
५ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न सरकारसँग नामावली मागेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिनेछ । न्याय सेवाका राजपत्राङ्कित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिनेछ ।
निर्वाचन आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्यायपरिषदसँग परामर्श गरी तथा न्याय सेवाका राजपत्राङ्कित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श गरी यही फागुन १५ गतेभित्र नामावली पठाउन कानून मन्त्रालयलाई भनेको छ ।
यस्तै, निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ गतेभित्र पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरेको छ ।
नामावली प्राप्त भएएपछि आयोगले नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गर्नेछ ।
स्थानीय तह निर्वाचन ऐनको दफा ७ मा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐन अनुसार प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिकृत र आवश्यकता अनुसार निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।
आयोगले न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाका राजपत्राड्ढित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्नेछ । तर यसरी निर्वाचन अधिकृत नियुक्ति गर्दा न्याय सेवाका राजपत्राड्ढित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका राजपत्राड्ढित अधिकृतलाई समेत नियुक्ति गर्न सक्नेछ ।
आयोगले जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि आयोगले जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरिसकेको छ ।
स्वीकृत निर्देशिकामा सम्बन्धित पालिका स्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने लगायतका विषय रहेको आयोजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् आयोगको विज्ञप्ति
प्रतिक्रिया 4