरी गायक लामिछाने बताउँछन् ।

त्यस्तै, त्यति नै संख्याका युट्युब च्यानलबाट लाइभ दोहोरी सार्वजनिक हुने गरेको उनको अनुमान छ । कतिपय विभिन्न रोधीघरका नामबाट सञ्चालित युट्युब च्यानलबाट लाइभ दोहोरी सार्वजनिक हुने गरेका छन् । धेरै कलाकारका नाममै रहेका युट्युब च्यानलबाट लाइभ दोहोरी सार्वजनिक हुने गरेका छन् ।

टीका सानु, रविन लामिछानेसँगै कल्पना दाहाल, मानसिंह खड्का, प्रकाश पराजुली, बबिता बानियाँ (जेरी), सुमन थापा, श्याम राना, भीम पौडेल, बालचन्द्र बराल, आशा बीसी, रेशम निर्दोष, चीज गुरुङ, अस्मिता डल्लाकोटी, सुशीला लामा, डिला विक, तारा थापा लगायत लाइभ दोहोरीबाट चिनिएका गायक-गायिका हुन् । केही बाल गायक-गायिकाहरुले समेत लाइभ दोहोरीबाट लोभलाग्दो ख्याति कमाएका छन् ।

किन बढ्यो ?

लोकगायक रामप्रसाद खनालले २०५४ देखि २०६४ सालसम्म नेपाल टेलिभिजनमा सञ्चालन गरेको लोकदोहोरी कार्यक्रमले निकै लोकप्रियता पाएको थियो ।

केही वर्षयता भने कृष्ण कँडेलले सञ्चालन गर्दै आएको दोहोरीसँग सम्बन्धित ‘इन्द्रेणी’ कार्यक्रम निकै लोकप्रिय रह्यो । सहर-गाउँदेखि विदेशमा रहेका लोकदोहोरीप्रेमी नेपालीहरुमाझ समेत यो कार्यक्रमको लोकप्रियता देखिन्छ ।

लाइभ दोहोरीको ‘क्रेज’ बढाउनमा ‘इन्द्रेणी’को भूमिका महत्वपूर्ण देखिन्छ । ठ्टयौली, हँस्यौली पाराले इन्द्रेणीले दोहोरी सञ्चालन गर्‍यो । आपतमा परेकाहरुलाई सहयोग दिएको भिडियो समेत कार्यक्रममा प्रसारण गर्‍यो । त्यसमाथि चलेका दोहोरी गायकले मात्र होइन, अरु नयाँ-नयाँ प्रतिभा, साना-साना बालबालिकाले पनि गाउन सक्छन् भन्ने ‘इन्द्रेणी’ले देखायो ।

लाइभ दोहोरीको माहोल बढाउनमा ‘इन्द्रेणी’को भूमिकालाई सकारात्मक रुपमा लिनुपर्ने दोहोरी गायक-गायिका बताउँछन् । त्यसयता पछिल्ला वर्ष अन्य केही लाइभ दोहोरी समेत सार्वजनिक हुँदै आएका थिए । तर कोरोना महामारीयता युट्युबमा आउने लाइभ दोहोरीको संख्या दोब्बरभन्दा बढीले बढ्यो ।

कोरोना महामारी सुरु भएसँगै देश-विदेशका स्टेज कार्यक्रम ठप्प भए । सहरका दोहोरी साँझहरु बन्द भए । त्योसँग लाइभ दोहोरी स्टुडियोहरु खुल्ने क्रम बढेको दोहोरी गायक रविन लामिछाने बताउँछन् ।

‘कोरोना सुरु भएपछि देश-विदेशका स्टेज कार्यक्रमहरु रोकिए । दोहोरी साँझहरु पनि बन्द भए । त्यो समयमा लाइभ दोहोरी स्टुडियोहरु बढी खुले । दोहोरी साँझमा गाउने धेरै कलाकार लाइभ दोहोरीमा आबद्ध भए,’ लामिछानेले भने, ‘पछिल्लो समयमा लाइभ दोहोरीमा बालकलाकारहरु आएसँगै त्यसले पनि दर्शकहरु अझ बढायो ।’

लोक दोहोरी गायक खुमन अधिकारी पनि कोरोनायता लाइभ दोहोरीको माहोल दोब्बरभन्दा बढीले बढेको बताउँछन् । ‘कोरोना सुरु भएपछि कार्यक्रमहरु बन्द भए । दोहोरीसाँझहरु पनि बन्द भए,’ अधिकारीले भने, ‘त्यसपछि कलाकारहरुको आयस्रोतको बाटो मात्र नभई भुल्ने आधार पनि लाइभ दोहोरी भयो ।’

उनी गीत रेकर्डिङ र म्युजिक भिडियो तयार गर्नभन्दा लाइभ दोहोरीमा खर्च कम लाग्ने हुँदा पनि आकर्षण बढेको बताउँछन् । अर्का लोकगायक नविन पौडेल कोरोना महामारीयता लाइभ दोहोरी ७५ प्रतिशतसम्म बढेको आफ्नो अनुमान रहेको बताउँछन् ।

द्विअर्थी शब्द, उट्पट्याङ शीर्षक

लोकदोहोरीमा चलेका गायक-गायिका पारिश्रमिक लिएर लाइभ दोहोरी गाउन पुग्छन् । यसले उनीहरुलाई राम्रो आम्दानी मिल्ने गरेको छ । त्यसबाहेक लाइभ दोहोरीमा ख्याति कमाएका गायक-गायिकाहरु पनि पारिश्रमिक लिएर गाउन पुग्छन् । लाइभ दोहोरी गाएर उनीहरुले राम्रो आम्दानी गर्दै आएका छन् । त्यस्तै, रोधीघर खोलेर लाइभ दोहोरी सार्वजनिक गर्दै आएका सञ्चालकलाई पनि राम्रो आम्दानी हुने गरेको छ । यति मात्र होइन लाइभ दोहोरीले अन्य थुप्रैलाई समेत आम्दानी मिल्ने गरेको छ । यो लाइभ दोहोरीको राम्रो पक्ष मान्न सकिने कलाकारहरु बताउँछन् । तर जसरी लाइभ दोहोरीको माहोल बढिरहेको छ त्यसरी नै विकृति समेत बढ्दै गएको देखिएको छ ।

