
५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण विराटनगरमा हुने भएको छ ।
एन्फा र विराटनगर महानगरपालिकाबीच बिहीबार विराटनगरमा लिग गर्ने विषयमा सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
खेलहरु विराटनगरस्थित शहीद रंगशालामा हुनेछ । सम्झौता अनुसार विराटनगर महानगरपालिकाले लिगका लागि ४५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम लिगको शीर्ष ५ टिम तथा प्लेयर अफ द म्याच विजेता खेलाडीको पुरस्कारका लागि हो ।
राष्ट्रिय महिला लिगको पहिलो चरणको खेल चितवनमा गर्नका लागि एन्फा र भरतपुर महानगरपालिकबीच सम्झौता भइसकेको छ । पहिलो चरणको खेलहरू चैत दोस्रो साता सुरु हुनेछ ।
महिला लिगमा साविक विजेता एपीएफसहित, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4