
६ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले अर्थतन्त्रलाई अझै नाजुक अवस्थामा पुर्याउने बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो धारणा सार्वजनिक गरेको हो । दुई अंकले बैंक व्याजदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने, व्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने परिसंघको दाबी छ ।
‘एकै पटक २ अंकले बैंकदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने निश्चित छ । यस निर्णयले लगानीको व्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने र अर्थतन्त्र अझै नाजुक अवस्था तिर जाने देखिन्छ’ परिसंघले भनेको छ ।
मौद्रीक नीतिको समीक्षाले पुनरकर्जालाई नियन्त्रित गर्न खोजेको भन्दै परिसंघले कोभिडको प्रभाव अर्थतन्त्रमा अझै पनि कायम रहेको अवस्थामा पुनरकर्जा नियन्त्रण गर्दै त्यसको ब्याजसमेत बढाइँदा उद्योग व्यवसायमा प्रतिकूल असर पुग्ने दाबी गरेको छ । उसले उत्पादनशील क्षेत्रका साथै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन र निर्यातमुखी उद्योगहरूको क्षेत्रमा पुर्नकर्जाको सुविधा यथावत राख्न पनि माग गरेको छ ।
केन्द्रीय बैंकको नीतिले आयात संकुचित हुने देखिएको भन्दै परिसंघले वस्तुको आपूर्ति श्रृंखलामा अवरोध सिर्जना हुँदा त्यसले अर्थतन्त्रको विस्तारमा समेत पर्ने उल्लेख गरेको छ । यस्तो नीतिले नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने र राजस्व संकलन समेत अपेक्षाकृत नहुने अवस्थाको सिर्जना गर्ने भन्दै परिसंघले दीर्घकालमा यसले राजस्व संरचनामा नै नकारात्मक असर गर्न सक्नेतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्र बैंकका नीतिहरू व्यवसाय विस्तार र विविधीकरणमा नियन्त्रणमुखी हुनु नुहुने भन्दै परिसंघले विदेशी मुद्रा आप्रवाहलाई सहजीकरण गर्नेतर्फ ध्यान केन्द्रित गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
संस्थागत तथा व्यक्तिगत विदेशी लगानीकर्ताहरूलाई प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउन, नेपाली मूलका विदेशी नागरिकहरूलाई अपार्टमेन्ट खरिद र पूँजी बजारमा लगानीमा सहजीकरण गर्न र गैरआवासीय नेपाली र नेपाली मूलका विदेशी नागरिकलाई विदेशी लगानीको न्यूनतम सीमा हटाउन पनि परिसंघले सरकारलाई सुझाव दिएको छ ।
प्रतिक्रिया 4