केही ‘लाइभ दोहोरी’ राम्रा भएपनि धेरैमा ‘अश्लील शब्द’हरु समेटिएको देखिन्छ । लाइभ दोहोरीको शीर्षक समेत उट्पट्याङ राख्ने गरिएको छ । साना बालबालिकाकालाई मायाप्रेम, हनिमुनका कुराहरु गाउन लगाउने क्रम समेत बढ्दो छ । धेरै लाइभ दोहोरी परिवारसहित बसेर हेर्न र सुन्न सक्ने अवस्थाका छैनन् ।

‘खुल्दुली दोहोरी घर अफिसियल च्यानल’, ‘सुशीला लामा’, ‘मानसिंह खड्का’, ‘बालचन्द्र बराल’ लगायत नामको युट्युब च्यानलमा सार्वजनिकमध्ये थुप्रै लाइभ दोहोरीमा द्विअर्थी शब्द समावेश गरिएका छन् ।

लाइभ दोहोरीमा उच्छृङ्खल र समाजमा अपाच्य शब्द प्रयोग हुन थालेपछि लोक तथा दोहोरी कलाकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । लाइभ दोहोरीबाटै ख्याति कमाएकी टीका सानु भन्छिन्, ‘त्यस्ता गुनासोहरु सुनिन्छ । उच्छृङ्खल दोहोरीप्रति दुःख पनि लाग्छ । त्यस्तो नगाए हुन्थ्यो भन्ने लाग्छ ।’

लोकगायक नविन पौडेल पनि पछिल्लो समय लाइभ दोहोरीमा अश्लीलता बढ्दै गएको बताउँछन् । उनी सस्तो लोकप्रियताका नाममा लाइभ दोहोरीमा अपाच्य, उच्छृङ्खल शब्दहरुको प्रयोग बढ्दो रहेको बताउँछन् ।

‘लोकदोहोरी भनेको यस्तो पो रै‘छ कि क्या हो भनेर भ्रम पार्ने काम गरिएको छ । यो पाच्य छैन,’ पौडेलले भने, ‘यसले लोकदोहोरीलाई मात्र नभई समग्र लोकसंस्कृतिलाई नै असर पुर्‍याउँछ ।’ अपाच्य शब्द र शीर्षक राख्दा युट्युबमा भ्युज धेरै जान्छ भन्ने सोचले यस्तो भइरहेको उनी बताउँछन् । यसका लागि युट्युब च्यानल सञ्चालक र कलाकारहरु आफैं सचेत हुनुपर्ने पौडेल बताउँछन् । राज्यले यस्ता किसिमका गतिविधिलाई नियन्त्रण ल्याउन आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका लोकगायक दुर्गा रायमाझी पनि लाइभ दोहोरीमा भ्युज बढाउने नाममा अश्लीलता भित्रिएको बताउँछन् । उनी पछिल्लो समय सिनियर मानिएका लोकदोहोरी कलाकारहरु समेत त्यसमा देखिएको भएको बताउँछन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष एवं लोकगायक दुर्गा रायमाझी

‘केही राम्रा लाइभ दोहोरीहरु समेत छन्’ रायमाझी भन्छन्, ‘तर धेरैले भ्युअर्सलाई टार्गेट गरेर आफ्नो पहिचान बिर्सने, कलाको मर्यादालाई बिर्सने, सिर्जनात्मक-गम्भीर खालका भन्दा उत्ताउलो सिर्जनालाई प्राथमिकता दिने देखिएको छ ।’ उनका अनुसार कतिपय अवस्थामा दोहोरी विषयप्रसंगसँगै अगाडि बढ्दा केही उश्रृङखल लाग्न सक्छन् । तर, पछिल्लो समय भ्युजकै बटुल्ने मानसिकताले सुरुआत नै उश्रृङखल तरिकाले गर्ने, सोही अनुसार शीर्षक राख्ने गरिएको उनले बताए । रायमाझी लाइभ दोहोरीमा जुन विकृति देखिएको छ, त्यसमा स्रष्टाहरु स्वयंम नै सचेत हुनुपर्ने बताउँछन् । ‘आफूलाई कुन बाटोमा लैजाने, कस्तो खालको स्रष्टाको रुपमा आउने भन्ने कुरा उहाँहरु स्वयंमको अनुशासनमा भरपर्ने कुरा हो’ रायमाझीले भने ।

गायक रविन लामिछाने केही कुराहरु मौलाउँदै जान्छ भने त्यसमा केही नराम्रा पक्षहरु देखिनसक्ने बताउँछन् । ‘धानहरु मौलाएको ठाउँमा झारहरु त हुन्छ नी । जे चिज मौलाउँछ त्यहाँ संगसंगै केही नराम्रा पक्षहरु पनि आउँछ’ प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्षसमेत रहेका लामिछानेले भने, – ‘ति नराम्रा पक्षहरुलाई कसरी न्यूनिकरण गर्ने भन्ने पहल गर्नका लागि नै हामीले संस्था खोलेका हौं । हामीले छाडा दोहोरी निरुत्साहित गर्नका लागि चाँडै कार्यशाला गछौं । आशा त आगामी दिनमा गुनासोहरु केही कम हुनेछन् ।’

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?